+
+
Shares

हिरोसिमाको सन्देश : द्वन्द्वका स्मृतिलाई प्रतिशोध होइन, मेलमिलापको आधार बनाऔं

 नेपालले पनि आफ्ना द्वन्द्वका स्मृतिलाई विभाजनको प्रतीक होइन, शान्तिका पाठशालामा रूपान्तरण गर्न सके त्यही हिरोसिमाप्रतिको सबैभन्दा सार्थक सम्मान हुनेछ।

 बलबहादुर घर्तीमगर  बलबहादुर घर्तीमगर
२०८३ साउन २१ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको हिरोसिमामा सन् १९४५ अगस्ट ६ मा भएको आणविक बम विस्फोटको सम्झनामा आज विश्वभर हिरोसिमा दिवस मनाइँदै छ।
  • हिरोसिमा शान्ति स्मृति सङ्ग्रहालयले युद्धको विनाशलाई साक्षीका रूपमा सुरक्षित राखी नयाँ पुस्तालाई शान्तिको शिक्षा दिने जीवित पाठशालाको काम गरेको छ।
  • नेपालले पनि विगतको सशस्त्र द्वन्द्वका पीडालाई राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा स्मृतिका रूपमा अभिलेखीकरण गर्दै शान्ति स्थापनामा जोड दिनुपर्छ।

आज बिहान ८ बजेर १५ मिनेट पुग्दा केही क्षणका लागि हिरोसिमामा समय रोकिएझैँ हुन्छ। सहर मौन हुन्छ र हजारौँ मानिस शान्तिपूर्वक श्रद्धाञ्जली अर्पण गर्छन्। जापानीहरू मात्र होइन, संसारभरका मानिसहरूले आज ‘हिरोसिमा दिवस’ मनाउँछन्।

नेपालमा पनि सन् २०२३ देखि हिरोसिमा युनिभर्सिटी अल्मुनाइ एसोसिएसनको अग्रसरतामा काठमाडौँमा हिरोसिमा दिवस मनाउने गरिन्छ।

सन् १९४५ अगस्ट ६ आजकै दिन जापानको हिरोसिमाको आकाशमा एउटा आणविक बम विस्फोट भयो। ‘लिटल ब्वाइ’ नामक आणविक बमले केही क्षणमै एउटा जीवन्त सहर खरानी भयो। अनुमानित ८० हजार मानिसको तत्काल ज्यान गयो। असङ्ख्य परिवारको जीवन सधैँका लागि बदलियो ।

तर त्यही विन्दुमा अन्त्य भएन हिरोसिमाको कथा । यसले खरानीबाट उठ्ने प्रण गर्‍यो र उठ्यो पनि । आज पनि यो सहरले संसारलाई एउटा महत्त्वपूर्ण प्रश्न सोधिरहेको छ- ‘युद्धले जितेको के थियो ?’

खरानीबाट बौरिएको समृद्ध हिरोसिमा सहरको बीचमा एउटा स्मृतिस्थल छ। यसलाई जापानीहरूले ‘हिरोसिमा शान्ति स्मृति उद्यान’ नाम दिएका छन्। यो उद्यानमा विशेषगरी हिरोसिमा शान्ति स्मृति सङ्ग्रहालय, बम डोम, अखण्ड दीप, बाल शान्ति स्मारकलगायत प्रमुख आकर्षण छन्। उद्यानको प्रमुख आकर्षणमध्ये शान्ति स्मृति सङ्ग्रहालय एक हो।

सङ्ग्रहालयमा बम विस्फोट भएको क्षण जलेका वस्तु, मानिसका व्यक्तिगत सामान, तस्बिरहरू, दस्ताबेज, बम विस्फोट हुँदाको भिडियो एनिमेसन र पीडाका कथाहरू सङ्ग्रहित छन्। सङ्ग्रहालय भ्रमण गरेका आगन्तुकहरूका लागि आगन्तुक पुस्तिका राखिएको छ। यस पुस्तकमा आगन्तुकहरूले आफ्ना अनुभूति लेख्ने गर्दछन्।

सन् २०२५ मा २५ लाख ८० हजार ९ सय २६ मानिसहरूले यो स्मृति सङ्ग्रहालयको भ्रमण गरेको सङ्ग्रहालयको वार्षिक प्रतिवेदनमा प्रकाशित छ। सङ्ग्रहालय व्यवस्थापन व्यवस्थित, अनुशासित र प्रभावकारी छ। प्रौढलाई दुई सय येन, वृद्ध र हाई स्कुल विद्यार्थीलाई एक सय येन र १५ वर्षमुनिका बालबालिका तथा जुनियर हाई स्कुलका विद्यार्थीहरूलाई निःशुल्क रूपमा प्रवेश पाउने व्यवस्था छ। उद्यानमा राखिएका अन्य वस्तु भने निःशुल्क रूपमा जोसुकैले अवलोकन गर्न पाउँछन्।

