यतिबेला वाम एकता र सहकार्यको सन्दर्भ फेरि एकपटक बहसमा आएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बीच प्रदेश सरकारहरू गठनका सवालमा भएको सहमतिपछि नेपाली राजनीतिमा वाम एकताको ‘डिस्कोर्स’ सुरु भएको हो ।
नेकपा–एमाले सहकार्यलाई कम्युनिस्ट आन्दोलनको जुनकिरी बत्तीजस्तै ठानिएको छ । यतिले मात्र पनि वाम कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतामा नयाँ उत्साहको रक्तसञ्चार भएको छ । र, धेरैमा यो जुनकिरीको बत्ती सूर्यको झल्झलाउँदो उज्यालोमा परिणत हुने विश्वास जागृत भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको २०८३ वैशाखमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ‘राष्ट्रियता र नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै न्याय, सुशासन र समृद्धिमार्फत समाजवादउन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने’ विशेष प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव वर्तमान सहमतिको आधारशीला बन्न पुगेको छ ।
कुनैबेला ‘स्वर्ग–नर्क सँगै जाने’ बाचाकसम भत्किएपछि एकआपसमा ‘धोकेबाज’को प्रत्यारोपमा ओर्लिएका नेताहरूले फेरि नयाँ यात्राको हात मिलाएका छन् । यस सहकार्यलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने कतिपयले दुई नेताको स्वार्थको गठबन्धन अर्थ्याएका छन् । जसले जे अर्थ लगाए पनि लामो समयदेखि निसास्सिएको कम्युनिस्ट आन्दोलनका लागि ‘आइसब्रेक’ भएको छ र यसले निराशालाई चिरेर आशाको किरण सञ्चारित गरेको छ ।
इतिहास साक्षी छ, कम्युनिस्ट आन्दोलन एकताबद्ध हुँदा राष्ट्रियता र लोकतान्त्रिक आन्दोलन सफल भएका छन् । आन्दोलन कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका आन्दोलनहरूले सफलता चुम्न सकेका छैनन् ।
दोस्रो संविधानसभाको समयमा संविधान जारी गर्न नदिने र देशलाई अराजकताको भुमरीमा फसाउने देशी–विदेशी शक्तिहरूको षड्यन्त्र थियो । त्यसबेला जनता हामीसँग थिए, संसद्मा वामपन्थीहरूको वर्चस्व थियो, प्रमुख राजनीतिक दलहरूमा एकता थियो ।
त्यसैले बाह्य शक्तिको हस्तक्षेप असफल भयो, नेपाल कसैको प्रयोगशाला वा खेलमैदान हुनबाट बच्यो र चुनौतीबीच संविधान जारी भयो । आन्दोलन विभाजित र टुटफुट हुँदा स्वयं कम्युनिस्ट आन्दोलनले ज्यादै तीता असफलताहरू बेहोरेको छ । एकताबद्ध भएको कालखण्डमा कम्युनिस्टहरूले धेरै ठूला सफलता प्राप्त गरे । यो धरातलीय यथार्थलाई ध्यानमा राखेर एकताको उदघोष गर्नु समयको माग हो ।
नेपाल वामपन्थीहरूको लागि मलिलो भूमि हो । हिजो कम्युनिस्ट नेता–कार्यकर्ताहरूले अनेकौँ कठिनाइका बाबजुद जनताको बीचमा संगठन गरे । जनताको घरमा ‘सेल्टर’ लिएर बसे, जनतासँग सम्बन्ध बनाए, मितेरी गाँसे, जनतालाई माया गरे । आफ्नो स्वास्थ्य, घरपरिवारको बेवास्ता गरेर जनसेवामा समर्पित भए ।
पार्टीले जनताका समस्या र मुद्दाहरूमा आवाज उठायो, आन्दोलन गर्यो, जनअधिकारको लागि लड्ने क्रममा कति नेता–कार्यकर्ताहरूले जीवन उत्सर्ग गरे, कति घाइते अपांग भए । तब नै जनताले कम्युनिस्ट पार्टी र नेता–कार्यकर्तालाई माया गरे; गाँस, बास र साथ दिए । माछा–पानीजस्तो कम्युनिस्ट र जनताबीचको सम्बन्धलाई यही विश्वासको डोरीले कसिलो गरी बाँधेको थियो ।
