News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्ने कुरामा जोड दिएका छन्।
- सभापति थापाले सरकारले निजी क्षेत्रको विज्ञता र क्षमतामाथि भरोसा राख्दै डिजिटल क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा विकास गर्नुपर्ने बताए।
- संसदीय बहसलाई प्रभावकारी बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले सांसदहरूलाई आवश्यक अध्ययन प्रतिवेदन उपलब्ध गराउने तयारी गरिरहेको छ।
१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले यस क्षेत्रमा उच्च महत्वाकाङ्क्क्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका हुन् ।
‘हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस् । यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ, हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ । तर सरकारले दुई कुरामा स्पष्ट हुनुपर्छ । पहिलो, यस क्षेत्रमा स्पष्ट महत्त्वाकाङ्क्क्षी योजना हुनुपर्छ । दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ,’ उनले भने ।
सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्न आग्रह गरे ।
डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड (ब्याकबोन) बनाउन सकिने सम्भावना औंल्याउँदै उनले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा एजेण्डा बनाउनुपर्ने बताए ।
‘सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन । जान्ने मानिसहरू सरकारबाहिर पनि छन् । निजी क्षेत्रमा काम गरिरहेका साथीहरू अत्यन्त सक्षम र अनुभवी हुनुहुन्छ । मैले पनि उहाँहरूसँग काम गर्ने र सिक्ने अवसर पाएको छु,’ सभापति थापाले भने, ‘उहाँहरूको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट छ । नेपालीहरू संसारभर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, नेपालभित्र पनि धेरै सक्षम जनशक्ति छन् । सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्छ ।’
संसदमा यस विषयमा हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक सामग्री र अध्ययन प्रतिवेदनहरू सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी समेत दिए ।
प्रतिक्रिया 4