+
+
Shares
सम्झनामा ‘निम्सदाइ’ :

हिमाल जित्ने मानिस, सपना जगाउने मित्र

निम्सदाइको व्यक्तित्वको अर्को विशेषता उहाँको ऊर्जा थियो । उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ आशावाद फैलिन्थ्यो । उहाँसँग केहीबेर बस्दा नै मानिस ठूलो सपना देख्न प्रेरित हुन्थ्यो ।

दीपक आर. जोशी दीपक आर. जोशी
२०८३ साउन १६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को असामयिक निधनले नेपाल र विश्व पर्वतारोहण क्षेत्रले एक साहसी र अद्वितीय नेतृत्वकर्ता गुमाएको छ ।
  • निम्सदाइले ‘प्रोजेक्ट पोसिबल’मार्फत १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरी नेपाली पर्वतारोहीको आत्मविश्वास र क्षमतालाई विश्वस्तरमा स्थापित गर्नुभएको छ ।
  • उहाँले उठाउनुभएका नीतिगत सुधार, पर्वतीय पर्यटनको आधुनिकीकरण र नेपाली पर्वतारोहीको सम्मानका अभियानलाई निरन्तरता दिनु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

केही समाचारहरू यस्ता हुन्छन्, जसलाई सुनेपछि मनले तुरुन्तै स्वीकार गर्न सक्दैन । केही क्षणहरू यस्ता हुन्छन्, जहाँ शब्दहरू आफैं मौन बन्छन् ।

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को असामयिक निधनको समाचार त्यस्तै एउटा क्षण बन्यो ।

संसारले एक अद्वितीय पर्वतारोही गुमाएको छ । नेपालले आफ्नो साहसी पुत्र गुमाएको छ । र, मैले एउटा प्रिय मित्र गुमाएको छु ।

निम्सदाइसँग मेरो पहिलो भेट सन् २०१७ मा काठमाडौंको रोयल सिंही होटलमा भएको थियो । उहाँ त्यतिबेला बेलायती सेनाको प्रतिष्ठित जागिर त्यागेर पहिलो पटक सगरमाथा आरोहणको तयारीमा हुनुहुन्थ्यो । धेरैका लागि त्यो निर्णय जोखिमपूर्ण थियो । तर, उहाँसँग केही समय बिताएपछि मैले बुझें- उहाँ सामान्य मानिसको बाटो हिँड्ने व्यक्ति होइन । उहाँसँग एउटा यस्तो दृष्टि थियो, जसले सीमाभन्दा पर सोच्थ्यो । उहाँले जागिर छाडेको थिएन; उहाँ आफ्नो वास्तविक गन्तव्यतर्फ यात्रा सुरु गर्दै हुनुहुन्थ्यो ।

त्यसपछि वर्षौंसम्म हाम्रो भेट विभिन्न कार्यक्रम, छलफल, बैठक, ठमेलका क्याफे र बारहरू, अनि काठमाडौं मेरियट होटलमा भइरह्यो । उहाँसँगको प्रत्येक भेट औपचारिकभन्दा धेरै आत्मीय हुन्थ्यो । हामी हिमाल, पर्यटन, नेपाल, विश्व र भविष्यका सम्भावनाबारे लामो समयसम्म छलफल गर्थ्यौं । उहाँले नेपालका हिमाललाई केवल आरोहणको गन्तव्यका रूपमा होइन, विश्वलाई प्रेरणा दिने सम्पूर्ण साहसिक पर्यटनको केन्द्रका रूपमा हेर्नुहुन्थ्यो ।

उहाँसँग एउटा दुर्लभ गुण थियो- ठूलो सपना देख्ने र त्यसलाई पूरा गर्ने साहस । संसारले उहाँलाई ‘प्रोजेक्ट पोसिबल’मार्फत चिन्यो । १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाललाई अभूतपूर्व समयमा आरोहण गरेर उहाँले  इतिहास रच्नुभयो । तर, मेरो विचारमा उहाँको सबैभन्दा ठूलो उपलब्धि त्यो कीर्तिमान मात्र थिएन ।

उहाँले संसारलाई देखाउनुभयो कि, नेपाली साहस, अनुशासन, नेतृत्व र संकल्पको कुनै सीमा हुँदैन । उहाँले नेपाली पर्वतारोहीलाई केवल सहयोगी वा गाइडको रूपमा होइन, विश्व पर्वतारोहणको अग्रपङ्क्तिको नेतृत्वकर्ता रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनुभयो । आधुनिक पर्वतारोहणको इतिहासमा उहाँको योगदान एउटा कोसेढुङ्गा हो । उहाँले विश्वलाई एउटा सन्देश दिनुभयो- नेपालीहरू केवल हिमालमा सहयोग गर्ने पात्र होइनन्; उनीहरू विश्व पर्वतारोहणको नेतृत्व गर्नसक्ने क्षमता राख्छन् ।

वर्षौंसम्म अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालीहरूको योगदान विशाल भएपनि उनीहरूको पहिचान अपेक्षित उचाइमा पुग्नसकेको थिएन । निम्सदाइले त्यो धारणा बदल्नुभयो । उहाँले नेपाली पर्वतारोहीको आत्मविश्वासलाई अन्तर्राष्ट्रिय पहिचानमा रूपान्तरण गर्नुभयो । उहाँको सफलताले हजारौं युवा नेपालीलाई आफ्नै क्षमतामा विश्वास गर्न सिकायो ।

