+
+
Shares

एमालेले टुंग्यायो बागमतीको मुख्यमन्त्री, जगन्नाथ थपलियाको नाममा सहमति

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ साउन १६ गते १९:३५

१६ साउन, हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि नेकपा (एमाले) भित्र देखिएको प्रतिस्पर्धा अन्तत: टुंगिएको छ ।

आकांक्षी नेताहरूबीचको छलफलपछि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति जुटेसँगै उनलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढेको एमालेका सांसद तथा पूर्वमन्त्री मधुसूदन पौडेलले जानकारी दिए ।

शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा भएको छलफलमा थपलियालाई मुख्यमन्त्री बनाउनेबारे सहमति जुटेको पौडेलले बताए । मुख्यमन्त्रीमा भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री किरण थापा मगरको पनि दाबी रहेको थियो ।

ओली निवास गुन्डुमा आकांक्षीहरू थपलिया, थापासहित पार्टी सचिव तथा बागमती इञ्चार्ज महेश बस्नेत, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलगायतका नेताहरूको उपस्थिति थियो ।

केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएसँगै सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेपछि एमालेभित्र मुख्यमन्त्रीका आकांक्षी नेताहरुको दौड पनि तीव्र बनेको थियो ।

दलका नेता चितवनका थपलिया र भक्तपुरका थापाले  पार्टी नेतृत्वसँग आफ्नो पक्षमा निर्णय गराउन आन्तरिक रुपमा लबिङ तीव्र बनाएका थिए । बागमती सरकारमा यसअघि थपलिया आर्थिक मामिला मन्त्री र थापा स्वास्थ्य मन्त्री भइसकेका छन् ।

केन्द्रमा एमाले र नेकपाबीच नयाँ सहमतिअनुसार अगाडि बढ्ने भएपछि बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किएको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ । यो अंकगणित अनुसार बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेशसभा सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ ।

एमाले र नेकपा मिलेर (५१ सांसद) सरकार बनाउँदा २ सिट अपुग हुन्छ । बहुमत पुर्‍याउन अन्य साना दललाई सरकारमा सहभागी गराउनु पर्नेछ । जसको लागि राप्रपा निर्णायक देखिन्छ । राप्रपासँग सरकार गठनका सम्बन्धमा छलफल भइरहेको पनि सांसद पौडेलले जानकारी दिए ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?