हिजो संसारभरि कम्युनिस्ट आन्दोलनले धक्का खाएको बेला पनि नेपालमा कम्युनिस्ट पार्टीको झन्डा झुकेन । जननेता मदन भण्डारीले ‘कार्ल मार्क्स नेपालमा जीवित छन्’ भनेर शंखघोष गरे । कम्युनिस्ट पार्टीलाई ‘खोपीको देउता’जस्तो जनताबाट अलगथलग राख्ने होइन, जनताको बीचमा प्रतिस्पर्धा र पहलकदमीबाट श्रेष्ठता हासिल गर्ने नीतिअनुसार अघि बढ्दा कम्युनिस्ट पार्टी संसदीय निर्वाचनमा समेत जनअनुमोदित भयो ।
सोभियत संघलगायत कम्युनिस्ट सत्ताहरू ढलिरहेको बेलामा नेपालमा कम्युनिस्टहरू विजय र सफलताको शिखर चढ्दै थिए । मदनको नेतृत्वमा एमालेको पाँचौँ महाधिवेशनमा ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौँ, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं’ भन्ने मूल नारा अघि सारियो ।
उहाँकै अगुवाइमा नेपालको विशिष्टतामा सिर्जनात्मक रूपमा मार्क्सवादको कार्यान्वयन गर्दै कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण गर्ने राजनीतिक कार्यदिशा अघि सारेपछि नेपालमा कम्युनिस्ट आन्दोलनले नयाँ जीवन प्राप्त गर्यो, लोकप्रियताको ‘ग्राफ’ पनि बढ्यो ।
विश्व कम्युनिस्ट आन्दोलनमा शीतलहर चलिरहँदा सगरमाथाको चुचुरोमा हँसिया–हथौडा झन्डा फहराउन सफल नेपाली कम्युनिस्टहरू पछिल्लो समय आफ्नो विरासत जोगाउन नसकेर किन यति रक्षात्मक अवस्थामा पुगे ? कम्युनिस्ट पार्टीहरू ‘सुकेनास’ लागेको अवस्थामा कसरी पुगे ? हिजो साठी प्रतिशत जनमत प्राप्त गरेको वाम शक्ति आज राष्ट्रिय राजनीतिको मूल प्रवाहबाट बाहिरिएको छ ।
संविधान जारी भएपछि २०७४ को निर्वाचनमा २७५ सिटमध्ये एमाले–माओवादी सहकार्यबाट १७७ सिट (६४.३६ प्रतिशत) अर्थात् करिब दुई तिहाइ प्राप्त भयो । नेपालको राजनीतिक इतिहासमा कम्युनिस्टहरूको यो ऐतिहासिक विजय थियो । चुनावपछि पार्टी एकता भई नेकपा इतिहासकै ठूलो कम्युनिस्ट पार्टी र देशकै सबैभन्दा ठूलो राजनीतिक दल बन्यो । त्यतिबेला सरकारले राम्रो काम गर्न नसकेको र आफ्नै पार्टीको दुई तिहाइ बहुमत भएको संसद् विघटन गर्ने धुन्धुकारी कर्मको कारण प्राप्त जनमत कायम रहन सकेन भने आन्तरिक कलहले पार्टी नै विभाजन हुन पुगेको तीतो इतिहास छ ।
२०४८ देखि ‘राइजिङ’ अवस्थामा रहेका, २०७४ मा दुई तिहाइ बहुमतसहित सरकारमा पुगेका कम्युनिस्टहरू आज १५ प्रतिशत जनमतसहित ४२ सिटमा खुम्चिनु परेको छ । यो परिणाम अवश्य पनि निकै पीडादायक छ ।
पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा मात्र पनि सहकार्य गरेको भए, रास्वपाको सुनामीका बाबजुद संसद्मा दोब्बरभन्दा बढी सिट जित्न सकिन्थ्यो । यसबाट रास्वपा दुई तिहाइको चुलीबाट धेरै तल झर्थ्यो भने संसद्मा कम्युनिस्ट पार्टीको उपस्थिति सशक्त हुन्थ्यो ।
हिजो कम्युनिस्टहरू सत्तामा गएर देशको लागि केही गरेनन् भन्ने भाष्य गलत छ । मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमतको सरकारले गरेका समाजवादी मोडेलका जनमुखी कामहरू अविस्मरणीय छन् ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’, सामाजिक सुरक्षालगायत कार्यक्रमहरू जनताको दिल–दिमागमा आज पनि ताजै छन् । माधव नेपालको पालामा भौतिक पूर्वाधारमा देशले छलाङ मारेको छ, प्रचण्ड नेतृत्वको सरकारले जनतालाई सुशासन र राहत दिने उदाहरणीय काम गरेको थियो ।
वामपन्थी सरकारमा जाँदा पूर्वाधार, सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायमा नमुना काम भएका छन्। तर विडम्बना त्यसमा वर्ग जोडिएन । समाजमा वर्गहरू छन् र वर्गसङ्घर्ष पनि छ भन्ने कुरामा हेक्का रहेन । विदेश गएका श्रमिकहरूले आफूलाई श्रमजीवी ठानेनन् र उनीहरूलाई कम्युनिस्ट पार्टी हाम्रो पार्टी हो भन्ने अनुभूति नै गराउन सकिएन ।
