१७ साउन, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने ५२ वर्षीय जालिनादेवी चौधरीको गत असार २२ मा कुटपिटपछि मृत्यु भयो । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना भने अदालतको आदेशमा छुटेपछि मृतक चौधरीका परिवारजनले मुद्दालाई गम्भीर रूपमा नलिइएको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरू छुटेपछि मृतक चौधरी पक्षले आइतबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गर्दै बोक्सी आरोप लगाएर हत्या गरेको दाबी गर्दै मुद्दालाई बेवास्ता गरिएको बताए ।
उनीहरूका अन्सार नातामा मृतककी छोरी (दिदीको सासुको बहिनी) पर्ने माया चौधरीले ३२ असारको राति चामल र नुन बोकेर सरिता थरुनीको घर अगाडि पुगेकी जालिनादेवीमाथि उनका छिमेकी र परिवारका सदस्यले लछारपछार गर्दै कुटपिट गरेका थिए ।
नजिकै रहेको घर फर्किएर शौचालयमा लुकेको अवस्थामा उनीहरु बाहिर निकालेर फेरि कुटपिट गरेको उनीहरूको दाबी छ ।
त्यसपछि राति उनको सुतेकै अवस्थामा मृत्यु भएको थियो । मृतकका श्रीमान राजेन्द्र चौधरीले ससुराली पक्षले बोक्सी भन्दै श्रीमतीमाथि कुटपिट गरेको र गम्भीर अवस्थामा घर फर्किएको दाबी गरे । राति उनले आफूलाई निर्घात कुटपिट गरेकाले ‘मरिहाल्छु की’ भनेको उनी बताउँछन् । नभन्दै सुतेकै अवस्था श्रीमतीको मृत्यु भएको चौधरी बताउँछन् ।
उनका छोरा रवि चौधरीले सरितासहितका ७ जनाविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरेको थियो ।
अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलमार्फत अदालत पेस गरेको थियो तर अदालतले तत्काल अभियोग पुष्टि नभएको भन्दै उनीहरुलाई एक लाख ६० धरौटीमा छाडेको थियो ।
अहिले मृतक पक्षले हत्यामा संलग्नमाथि सक्ष्म अनुसन्धान नभएका कारण अदालतले छाडेको दाबी गर्दै न्यायका लागि संघर्ष गर्ने बताएका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) हिरासिंह महराले अदालतको आदेशअनुसार उनीहरू धरौटीमा छुटेको बताएका छन् ।
उनकाअनुसार शव परीक्षण रिपोर्टमा मृत्युको कारण नखुलेपछि भीसेरा परीक्षणका लागि नमूना नेपालगञ्ज पठाइएको छ ।
तर, चिकित्सकले दिएको रिपोर्टमा मृतक चौधरीको मुटु र हातमा चोट भएको कुरा उल्लेख गरिएको छ । प्रहरीले अहिले पनि घटना अनुसन्धानकै क्रममा रहेको र थप प्रमाण संकलनको काम भइरहेको जनाएको छ । अदालतले समेत पछि खुल्ने प्रमाणका आधारमा सुनवाइ गरि निर्णय लिइने थुनछेक बहसपछि जारी आदेशमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4