News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट मच्चाउने ‘कर्मा समूह’का नाइके कर्मा तामाङसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
- नाइके तामाङलाई बुढानीलकण्ठमा नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गरेको थियो।
- यो समूहले बाटो सोध्ने निहुँमा वृद्धाहरूलाई लक्षित गरी सुनका गरगहना लुट्ने र प्रतिकार गर्दा कुटपिट गर्ने गरेको प्रहरीले बताएको छ।
१७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ लाई लामो प्रयासपछि प्रहरीले गोली हानेर समातेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका ३४ वर्षीय समूहका नाइके कर्मा तामाङसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दिलिप घिमिरेले कर्मा समूहबारे जानकारी दिँदै यसका पाँच सदस्य पक्राउ परेको बताए ।
पक्राउ पर्नेहरूमा कर्मासँगै काभ्रेको धुलिखेल नगरपालिका–१० का ३० वर्षीय प्रतिमान गोले, पनौती नगरपालिका–९ का ३० वर्षीय पासाङ घिसिङ, भुम्लु गाउँपालिका–९ का ३६ वर्षीय मनोज तामाङ र कास्की सराङकोटका २९ वर्षीय आले गुरुङ छन् ।
कर्मालाई प्रहरीले गोली हानेर बुढानीलकण्ठबाट पक्राउ गरेको हो । बाँकी चार जनालाई भने काभ्रेबाट पक्राउ गरिएको हो ।
यो समूहले काठमाडौं उपत्यकामा लुटपाटको आतंक मच्चाउने गरेको प्रहरीले बताएको छ । यो समूहले सुनका सिक्री तथा कानमा लगाएका रिङ र टपहरू लुट्ने गरेको थियो ।
लुटपाटका राइडर प्रतिमान
कर्मा समूहका पक्राउ परेका सबै व्यक्तिको पृष्ठभूमि आपराधिक देखिएको छ । ३० वर्षीय प्रतिमान गोले लुटपाटमा बाइक राइडरको काम गर्ने व्यक्ति हुन् । उनी यसअघि डाँका चोरीको कसुरमा कारागारसमेत बसेका थिए । ललितपुरको नख्खु कारागारमा रहेका उनी जेनजी आन्दोलनमा कारागारबाट फरार भएका थिए ।
फरार भएका उनलाई बनेपाबाट पक्राउ गरी कारागार पठाइएको थियो । कैद सजाय भुक्तान गरेर उनी तीन हप्ताअघि मात्रै छुटेका थिए ।
यसबाहेक उनीविरुद्ध डाँका चोरीको मुद्दामा दुई पटक मुद्दा चलेको थियो । ४ जेठ २०८२ मा प्रहरी वृत्त महाराजगञ्जबाट उनीविरुद्ध डाँका चोरीमा मुद्दा चलेको थियो ।
त्यसपछि ४ साउन २०८२ मा प्रहरी वृत्त चापागाउँबाट अर्को डाँका चोरीमा मुद्दा चलेको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ ।
लुटपाटमा प्रयोग गर्न मोटरसाइकल चोर्ने पासाङ
पक्राउ परेका अर्का व्यक्ति पासाङ घिसिङ लुटपाटका लागि प्रयोग गर्न मोटरसाइकल चोर्ने व्यक्ति रहेको एसएसपी घिमिरेले बताए । उनी मोटरसाइकल चोरीमा पोख्त छन् । उनले अहिलेसम्म २० वटा मोटरसाइकल चोरी गरिसकेका छन् ।
मोटरसाइकल चोरी गरेर लुटपाट गर्न जाने व्यक्तिलाई दिने र त्यही मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने शैली देखिएको छ ।
डाँका चोरीको कसुरमा उनीविरुद्ध चार वटा मुद्दा चलेको थियो । ५ भदौ २०७९ मा प्रहरी वृत्त बौद्धबाट डाँका चोरीमा उनीविरुद्ध मुद्दा चलेको देखिन्छ । बौद्धबाटै १९ भदौ २०७९ मा डाँका चोरीका तीन वटा मुद्दा चलेको भेटिएको छ ।
स्ट्यान्डबाई आले
लुटपाट गर्दा स्ट्यान्डबाई रहेर सुरक्षा प्रदान गर्ने व्यक्ति हुन् आले गुरुङ । एउटा समूह लुट्न गएको बेला आवश्यक परे बल प्रयोग गर्नका लागि सशस्त्र रूपमा उनी घटनास्थल वरपर स्ट्यान्डबाई रहने गरेको प्रहरीको भनाइ छ । उनले रेकी गर्ने तथा थप मद्दतको रूपमा काम गर्ने गरेको देखिन्छ ।
मनोज तामाङ भने सुन पसले हुन् । बनेपा बस्दै आएका उनले लुटेर ल्याएका गरगहना गाल्ने र स्वरूप परिवर्तन गरेर बिक्री वितरण गर्ने गरेको प्रहरीले बताएको छ ।
नाइके कर्माविरुद्ध चलेका थिए ९ मुद्दा
आफूलाई सवारी चालक बताउने कर्मा यो समूहका मुख्य नाइके हुन् । उनीविरुद्ध ९ वटा लुटपाट तथा डाँका चोरीका मुद्दा चलेका छन् । उनीविरुद्ध ५ भदौ २०७९ मा प्रहरी वृत्त बौद्धबाट डाँका चोरीको मुद्दा चलेको थियो । १९ भदौ २०७९ मा फेरि बौद्धबाटै चार वटा डाँका चोरीको मुद्दा चलेको सीआरएसमा देखिन्छ ।