हाम्रो कुराकानीमा एउटा विषय बारम्बार दोहोरिन्थ्यो- नेपालको पर्वतीय पर्यटनलाई कसरी नयाँ उचाइमा लैजाने ? उहाँसँग अनगिन्ती विचार थिए । आरोहणलाई सुरक्षित, व्यवस्थित र अझ सम्मानजनक बनाउने; नेपाली गाइड र पर्वतारोहीको अन्तर्राष्ट्रिय ब्रान्ड निर्माण गर्ने; हिमाली पर्यटनलाई वर्षभरि चलायमान बनाउने र नेपालको साहसिक पर्यटनलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने । उहाँको सोच

तत्कालीन सीमाभन्दा धेरै अगाडि थियो ।

तर, त्यही उत्साहको बीचमा उहाँको एउटा पीडा पनि थियो । नेपालका कठोर, ढिलो र परम्परागत प्रशासनिक संरचनाले उहाँलाई धेरै पटक निराश बनाउँथ्यो । अन्तर्राष्ट्रिय स्तरमा तुरुन्तै गर्न सकिने सुधारहरू किन वर्षौं अल्झिन्छन् ? किन विश्वले नेपालबाट अपेक्षा गरेको परिवर्तन हामी आफैं ढिलो गर्छौं ?

यस्ता प्रश्नहरू उहाँले खुला रूपमा मसँग राख्नुहुन्थ्यो । उहाँको त्यो स्पष्टता कहिलेकाहीँ असहज लाग्नसक्थ्यो, तर त्यो आलोचना होइन–नेपालप्रतिको गहिरो माया थियो ।

म उहाँप्रति एउटा व्यक्तिगत कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । उहाँले आफ्ना सपना, आफ्ना चिन्ता र आफ्ना आकांक्षाहरू मसँग खुलेर साझा गर्नुभयो । त्यो विश्वास मेरा लागि सधैं सम्मानको विषय रहनेछ ।

प्रिय निम्स दाइ, तपाईंले उठाउनुभएका नीतिगत सुधारका मुद्दाहरू, पर्वतीय पर्यटनलाई अझ सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने अभियान र नेपाली पर्वतारोहीको सम्मानका लागि उठाइएका आवाजहरू अब रोकिने छैनन् । हामीले आ-आफ्नो ठाउँबाट त्यो अभियानलाई निरन्तरता दिनुपर्छ । तपाईंप्रतिको सच्चा श्रद्धाञ्जली यही हुनेछ ।

निम्सदाइको व्यक्तित्वको अर्को विशेषता उहाँको ऊर्जा थियो । उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ आशावाद फैलिन्थ्यो । उहाँसँग केहीबेर बस्दा नै मानिस ठूलो सपना देख्न प्रेरित हुन्थ्यो । विश्वव्यापी प्रसिद्धि, असाधारण उपलब्धि र सम्मान प्राप्त गरिसक्दा पनि उहाँमा अहंकार थिएन । उहाँ अझै पनि सहज, खुला र आफ्नै शैलीमा सबैसँग घुलमिल हुने व्यक्ति हुनुहुन्थ्यो । यही कारणले उहाँ केवल सफल पर्वतारोही मात्र होइन, असंख्य युवाका रोल मोडल बन्नुभयो ।

आज उहाँको बिदाइले एउटा गहिरो प्रश्न पनि छोडेको छ- अब हामीले उहाँका सपनाहरूलाई कसरी अघि बढाउने ? निम्स दाइको सम्झना केवल शोकसभामा सीमित हुनुहुँदैन । उहाँले देखेको नेपाल, उहाँले चाहेको पर्वतीय पर्यटन र उहाँले कल्पना गरेको विश्वस्तरीय प्रणाली निर्माण गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । नेपालसँग विश्वकै अनुपम हिमाल छन् । अब हामीसँग उहाँले छोडेर जानुभएको प्रेरणा पनि छ । त्यसलाई नीतिमा, व्यवहारमा र नेतृत्वमा रूपान्तरण गर्नसके मात्र उहाँको विरासतलाई न्याय गर्न सकिन्छ ।

यस दु:खद घडीमा उहाँकी परिवार, आफन्तजन, साथीभाइ तथा उहाँसँगै जीवन गुमाउने सम्पूर्ण पर्वतारोहीहरूको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँहरूको पीडामा सम्पूर्ण राष्ट्र सहभागी छ ।

प्रिय निम्सदाइ,

तपाईंले संसारका सर्वोच्च शिखरहरू जित्नुभयो । तर, त्योभन्दा पनि ठूलो कुरा, तपाईंले मानिसहरूको मन जित्नुभयो । तपाईंले नेपाललाई नयाँ उचाइमा चिनाउनुभयो । तपाईंले एउटा पुस्तालाई असम्भवलाई चुनौती दिन सिकाउनुभयो ।

आज तपाईं हामीबीच रहनु भएन, तर हरेक पटक कुनै नेपालीले आत्मविश्वासका साथ कुनै नयाँ शिखरतर्फ पाइला चाल्नेछ, हरेक पटक संसारले नेपाली पर्वतारोहीको सम्मान गर्नेछ, र हरेक पटक हिमालले साहसको कथा सुनाउनेछ- त्यहाँ तपाईं जीवित हुनुहुनेछ ।

तपाईं हिमाल मात्रै चढ्नुभएन, तपाईं आफैं एउटा हिमाल बन्नुभएको छ ।

हार्दिक श्रद्धाञ्जली, प्रिय मित्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?