News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने डाँडामा एक करोड १० लाख रुपैयाँको लागतमा शहीद धनरूपा स्मृति पार्क निर्माण गरिएको छ ।
- पार्कमा माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका ६ जनाको योगदानको कदर गर्दै अर्धकदका शालिकहरू स्थापना गरिएका छन् ।
- सहरी विकास मन्त्रालय, कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्मित यो पार्कले इतिहास संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
१८ साउन, तेह्रथुम । पूर्वी पहाडको शान्त वातावरणमा बिहानको घाम लसुने डाँडामाथि विस्तारै फैलिन थाल्छ । वनहरूबीचबाट आउने चिसो हावाले आगन्तुकलाई ताजगी दिँदै यहाँका वरिपरि फैलिएका हरिया डाँडाहरूले प्रकृतिको अनुपम दृश्य प्रस्तुत गर्छन । यही रमणीय वातावरणको बीचमा मौन रूपमा उभिएका ६ वटा अर्धकदका शालिकहरू भने एउटा फरक कथा सुनाइरहेका छन् -त्यागको, बलिदानको र इतिहासको ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–७ र ८ को संगमस्थल लसुने डाँडा अहिले केवल प्राकृतिक सौन्दर्यका कारण मात्र परिचित छैन । यहाँ निर्माण गरिएको ‘शहीद धनरूपा स्मृति पार्क’ ले यस क्षेत्रलाई इतिहास, स्मृति र पर्यटनलाई एकै सूत्रमा बाँध्ने नयाँ गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । जहाँ एकातिर माओवादी ‘जनयुद्ध’का क्रममा ज्यान गुमाएका शहीदहरूको योगदानलाई सम्मान गरिएको छ भने अर्काेतर्फ यही स्मृतिलाई पर्यटन विकासको आधार बनाउने प्रयास सुरु भएको छ ।
नेपालको दशक लामो सशस्त्र द्वन्द्वले हजारौं परिवारलाई पीडा दियो । समयसँगै घाउ पुराना भए, तर सम्झनाहरू हराएनन्। ती सम्झनालाई पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई इतिहाससँग परिचित गराउने उद्देश्यले लसुने डाँडामा शहीदहरूको सम्मानस्वरूप यो स्मृति पार्क निर्माण गरिएको हो । स्मारकहरू केवल ढुंगा र सिमेन्टका संरचना होइनन्स ती कुनै समयको इतिहास, समाजको चेतना र भविष्यका लागि सिकाइका माध्यम पनि हुन ।
सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र लालीगुराँस नगरपालिकाको साझेदारीमा कुल एक करोड १० लाख रुपैयाँ लागतमा पार्क निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएसँगै यस क्षेत्रले नयाँ पहिचान पाएको छ ।
शहीद धनरूपा स्मृति प्रतिष्ठानका सचिव दिपेन्द्र काकीका अनुसार पार्क निर्माणको उद्देश्य शहीदहरूको सम्मान गर्नु मात्र नभई इतिहास संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई सँगसँगै अघि बढाउनु हो ।
पार्कको केन्द्र भागमा द्वन्द्वकालमा राज्य पक्षबाट मारिएका लालीगुराँस नगरपालिकाका धनरूप कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको अर्धकदको शालिक स्थापना गरिएको छ । यी शालिकहरूले केवल छ व्यक्तिको अनुहार मात्र देखाउँदैनन, बरु एउटा समयको संघर्ष, बलिदान र परिवर्तनको इतिहासलाई जीवित राखेका छन्। पार्क पुग्ने प्रत्येक आगन्तुक ती अनुहारसँग केहीबेर मौन संवाद गर्न बाध्य हुन्छ ।

शहीद धनरूपा स्मृति प्रतिष्ठानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरका अनुसार शहीदहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको इतिहास नयाँ पुस्तासम्म पुुर्याउने उद्देश्यले पार्क निर्माण गरिएको हो । भविष्यमा यस क्षेत्रलाई अझ व्यवस्थित शहीद पार्कका रूपमा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने दीर्घकालीन योजना प्रतिष्ठानले अघि सारेको छ ।
लसुने डाँडा आफैंमा प्राकृतिक रूपमा अत्यन्त आकर्षक स्थान हो । यहाँबाट देखिने हरिया पहाड, गुराँसका जंगल, ग्रामीण बस्ती र टाढासम्म फैलिएको हिमाली दृश्यले आगन्तुकलाई सहजै लोभ्याउँछ । वसन्त ऋतुमा गुराँस फुलेपछि यो क्षेत्र झनै मनमोहक देखिन्छ । अब यही प्राकृतिक सौन्दर्यमा इतिहासको आयाम थपिएको छ । प्रकृति र स्मृतिको यो संगमले लसुने डाँडालाई पूर्वी नेपालको नयाँ ऐतिहासिक पर्यटन गन्तव्य बनाउने सम्भावना बलियो देखिएको छ ।
नेपालका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा ऐतिहासिक स्थल, युद्ध संग्रहालय र स्मृति पार्कलाई पर्यटनसँग जोड्ने प्रयास बढिरहेका छन् । यस्ता स्थलहरूले इतिहास संरक्षण मात्र गर्दैनन, नयाँ पुस्तालाई विगत बुझाउने खुला पाठशालाको भूमिका पनि खेल्छन । लसुने डाँडाको शहीद धनरूप स्मृति पार्क पनि यही अवधारणाको एउटा उदाहरण बनेको छ, जहाँ पर्यटकहरूले मनोरम दृश्यसँगै इतिहासलाई पनि नजिकबाट अनुभूति गर्न सक्छन ।
पर्यटनको विकाससँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पार्क अवलोकनका लागि आउने आगन्तुकको संख्या बढ्दै गए स्थानीय होटल, होमस्टे, कृषि उत्पादन, घरेलु उद्योग तथा साना व्यवसायले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
पदमार्ग, सूचना केन्द्र, स्थानीय संस्कृति झल्काउने प्रदर्शनी, विश्रामस्थल तथा होमस्टे जस्ता पूर्वाधार थप विकास गर्न सकिए लसुने डाँडा तेह्रथुम जिल्लाको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने आधार बलियो देखिन्छ ।

प्रतिक्रिया 4