News Summary
Generated by OK AI. Editorially reviewed.- निजी विद्यालय र अभिभावकबीचको सम्बन्ध शुल्कको लेनदेनमा मात्र सीमित नभई बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने साझा उत्तरदायित्वको साझेदारीमा आधारित हुनुपर्छ।
- शिक्षा केवल उच्च अंक ल्याउने माध्यम नभई विद्यार्थीको चरित्र, नैतिक शिक्षा, व्यवहार र जीवनोपयोगी सीप विकास गर्ने महत्त्वपूर्ण सामाजिक प्रक्रिया हो।
- डिजिटल युगका चुनौतीलाई सम्बोधन गर्न विद्यालय र अभिभावकले प्रविधिको विवेकपूर्ण प्रयोग तथा डिजिटल अनुशासनका लागि साझा दृष्टिकोण अपनाउनु अपरिहार्य छ।
शिक्षा कुनै वस्तु होइन, जसको मूल्य किनबेचबाट मात्र निर्धारण गर्न सकियोस्। यो व्यक्तिको ज्ञान, सीप, चरित्र, संस्कार र भविष्य निर्माण गर्ने सामाजिक प्रक्रिया हो। त्यसैले शिक्षाको केन्द्रमा सधैं विद्यार्थी हुनुपर्छ। तर विद्यार्थीको भविष्य निर्माण गर्ने जिम्मेवारी विद्यालयको मात्र होइन। परिवार, समाज र राज्य सबै यसका साझेदार हुन्।
नेपालको शिक्षा प्रणालीमा निजी विद्यालयले तीन दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। सामुदायिक विद्यालयसँगै निजी विद्यालयले पनि लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छन्। आधुनिक शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप, भाषा दक्षता, प्रविधिको प्रयोग र व्यवस्थित सञ्चालनका कारण धेरै अभिभावक निजी विद्यालयतर्फ आकर्षित भएका छन्।
तर पछिल्ला वर्षमा आर्थिक मन्दी, बढ्दो सञ्चालन खर्च, जनसांख्यिक परिवर्तन, वैदेशिक पलायन, घट्दो जन्मदर, शुल्क सम्बन्धी विवाद, सामाजिक सञ्जालको प्रभाव र अभिभावकका बदलिंदा अपेक्षाले निजी विद्यालय क्षेत्रलाई नयाँ मोडमा पुर्याएका छन्।
यही परिवेशमा दुई प्रश्न बारम्बार उठ्छन्- निजी विद्यालयले अभिभावकलाई कसरी हेर्ने? अभिभावकले विद्यालयलाई कुन दृष्टिकोणबाट बुझ्ने?
शुल्कभन्दा माथिको सम्बन्ध
यी प्रश्नको उत्तर खोज्नुअघि एउटा यथार्थ स्वीकार गर्नुपर्छ। निजी विद्यालय सरकारी अनुदानबाट सञ्चालन हुँदैनन्। तिनको मुख्य आम्दानी अभिभावकले तिर्ने शुल्क हो। त्यही शुल्कबाट शिक्षक तथा कर्मचारीको तलब, भवन भाडा, यातायात, विद्युत्, प्रविधि, पुस्तकालय, प्रयोगशाला, खेलकुद, प्रशासन, कर तथा अन्य सञ्चालन खर्च व्यवस्थापन गरिन्छ। त्यसैले अभिभावक निजी विद्यालयका आर्थिक आधार हुन् भन्ने सत्य अस्वीकार गर्न सकिंदैन।
तर शुल्क तिर्नासाथ शिक्षा व्यावसायिक वस्तुमा मात्र सीमित हुँदैन। विद्यालयले सेवा मात्रै बेचिरहेको हुँदैन, एउटा पुस्ताको भविष्य निर्माण गरिरहेको हुन्छ। त्यसैले विद्यालय र अभिभावकको सम्बन्ध ग्राहक र व्यापारीको मात्र नभई साझा उत्तरदायित्व बोकेका साझेदारको हुनुपर्छ।
विद्यालयले शुल्क संरचना, शुल्क वृद्धिको आधार, उपलब्ध सेवा, मूल्यांकन प्रणाली र गुनासो सम्बोधनको प्रक्रियामा पारदर्शिता अपनाउनुपर्छ। अभिभावकले पनि विद्यालय सञ्चालनका व्यावहारिक पक्ष बुझ्दै जिम्मेवार संवाद गर्नुपर्छ।
विश्वास एकतर्फी रूपमा निर्माण हुँदैन। यसका लागि दुवै पक्ष इमानदार, पारदर्शी र उत्तरदायी हुनुपर्छ।