सङ्ग्रहालयभित्र विस्फोटका क्रममा बचेका वस्तु, तस्बिर र कथाहरू अवलोकन गरिरहँदा अवलोकनकर्ताहरू भावुक हुन्छन्। भयानक विस्फोटमा समेत बाँचेका थोरैमध्येबाट ‘हिबाकुशा’ ले आगन्तुकहरूलाई आफ्नो कथा सुनाउँछन्। सङ्ग्रहालय भ्रमणपछि कतिपय आगन्तुकहरू लबीमा आँसु पुछ्दै लामो समय मौन बसेका भेटिन्छन्। आगन्तुकहरूको अनुहारमा शान्तिको मूल्य कति अमूल्य हुँदो रहेछ, प्रस्ट झल्किन्छ।

बम विस्फोटमा बचेको औद्योगिक प्रवर्द्धन केन्द्रको भवनलाई सुरक्षित राखिएको छ। यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा समेत समावेश गरेको छ। यो संरचना अवलोकन गरिरहँदा आजभन्दा ८१ वर्षअघिको जापानी पूर्वाधार प्रविधि प्रस्ट झल्किन्छ।

यो उद्यानमा एउटा बाल शान्ति स्मारक छ। यो स्मारक १२ वर्षीया सादाको सासाकी नामकी एक बालिकाको आशाको प्रतीक हो। उनी विस्फोटकी घाइते थिइन् र उनलाई विकिरणका कारण ल्युकेमिया भएको थियो। उनले आफू निको हुनका लागि सेतो कागजको पेपरबाट एक हजार कागजी सारस चरा बनाइन्। उनले बनाएका कागजका सारस पनि सङ्ग्रहालयमा राखिएका छन्। आगन्तुकहरूले सारसका रङ्गीन पेपरका गुच्छाहरू सो स्मारकमा भावपूर्वक चढाउने गर्दछन्।

हिरोसिमाले युद्धका अवशेषहरूलाई इतिहासको असहज अध्याय भन्दै लुकाएको छैन। आणविक बमबाट ध्वस्त भएका वस्तु, भवनका अवशेष, व्यक्तिगत सामान, तस्बिर र दस्ताबेजहरू आज पनि सुरक्षित राखिएका छन्। तर ती अवशेषहरूलाई युद्धको विजय, सैन्य शक्ति वा राष्ट्रिय गौरवको प्रतीकका रूपमा प्रस्तुत गरिएको छैन।

बरु, तिनलाई युद्धले मानिसको जीवन, परिवार, समाज र मानव सभ्यतामाथि पार्ने विनाशको साक्षीका रूपमा सुरक्षित राखिएको छ। त्यसैले हिरोसिमाको सङ्ग्रहालय विगत हेर्ने ठाउँ मात्र होइन, बरु युद्धको मानवीय मूल्य बुझ्ने र शान्तिको आवश्यकता महसुस गराउने एउटा जीवित पाठशाला बनेको छ।

एउटा सभ्य समाजले इतिहासका असहज र पीडादायी पानाहरू मेटाउँदैन, बरु तिनलाई सुरक्षित राखेर नयाँ पुस्तासँग संवाद गर्छ। त्यस्ता स्मृतिले बालबालिका र युवालाई ‘केवल के भयो ?’ भन्ने प्रश्नको उत्तर दिँदैन; युद्ध किन भयो र त्यसबाट कसले कस्तो पीडा भोग्यो भन्ने कुरा बताउँछ। बालबालिका र युवाहरूलाई फेरि भविष्यमा त्यस्तो हुन नदिन हामीले के गर्नुपर्छ भन्ने प्रश्न गर्न प्रेरित गर्दछ।

हिरोसिमामा बालबालिकालाई युद्धको कथा मात्र पढाइँदैन। उनीहरूलाई युद्धले मानव जीवनमा पारेको असर बुझाउँदै युद्धपछि कस्तो संसार निर्माण गर्ने भन्ने प्रश्न पनि सोधिन्छ। इतिहास उनीहरूका लागि विगतको एउटा घटना मात्र होइन। इतिहास भविष्य निर्माण गर्ने आधार हो।

त्यसैले युद्धका पीडा, आणविक विनाश र त्यसबाट बचेका मानिसका अनुभवलाई सुन्नुको उद्देश्य नयाँ पुस्तामा डर वा घृणा पैदा गर्नु होइन। यसबाट मानव जीवनको मूल्य, शान्तिको आवश्यकता र हिंसा दोहोरिन नदिन आफ्नो जिम्मेवारीबोध विकास गर्नु रहेको छ।

स्मृति आफ्नो पक्षको वीरता, विजय र पराजित पक्षप्रतिको निन्दामा मात्र सीमित भयो भने त्यसले पुरानो विभाजन र वैमनस्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने खतरा रहन्छ। यदि स्मृतिलाई प्रतिशोधको साधनभन्दा सिकाइको माध्यमका रूपमा प्रस्तुत गरियो भने तिनले समाजलाई मेलमिलाप र शान्तितर्फ डोर्‍याउन सक्छन्।

