+
+
Shares

शहीदको सम्झनामा धनरूपा स्मृति पार्क : बलिदानको सम्मानदेखि पर्यटन विकास जोड्दै

पार्कले एकातिर माओवादी ‘जनयुद्ध’का क्रममा ज्यान गुमाएका शहीदहरूको योगदान सम्झाउँछ भने अर्काेतर्फ यही स्मृतिलाई पर्यटन विकासको आधार बनाउने प्रयास सुरु भएको छ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन १८ गते ७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने डाँडामा एक करोड १० लाख रुपैयाँको लागतमा शहीद धनरूपा स्मृति पार्क निर्माण गरिएको छ ।
  • पार्कमा माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएका ६ जनाको योगदानको कदर गर्दै अर्धकदका शालिकहरू स्थापना गरिएका छन् ।
  • सहरी विकास मन्त्रालय, कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्मित यो पार्कले इतिहास संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

१८ साउन, तेह्रथुम । पूर्वी पहाडको शान्त वातावरणमा बिहानको घाम लसुने डाँडामाथि विस्तारै फैलिन थाल्छ ।  वनहरूबीचबाट आउने चिसो हावाले आगन्तुकलाई ताजगी दिँदै यहाँका वरिपरि फैलिएका हरिया डाँडाहरूले प्रकृतिको अनुपम दृश्य प्रस्तुत गर्छन । यही रमणीय वातावरणको बीचमा मौन रूपमा उभिएका ६ वटा अर्धकदका शालिकहरू भने एउटा फरक कथा सुनाइरहेका छन् -त्यागको, बलिदानको र इतिहासको ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–७ र ८ को संगमस्थल लसुने डाँडा अहिले केवल प्राकृतिक सौन्दर्यका कारण मात्र परिचित छैन । यहाँ निर्माण गरिएको ‘शहीद धनरूपा स्मृति पार्क’ ले यस क्षेत्रलाई इतिहास, स्मृति र पर्यटनलाई एकै सूत्रमा बाँध्ने नयाँ गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । जहाँ एकातिर माओवादी ‘जनयुद्ध’का क्रममा ज्यान गुमाएका शहीदहरूको योगदानलाई सम्मान गरिएको छ भने अर्काेतर्फ यही स्मृतिलाई पर्यटन विकासको आधार बनाउने प्रयास सुरु भएको छ ।

नेपालको दशक लामो सशस्त्र द्वन्द्वले हजारौं परिवारलाई पीडा दियो । समयसँगै घाउ पुराना भए, तर सम्झनाहरू हराएनन्। ती सम्झनालाई पुस्तान्तरण गर्दै नयाँ पुस्तालाई इतिहाससँग परिचित गराउने उद्देश्यले लसुने डाँडामा शहीदहरूको सम्मानस्वरूप यो स्मृति पार्क निर्माण गरिएको हो । स्मारकहरू केवल ढुंगा र सिमेन्टका संरचना होइनन्स ती कुनै समयको इतिहास, समाजको चेतना र भविष्यका लागि सिकाइका माध्यम पनि हुन ।

सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र लालीगुराँस नगरपालिकाको साझेदारीमा कुल एक करोड १० लाख रुपैयाँ लागतमा पार्क निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएसँगै यस क्षेत्रले नयाँ पहिचान पाएको छ ।

शहीद धनरूपा स्मृति प्रतिष्ठानका सचिव दिपेन्द्र काकीका अनुसार पार्क निर्माणको उद्देश्य शहीदहरूको सम्मान गर्नु मात्र नभई इतिहास संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई सँगसँगै अघि बढाउनु हो ।

पार्कको केन्द्र भागमा द्वन्द्वकालमा राज्य पक्षबाट मारिएका लालीगुराँस नगरपालिकाका धनरूप कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको अर्धकदको शालिक स्थापना गरिएको छ । यी शालिकहरूले केवल छ व्यक्तिको अनुहार मात्र देखाउँदैनन, बरु एउटा समयको संघर्ष, बलिदान र परिवर्तनको इतिहासलाई जीवित राखेका छन्। पार्क पुग्ने प्रत्येक आगन्तुक ती अनुहारसँग केहीबेर मौन संवाद गर्न बाध्य हुन्छ ।

शहीद धनरूपा स्मृति प्रतिष्ठानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरका अनुसार शहीदहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको इतिहास नयाँ पुस्तासम्म प‍ुुर्याउने उद्देश्यले पार्क निर्माण गरिएको हो । भविष्यमा यस क्षेत्रलाई अझ व्यवस्थित शहीद पार्कका रूपमा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने दीर्घकालीन योजना प्रतिष्ठानले अघि सारेको छ ।

लसुने डाँडा आफैंमा प्राकृतिक रूपमा अत्यन्त आकर्षक स्थान हो । यहाँबाट देखिने हरिया पहाड, गुराँसका जंगल, ग्रामीण बस्ती र टाढासम्म फैलिएको हिमाली दृश्यले आगन्तुकलाई सहजै लोभ्याउँछ । वसन्त ऋतुमा गुराँस फुलेपछि यो क्षेत्र झनै मनमोहक देखिन्छ । अब यही प्राकृतिक सौन्दर्यमा इतिहासको आयाम थपिएको छ । प्रकृति र स्मृतिको यो संगमले लसुने डाँडालाई पूर्वी नेपालको नयाँ ऐतिहासिक पर्यटन गन्तव्य बनाउने सम्भावना बलियो देखिएको छ ।

नेपालका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा ऐतिहासिक स्थल, युद्ध संग्रहालय र स्मृति पार्कलाई पर्यटनसँग जोड्ने प्रयास बढिरहेका छन् । यस्ता स्थलहरूले इतिहास संरक्षण मात्र गर्दैनन, नयाँ पुस्तालाई विगत बुझाउने खुला पाठशालाको भूमिका पनि खेल्छन । लसुने डाँडाको शहीद धनरूप स्मृति पार्क पनि यही अवधारणाको एउटा उदाहरण बनेको छ, जहाँ पर्यटकहरूले मनोरम दृश्यसँगै इतिहासलाई पनि नजिकबाट अनुभूति गर्न सक्छन ।

पर्यटनको विकाससँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पार्क अवलोकनका लागि आउने आगन्तुकको संख्या बढ्दै गए स्थानीय होटल, होमस्टे, कृषि उत्पादन, घरेलु उद्योग तथा साना व्यवसायले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

पदमार्ग, सूचना केन्द्र, स्थानीय संस्कृति झल्काउने प्रदर्शनी, विश्रामस्थल तथा होमस्टे जस्ता पूर्वाधार थप विकास गर्न सकिए लसुने डाँडा तेह्रथुम जिल्लाको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने आधार बलियो देखिन्छ ।

   

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?