विद्यालयबाट अपेक्षा, परिवारको जिम्मेवारी
आजका अभिभावक विद्यालयबाट उत्कृष्ट नतिजा, अनुशासन, सुरक्षित वातावरण, अन्तर्राष्ट्रियस्तरको शिक्षा, अंग्रेजी भाषामा दक्षता, सूचनाप्रविधिको ज्ञान, अतिरिक्त क्रियाकलाप र व्यक्तित्व विकास- सबै एकैसाथ अपेक्षा गर्छन्।
यी अपेक्षा स्वाभाविक हुन्। प्रत्येक अभिभावक आफ्नो सन्तानका लागि उत्कृष्ट भविष्य चाहन्छन्। तर विद्यालयबाट अपेक्षा गरेर मात्र त्यो भविष्य निर्माण हुँदैन।
घरको वातावरण, पारिवारिक संस्कार, अभिभावकले दिने समय, अनुशासन, नैतिक शिक्षा र भावनात्मक साथ विना कुनै पनि विद्यालयले एक्लै सन्तुलित विद्यार्थी तयार पार्न सक्दैन।
बालबालिकाले विद्यालयमा सिक्ने मात्र होइन, घरमा देखेका व्यवहारबाट पनि धेरै कुरा ग्रहण गर्छन्। घरमा सम्मान, अनुशासन, सत्यनिष्ठा, जिम्मेवारी र सकारात्मक सोचको अभ्यास छैन भने विद्यालयले पढाएको नैतिक शिक्षा कमजोर हुन सक्छ। त्यसैले विद्यार्थीको चरित्र निर्माणमा परिवारको भूमिका विद्यालयको भन्दा कम हुँदैन।
अंक मात्रै गुणस्तर होइन
गुणस्तरीय शिक्षाको अर्थ एसईई वा अन्य परीक्षामा उच्च अंक ल्याउनु मात्र होइन। वास्तविक शिक्षाले विद्यार्थीलाई जीवन बुझ्न, समस्या समाधान गर्न र असल मानिस बन्न सिकाउनुपर्छ।
इमानदारी, अनुशासन, सहिष्णुता, नेतृत्व क्षमता, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र जीवनोपयोगी सीपको विकास पनि शिक्षाकै उद्देश्य हो।
विद्यार्थीले उच्च अंक ल्याए पनि जिम्मेवार नागरिक बन्न सकेन भने हाम्रो शिक्षा अधुरो रहन्छ। त्यसैले विद्यालयको सफलता नतिजा र उत्तीर्ण प्रतिशतबाट मात्र मापन गर्नुहुँदैन। विद्यार्थीको व्यवहार, आत्मविश्वास, सिर्जनशीलता र सामाजिक जिम्मेवारी पनि मूल्यांकनका आधार बन्नुपर्छ।
अभिभावकले पनि आफ्ना सन्तानलाई अरूसँग तुलना गरेर अनावश्यक दबाब दिनुभन्दा उनीहरूको रुचि, क्षमता र स्वभाव बुझ्नुपर्छ। सबै बालबालिका एउटै तरिकाले सिक्दैनन्, न त सबैको सफलता एउटै मापदण्डले मापन गर्न सकिन्छ।
डिजिटल युगको साझा चुनौती
आजको प्रविधिमैत्री युगमा विद्यालय र अभिभावकसामु डिजिटल संस्कार निर्माण गर्ने अर्को चुनौती थपिएको छ।
मोबाइल फोन, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताले शिक्षामा नयाँ सम्भावना ल्याएका छन्। विद्यार्थीले ज्ञान र सूचना सहजै प्राप्त गर्न सक्छन्। सिकाइलाई व्यक्तिगत रुचि र गति अनुसार अघि बढाउन सकिन्छ। तर प्रविधिसँगै लत, गलत सूचना, साइबर दुर्व्यवहार, गोपनीयताको जोखिम र अध्ययनमा विचलन जस्ता चुनौती पनि आएका छन्।
त्यसैले विद्यालय र अभिभावकले डिजिटल अनुशासन, सुरक्षित इन्टरनेट प्रयोग, सूचना परीक्षण गर्ने क्षमता र जिम्मेवार प्रविधि प्रयोगबारे साझा दृष्टिकोण बनाउनुपर्छ। विद्यालयमा एउटा नियम र घरमा ठीक विपरीत अभ्यास भयो भने बालबालिका अन्योलमा पर्छन्।
प्रविधिलाई रोक्नु समाधान होइन। यसको विवेकपूर्ण र सुरक्षित प्रयोग गर्न सिकाउनु अहिलेको शिक्षाको महत्त्वपूर्ण दायित्व हो।
शिक्षकप्रतिको सम्मान र विश्वास
शिक्षक विद्यालयका आत्मा हुन्। उनीहरूको सीप, समर्पण र प्रेरणाले विद्यालयको गुणस्तर निर्धारण गर्छ।
