१६ साउन, बाजुरा । बाजुराको गौमुल गाउँपालिका जोड्न घटमुना क्षेत्रमा बुढीगंगा नदीमाथि पक्की पुल निर्माण कार्यको सम्झौता भएको चार वर्ष बितिसक्यो । सम्झौताअनुसार दुई वर्षअघि नै त्यहाँ पक्की पुल बनेर गाडी गुडिसक्नुपर्थ्यो ।
तर, हालसम्म पनि न त्यहाँ पुल बनेको छ, न निर्माणको कुनै सुरसारसम्म छ । खोला उसैगरी बगिरहेको छ । सडक उसैगरी असरल्ल खोलाले बगाइरहेको छ ।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार पुल निर्माणका लागि २०७९ वैशाख ४ गते सम्झौता भएको थियो । संघीय सरकारमातहतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढीले एआर चन्द ग्रुप जेभी, कञ्चनपुरसँग ४ करोड एक लाख २२ हजार ४८४ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्रै काम सक्नुपर्ने सर्त थियो ।
कार्यालयका अनुसार ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गर्ने प्रतिबद्धतासहित ३५ लाख रुपैयाँ पेस्कीसमेत लिएको थियो । तर, निर्माण कम्पनीले हालसम्म पनि काम सुरु गरेको छैन ।
सम्झौताअनुसार २०८१ वैशाख मसान्तमा पुल निर्माण भइसक्नुपर्थ्यो । नभएपछि कार्यालयले एक वर्ष म्याद थपेर २०८२ वैशाख मसान्तसम्म पुर्याएको थियो ।
यो अवधिमा समेत काम भएन ।
ठेकेदार कम्पनी सम्पर्कमा नआएकै कारण काम अघि बढ्न नसकेको कार्यालयले भन्ने गरेको छ ।
सम्झौताको लामो समय बित्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल अलपत्र परेको गौमुल गाउँपालिका–२ का वडाध्यक्ष देवबहादुर रोकाया बताउँछन् ।
बाजुराको सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्मको दूरी करिब १२ किलोमिटर छ । गाउँपालिकाको केन्द्र पुग्न दुईवटा नदी पार गर्नुपर्ने अवस्था छ ।
मार्तडी नजिकैको बाहुली खोलामा पनि सडक डिभिजन कार्यालय साँफेले यसअघि ठेक्का आह्वान गरे पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
घाटमुना पुल निर्माण सम्पन्न भए गौमुल गाउँपालिकाका बासिन्दालाई मात्र नभई बाजुराबाट बझाङ जिल्लासम्म पुग्ने छोटो सडक मार्ग सञ्चालनमा समेत महत्वपूर्ण सहजता हुने अपेक्षा गरिएको छ ।
गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकालाई जोड्ने उक्त नदीमाथिको पुलसँगै मार्तडीदेखि गौमुलसम्मको १२ किलोमिटर सडकमध्ये ६ किलोमिटर कालोपत्रे गर्ने काम सुरु भइसकेको छ । यद्यपि उक्त सडक निर्माण पनि हाल अलपत्र अवस्थामा रहेको स्थानीयको गुनासो छ । कालोपत्रे निर्माण प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, साँफेबगरमार्फत भइरहेको छ ।
स्थानीय बलबहादुर रोकायाले १२ किलोमिटर सडक कालोपत्रे भएर दुईवटै नदीमा पक्की पुल बने गौमुल गाउँपालिका बाह्रै महिना सदरमुकाम मार्तडीसँग सडक सञ्जालमार्फत जोडिने बताउँछन् । तर, पुल निर्माण सुरु नै नभइदिँदा स्थानीयले सास्ती बेहोर्नुपरिरहेको उनले बताए ।
प्रतिक्रिया 4