२४ साउन २०८० मा प्रहरी वृत्त ठिमीबाट उनीविरुद्ध चोरीको मुद्दा चलेको देखिन्छ । ११ भदौ २०८० मा प्रहरी वृत्त सातदोबाटोबाट डाँका चोरीको मुद्दा चलेको थियो ।
३ भदौ र ५ भदौमा २०८२ मा गरी दुई वटा डाँका चोरीको मुद्दा प्रहरी वृत्त स्वयम्भूबाट चलेको देखिन्छ ।
डाँका चोरीको कसुरमा पक्राउ परेर हिरासतमै रहेका बेला उनी गत भदौ २४ भएको जेनजी आन्दोलनको मौकामा वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए । त्यसपछि उनले उपत्यकाका विभिन्न ठाउँमा चोरी तथा लुटपाट आतंक मच्चाएको प्रहरीले बताएको छ ।
उनलाई निगरानी गर्दै पछ्याएको प्रहरीले शनिबार राति पक्राउ गर्न सफल भएको हो ।
टार्गेटमा वृद्धा महिला
श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा गरगहनाहरू लुटपाट हुने गरेको गुनासो तथा उजुरी प्रहरीमा आउन थालेको थियो । लुटपाटको प्रकृति एकै किसिमको थियो । लुटपाटको टार्गेटमा वृद्धाहरू परेका थिए ।
लुटपाटको प्रतिकार गर्न खोज्दा उल्टै आक्रमण गरी घाइते बनाउने प्रवृत्ति देखिएको थियो । गुण्डागर्दी र चोरी तथा लुटपाटमा संलग्नहरूको प्रोफाइलिङ तयार गर्ने क्रममा कर्मा समूह प्रहरीको निगरानीमा पर्यो । यही समूहले लुटपाटको आतंक मच्चाएको विश्लेषण गरेपछि प्रहरीले निगरानी गरी कारबाहीको दायरामा ल्याएको हो ।
सो क्रममा १५ साउनमा चार जनालाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको थियो । तर यसका मुख्य नाइके कर्मा भने फरार नै थिए । १६ साउन राति कर्माको उपस्थिति बुढानीलकण्ठमा देखिएपछि परिसर काठमाडौंको टोली परिचालन भएको थियो ।
बुढानीलकण्ठको चुनिखेल, गाम्चास्थित पानी ट्यांकी नजिक फेला पारी नियन्त्रणमा लिने प्रयास हुँदा प्रहरीलाई आक्रमणको प्रयास भएको दाबी प्रहरीको छ । त्यसपछि दुई राउन्ड हवाई फायर भएको प्रहरीको भनाइ छ ।
त्यसपछि पनि खुकुरी निकालेर आक्रमण प्रयास गर्दै मोटरसाइकलमा भाग्न खोजेपछि खुट्टामा एक राउन्ड गोली हानेर समातिएको एसएसपी घिमिरेले दाबी गरे । अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनास्थलबाट मोटरसाइकल १ थान, एउटा खुकुरी, मोटरसाइकलको ५ थान नम्बर प्लेट, चोरी गर्न प्रयोग हुने औजार टी लक, मास्टर कीसमेत बरामद भएको छ ।
चोरी गरेका मोटरसाइकलहरूको तत्कालै नम्बर प्लेट परिवर्तन गर्ने र लुटपाटमा प्रयोग गर्ने गरेको देखिएको प्रहरीले बताएको छ ।
बाटो सोध्दै लुट्दै
कर्मा समूहले बाटो सोध्दै लुट्ने गरेको देखिन्छ । ७ साउन दिउँसो साढे १ बजेतिर यो समूहले धापासी हाइट मन्दिर नजिक हिँडिरहेकी ६६ वर्षीया महिलाको गलाको सिक्री लुटेको थियो ।
मोटरसाइकलमा आएका दुई जनाले गलाको १ तोलाको सुनको सिक्री थुतेर फरार भएका थिए । त्यतिबेला ती महिलालाई लछारपछार समेत गरिएको थियो । लुटेर उनीहरू मोटरसाइकलमा फरार भएका थिए ।
यसअघि १५ असार राति ८ बजेतिर बनेपामा सेतीदेवी दुग्ध सहकारी गाई फार्म नजिकै दूध लिन जाने क्रममा एक महिलालाई लुटपाट गरिएको थियो । मुख छोपी, घाँटी समाती, बोल्न नदिई लछारपछार गर्दै १ तोला २० लालको सुनको सिक्री लुछेर मोटरसाइकलमा यो समूह फरार भएको थियो ।
१५ असार २०८३ कै बिहानीपख साढे ३ बजेतिर काठमाडौं–३२ मा अर्का व्यक्तिमाथि लुटपाट गरिएको थियो । जडिबुटी जाने बाटो कता हो भन्दै सोध्ने निहुँ पारेर ३ तोला बराबरको सुनको सिक्री लुटिएको थियो । भुईँमै लडाएर लछारपछार गर्दै कुटपिट गरी लुटपाट भएको थियो ।
यस्तै शैलीमा १३ असारमा शान्तिनगरमा लुटपाट भएको थियो । झोलामा रकम राखेर होलसेल तरकारी पसल जाँदै गर्दा बिहानको ४ बजेतिर अर्का एक व्यक्ति लुटिएका थिए । पेप्सीकोला जाने बाटो कतो हो भन्दै ती व्यक्तिले गलामा लगाएको साढे २ तोलाको सुनको सिक्री लुटेर यो समूह फरार भएको थियो ।
प्रतिक्रिया 4