विद्यालय व्यवस्थापनले शिक्षकको व्यावसायिक विकास, उचित पारिश्रमिक, सम्मानजनक कार्य–वातावरण र निरन्तर तालिममा लगानी गर्नुपर्छ। असुरक्षित, निरुत्साहित र अत्यधिक दबाबमा रहेका शिक्षकबाट उत्कृष्ट शिक्षणको अपेक्षा गर्न सकिंदैन।
अभिभावकले पनि शिक्षकप्रति सम्मान र विश्वास कायम राख्नुपर्छ। कुनै समस्या आएमा तत्काल सामाजिक सञ्जालमा आरोप लगाउने वा एकतर्फी निष्कर्ष निकाल्नुभन्दा पहिले शिक्षक र विद्यालयसँग संवाद गर्नु हितकर हुन्छ।
यसको अर्थ शिक्षक वा विद्यालयमाथि प्रश्न उठाउनै हुँदैन भन्ने होइन। प्रश्न जिम्मेवार ढंगले उठ्नुपर्छ र विद्यालयले पनि त्यसको जवाफ पारदर्शी रूपमा दिनुपर्छ।
विद्यालय व्यवस्थापनले अभिभावकका गुनासा सुन्ने संस्कृति विकास गर्नुपर्छ। आलोचनालाई विरोध नभई सुधारको अवसरका रूपमा लिनुपर्छ। नियमित अभिभावक–शिक्षक अन्तरक्रिया, खुला छलफल, सुझाव संकलन र साझेदारीका कार्यक्रमले सम्बन्ध सुदृढ बनाउँछन्।
बदलिंदै विद्यालयको मूल्य
राम्रो भवन, स्मार्ट बोर्ड, वातानुकूलित कक्षाकोठा वा आकर्षक पोशाकले मात्र विद्यालयको पहिचान बनाउने समय सकिंदै गएको छ। अब विद्यालयको वास्तविक मूल्य शैक्षिक गुणस्तर, नैतिक प्रतिबद्धता, शिक्षकको क्षमता, विद्यार्थीको चरित्र, अभिभावकसँगको सम्बन्ध र समाजप्रतिको उत्तरदायित्वले निर्धारण गर्छ।
त्यस्तै, अभिभावकले पनि विद्यालयलाई असम्भव अपेक्षाको भारी बोकाउनुहुँदैन। विद्यार्थीको अध्ययन, व्यवहार, समय व्यवस्थापन, गृहकार्य, अनुशासन र मानसिक स्वास्थ्यमा अभिभावकको सक्रिय सहभागिता अपरिहार्य छ। विद्यालय र परिवार एउटै दिशामा अघि बढे मात्र बालबालिकाको सन्तुलित विकास सम्भव हुन्छ।
आरोप होइन, सहकार्य
विद्यालय र अभिभावकको साझा लक्ष्य बालबालिकाको उज्ज्वल भविष्य हो। यही लक्ष्यलाई केन्द्रमा राखेर विद्यालयले पारदर्शिता, गुणस्तर, उत्तरदायित्व र संस्कारलाई प्राथमिकता दिनुपर्छ। अभिभावकले विश्वास, सहयोग, सहभागिता र सकारात्मक संवाद अपनाउनुपर्छ।
आज आवश्यक कुरा आरोप–प्रत्यारोप होइन, सहकार्य हो। अविश्वास होइन, विश्वास हो। प्रतिस्पर्धा होइन, साझेदारी हो।
निजी विद्यालय अभिभावकको शुल्कबाट सञ्चालन हुने यथार्थलाई सम्मान गर्दै विद्यालयले आफ्नो दायित्व अझ जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ। अभिभावकले पनि विद्यालयलाई केवल सेवा प्रदायक होइन, आफ्ना सन्तानको भविष्य निर्माण गर्ने सहयात्रीका रूपमा बुझ्नुपर्छ।
विद्यालयले अभिभावकलाई सम्मान गर्ने, अभिभावकले विद्यालयलाई विश्वास गर्ने, शिक्षकले समर्पणका साथ पढाउने र विद्यार्थीले प्रेरणादायी वातावरण पाउने अवस्था निर्माण भएपछि मात्र शिक्षा आफ्नो वास्तविक उद्देश्यमा पुग्छ।
शिक्षा सफल तब हुन्छ, जब विद्यालय र अभिभावकको सम्बन्ध शुल्कमा होइन, विश्वासमा आधारित हुन्छ; अपेक्षामा होइन, साझेदारीमा विकसित हुन्छ र प्रतिस्पर्धामा होइन, बालबालिकाको भविष्यप्रतिको साझा प्रतिबद्धतामा अडिएको हुन्छ।
त्यसपछि मात्र हामी सफल विद्यार्थी मात्र होइन, असल नागरिक, जिम्मेवार मानिस र समृद्ध राष्ट्र निर्माण गर्ने आधार तयार गर्न सक्छौं।
(जोशी शैक्षिक अभियन्ता हुन्।)
प्रतिक्रिया 4