आउँदा पुस्तालाई संवाद र मेलमिलापको आवश्यकता महसुस गर्न तथा भविष्यमा हिंसा रोक्ने जिम्मेवारी लिन सिकाउन सकिने रहेछ। यस दृष्टिले स्मृति सङ्ग्रहालयहरू आफैँमा शान्तिको शिक्षा बन्दा रहेछन्। हिरोसिमाको सबैभन्दा महत्त्वपूर्ण सन्देश यही हो।

नेपालले हिरोसिमाबाट सिक्न सक्ने पाठ

नेपालले पनि सशस्त्र द्वन्द्व र त्यसबाट थुप्रै मानवीय पीडा भोगेको छ। युद्धका घाउहरू अझै बाँकी छन्। यी घटनालाई असहज लाग्छ भनेर इतिहासबाट हटाउनु हुँदैन। बरु तिनको तथ्यपरक दस्तावेजीकरण, अभिलेखीकरण र संरक्षण आवश्यक छ। इतिहासलाई बिर्सनु समस्याको समाधान होइन। तिनलाई सही रूपमा सम्झनु र भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिनु बुद्धिमानी हो।

स्मारक र स्मृतिस्थल कुनै राजनीतिक पक्षको विजय, शक्ति वा गौरव प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन। तिनले मानव जीवनको मूल्य र हिंसाको परिणाम सम्झाउने काम गर्नुपर्छ। हिरोसिमाले झैँ स्मृतिलाई राजनीतिक विजयको कथाबाट मानवीय संवेदनाको कथामा रूपान्तरण गर्नु नेपालका लागि पनि महत्त्वपूर्ण पाठ हुन सक्छ।

नेपालले शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्वको अन्त्य त गर्‍यो, तर दिगो शान्ति युद्ध रोकिनुले मात्र स्थापित हुँदैन। त्यसका लागि सत्यको खोजी, पीडितको सम्मान, न्यायको अनुभूति र समाजको साझा स्मृतिको निर्माण पनि उत्तिकै आवश्यक हुन्छ। यही उद्देश्यका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी संयन्त्र स्थापना गरिएका हुन्। तिनको मूल भावना विगतका घटनालाई राजनीतिक बहसको विषय मात्र बनाउनु होइन; सत्यको अभिलेखीकरण गर्दै पीडितको आवाजलाई इतिहासमा स्थान दिनु र भविष्यमा त्यस्ता घटना नदोहोरिने आधार तयार गर्नु हो।

नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाले पनि यही दृष्टि अपनाउन सके मात्र त्यसले दीर्घकालीन अर्थ पाउँछ। द्वन्द्वका पीडितका अनुभव, बेपत्ता परिवारको प्रतीक्षा, विस्थापित समुदायका स्मरण र हिंसाबाट प्रभावित सर्वसाधारणका कथाहरू कुनै एक पक्षको राजनीतिक सम्पत्ति होइनन्; ती राष्ट्रको साझा स्मृति हुन्।

जब यस्ता अनुभवलाई सम्मानपूर्वक अभिलेखीकरण गरिन्छ, सङ्ग्रहालय, अभिलेख, मौखिक इतिहास र सार्वजनिक शिक्षामार्फत नयाँ पुस्तासम्म पुर्‍याइन्छ, तब स्मृति विभाजनको कारण होइन, सामाजिक मेलमिलापको आधार बन्न सक्छ।

त्यसैले नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रिया समाजले विगतसँग कसरी संवाद गर्‍यो र पीडितको अनुभवलाई कति सम्मानपूर्वक सार्वजनिक स्मृतिमा स्थान दियो ? नयाँ पुस्तालाई हिंसाभन्दा संवाद, प्रतिशोधभन्दा मेलमिलाप तथा विजयी–पराजितको भाषाभन्दा मानव जीवनको मूल्य सिकाउन कति सफल भयो भन्ने आधारमा पनि मूल्याङ्कन हुनुपर्छ।

हिरोसिमाले देखाएको बाटो यही हो- इतिहासलाई लुकाउने होइन, जिम्मेवारीपूर्वक सम्झने र स्मृतिलाई विगतको बोझ होइन, भविष्यको शान्तिको आधार बनाउनु सही हुन्छ।

हिरोसिमाले संसारलाई एउटा गहिरो सत्य सिकाएको छ। त्यो हो- विगतलाई मेटाएर शान्ति निर्माण हुँदैन। पीडालाई स्वीकारेर, सत्यलाई अभिलेखमा सुरक्षित राखेर र नयाँ पुस्तालाई त्यसबाट सिकाएर मात्र दिगो शान्तिको जग बस्छ। नेपालले पनि आफ्ना द्वन्द्वका स्मृतिलाई विभाजनको प्रतीक होइन, शान्तिका पाठशालामा रूपान्तरण गर्न सके त्यही हिरोसिमाप्रतिको सबैभन्दा सार्थक सम्मान हुनेछ।

(लेखक हिरोसिमा युनिभर्सिटीका अल्मुनाइ हुन्।)

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?