१८ साउन, स्याङ्जा । जिल्लाको सदरमुकाम नजिकै रहेको प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाह प्रभावित बनेको छ ।
पुतलीबजार नगरपालिका-३ मा रहेको यस अस्पतालमा व्यवस्थापकीय सुधारसँगै नयाँ-नयाँ सेवा विस्तार भए पनि अधिकांश सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेका कारण दीर्घकालीन रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म ओपिडीका बिरामी र ५० भन्दा बढी आकस्मिक बिरामी उपचारका लागि आउने गरेका छन् । मौसम परिवर्तनसँगै विभिन्न रोगका बिरामी बढेपछि ५० शय्याको अस्पतालमा सेवाको मागसमेत उल्लेख्य रूपमा बढेको छ ।
तर, बढ्दो बिरामीको चापअनुसार आवश्यक जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा समस्या भइरहेको अस्पतालको भनाइ छ । अस्पतालमा ६८ जनाको स्थायी दरबन्दी र करारसहित ९० जना कर्मचारीको व्यवस्था रहे पनि हाल स्थायी कर्मचारी भने ११ जना मात्रै कार्यरत छन् । बाँकी ७९ जना करार कर्मचारीको भरमा अस्पताल सञ्चालन भइरहेको छ ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष डिलकुमार भुजेलले स्थायी जनशक्तिको अभाव अस्पतालको सबैभन्दा ठूलो चुनौती बनेको बताए । उनका अनुसार करार कर्मचारी बारम्बार परिवर्तन भइरहने भएकाले सेवामा निरन्तरता र दक्ष जनशक्ति टिकाइराख्न कठिन भइरहेको छ । यसले सेवाको गुणस्तरमा समेत असर पर्ने गरेको उनको भनाइ छ ।
अस्पताल प्रशासनका अनुसार इमर्जेन्सी, ओपिडी, शल्यक्रिया, मातृ तथा प्रसूति सेवा, मिर्गौला डायलासिस, आँखा, दाँत, भिडियो एक्स–रेलगायतका सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् । तर, सेवाको दायरा विस्तार भए पनि त्यसअनुसार स्थायी जनशक्ति व्यवस्थापन हुन नसक्दा कामको चाप बढ्दै गएको छ ।
अस्पताल सदरमुकाम नजिकै भए पनि सहज सडक पहुँचको अभाव र आवश्यक दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारी नहुँदा सेवा विस्तारमा थप समस्या देखिएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश सरकारले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको बताए । उनले प्रदेश अस्पताल स्याङ्जामा देखिएको जनशक्ति अभाव समाधान गर्दै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
पछिल्ला वर्षहरूमा प्रदेश अस्पताल स्याङ्जाले पूर्वाधार, उपकरण र सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको भए पनि स्थायी चिकित्सक र कर्मचारीको अभाव समाधान नगरेसम्म अपेक्षित स्तरको स्वास्थ्य सेवा दिन कठिन हुने देखिएको छ ।
त्यसैले अस्पतालको दीर्घकालीन सुधार र सेवा गुणस्तर अभिवृद्धिका लागि आवश्यक दरबन्दी पूर्ति र स्थायी जनशक्ति व्यवस्थापनमा सरकारले समयमै ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
प्रतिक्रिया 4