+
+
Shares

निगम भन्छ- ग्यास छ, बजारमा नागरिकलाई सास्ती छ (फोटोसहित)

विभिन्न कम्पनीका सिलिन्डर लिएर पुगेका उपभोक्ता हिलो, घाम र वर्षाको पर्वाह नगरी लाइनमा छन् । लामो समय पालो कुर्नुपर्दा कतिपय उपभोक्ता सिलिन्डरमै बसेर थकान मेटाइरहेका छन् । अझै ग्यास पाउने टुंगो छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले ग्यास पर्याप्त रहेको दाबी गरे पनि काठमाडौंका बजारमा सर्वसाधारणले सिलिन्डर पाउन नसकी सास्ती खेपिरहेका छन् ।
  • टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालयमा बिहानदेखि खाली सिलिन्डरसहित उपभोक्ताहरूको लामो लाइन लागेको छ ।
  • उपभोक्ताहरूले ग्यास वितरण प्रणालीमा सुधार गरी नजिकैको डिलरबाट सहज रूपमा ग्यास पाउने वातावरण मिलाउन निगमसमक्ष माग गरेका छन् ।

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दाबी गरिरहँदा काठमाडौंको बजारमा भने सर्वसाधारणा ग्यास नपाएर समस्यामा परेका छन् ।

टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाली सिलिन्डरसहित ठूलो संख्यामा उपभोक्ता पालो कुरिरहेका छन्। कसैले सिलिन्डर हात र काँधमा बोकेर ल्याएका छन् भने कतिपय मोटरसाइकलमा राखेर टेकु पुगेका छन्।

सुगम, नेपाल, एभरेस्ट, राजधानी र त्रिवेणीलगायत विभिन्न कम्पनीका सिलिन्डर लिएर पुगेका उपभोक्ता हिलो, घाम र वर्षाको पर्वाह नगरी लाइनमा उभिएका देखिन्छन्। लामो समय पालो कुर्नुपर्दा कतिपय उपभोक्ता सिलिन्डरमै बसेर थकान मेटाइरहेका छन्।

निगमले भने देशभरि, विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति सहज रहेको बताउँदै आएको छ। निगमका अधिकारीहरूका अनुसार उद्योगीलाई नियमित परिमाणमा ग्यास उपलब्ध गराइएको छ भने भारतबाट ग्यास बोकेका बुलेट पनि निर्बाध भित्रिरहेका छन्।

आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने उपभोक्ताको प्रवृत्ति र केही स्थानीय डिलरले सिर्जना गरेको कृत्रिम अभावका कारण समस्या देखिएको निगमको दाबी छ। तर खुद्रा विक्रेताकहाँ ग्यास नपाएपछि खाली सिलिन्डर बोकेर टेकु पुगेका उपभोक्ता निगमको दाबी र बजारको वास्तविकताबीच ठूलो अन्तर रहेको बताउँछन्।

‘निगमसँग पर्याप्त ग्यास छ भने बजारमा किन पाइँदैन?,’ उनीहरूको प्रश्न छ। उपभोक्ताले ग्यास वितरण प्रणाली र बजार अनुगमन कमजोर भएको भन्दै नेपाल आयल निगम तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति आक्रोश समेत व्यक्त गरेका छन्।

नेसनल ट्रेडिङको टेकु शाखाले बिहान ११ देखि बेलुका ५ बजेसम्म मात्रै ग्यास बिक्री गर्ने व्यवस्था गरेको छ। सीमित समयका कारण धेरै उपभोक्ता एकैपटक एउटै स्थानमा पुग्दा भिड र लाइन थप बढेको उनीहरूको गुनासो छ।

उपभोक्ताले बिक्री समय बढाउन तथा टोकन वा अनलाइन दर्ताको व्यवस्था गर्न माग गरेका छन्। अहिलेको भौतिक लाइनले विशेषगरी वृद्धवृद्धा, महिला र अपाङ्गता भएका व्यक्तिलाई बढी सास्ती दिएको उनीहरूको भनाइ छ।

उपभोक्ता अधिकारकर्मीहरूले निगम र वाणिज्य विभागले काठमाडौंका डिलरमा ग्यासको उपलब्धता तथा सम्भावित कालोबजारीबारे प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन्।

विज्ञप्ति जारी गरेर ‘ग्यास पर्याप्त छ’ भन्नुभन्दा उपभोक्ताले नजिकको डिलरबाट सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरूको सुझाव छ।

तस्वीरहरू : अनुप प्रधान/न्युज एजेन्सी नेपाल

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?