उनीहरू बुर्जुवा पपुलिस्टहरूको पछाडि लागे र वाम राजनीतिलाई क्षति पुग्यो । श्रमिक जनताको पार्टीबाट आधारभूत वर्ग किन टाढियो, वर्ग पक्षधरता किन कमजोर भयो भन्ने प्रश्नको हल खोज्दै पार्टीलाई वर्गसँग जोड्नु र आन्दोलनमा जीवन्तता ल्याउनु आवश्यक छ ।
सत्तामा गएर जति जनपक्षीय र राम्रा काम गर्न सकिन्थ्यो त्यति भएनन् । भूमिहीन सुकुम्वासी, कमैया–कमलरी, हलियालगायत श्रमिक वर्ग, मिटरब्याजीलगायत पीडितका समस्या पूर्ण रूपमा समाधान गर्नमा चुक भयो ।
भ्रष्टाचार नियन्त्रण र सुशासनमा सोचेजस्तो परिणाम निकाल्न सकिएन । कम्युनिस्टले सत्ताको फोहोरी आहालमा पौडी खेले, पवित्र–अपवित्र सत्ता गठबन्धनमा रमाए, सरकार बनाउने–गिराउने धन्दामा लागे, पद र सुविधामा भुले आदि आरोप खेप्नु पर्यो ।
नेताहरूले जनताको दिलको कुरा बुझ्न सकेनन् । आफू उठेको भुइँ छोडे । जनताको मनको सत्ताभन्दा सिंहदरबारको सत्ता नै सबथोक जस्तो ठाने । सरकारमा हुँदा भए–गरेका राम्रा कामहरूको पनि मार्केटिङ र प्रचार भएन ।
जनताका लागि भविष्यका सपना देखाउन, सपना कोर्न र आफ्ना एजेन्डामा आकर्षित गर्न पनि सकिएन । खासमा जनताका एजेन्डाहरू सटिक ढंगले सम्बोधन गर्न, पार्टीको नीतिअनुसार प्रगतिशील सुधार एवं समाजवादका आधार निर्माणका काम गर्न सकिएन । पुन: जनताको मन जित्नको लागि यस्ता विषयहरूको गहिरो चिरफार गरेर यथार्थपरक निचोडसहित अघि बढ्नु जरुरी हुन्छ ।
यतिबेला बालेन्द्र शाह नेतृत्वको सरकारले अवलम्बन गरेको दिशा अधिनायकवादी र स्वेच्छाचारी शासनतर्फ उन्मुख छ । सुशासनका जतिसुकै गीत गाए पनि आज देशमा कुशासन, भ्रष्टाचार, महँगी, अराजकता तथा मल, ग्यास आदिको अभावमा जनताले सास्ती भोग्नु परिरहेको छ ।
अर्कोतिर सरकारबाट प्रतिगमनको ‘एक्सप्रेस गाडी’ दौडाउने काम भइरहेको छ । भदौ २४ को घटना वा त्यसअघि राजावादी दरबारियाहरूको तिनकुने वितण्डाको कुरा गरौँ, यी सबै प्रतिगमनका शृंखलाहरू नै हुन् ।
यतिबेला तराई–मधेशमा साम्प्रदायिक भावना भड्काएर आगो झोस्ने प्रयास गरिएको छ । टिओबी, सम्राट सेना वा जातीयताको ‘अफिम’ खुवाएर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र जातीय–धार्मिक सद्भावविरुद्ध जनमत भड्काउने अनेकौँ प्रयासहरू भइरहेका छन् ।
एकातिर सत्ता फासिस्ट बन्दैछ भने सडक अराजक बन्दैछ । यी सबै प्रतिगमन र पश्चगमनका दुष्चक्रहरू नै हुन् । आज लोकप्रियतावादी र अराजकतावादीहरूका कारण राष्ट्र, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलन संकट र दुर्घटनाको डिलमा छ ।
राष्ट्रिय एकता, जातीय र धार्मिक सद्भावविरोधी हर्कतहरूलाई पराजित गर्न र राष्ट्रिय एकता बलियो बनाउन वामपन्थीहरू तथा वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य अनिवार्य छ ।
बलियो वाम एकता
कोही पनि भ्रममा पर्नु हुँदैन कि तीनबुँदे सहमति पार्टी एकता होइन, कार्यगत एकतासम्बन्धी समझदारी हो । यो दुई ठूला कम्युनिस्ट पार्टीबीचको सहकार्यको प्रस्थानबिन्दु हो । भोलि प्रदेश र स्थानीय निर्वाचनमा चुनावी तालमेल हुन सक्छ । यो सहकार्य परिपक्व र विश्वासिलो बन्दै जाँदा पार्टी एकतासम्म पुग्न सकिएला ।
हिजोका तीता अनुभवहरूबाट पाठ सिक्ने र दीर्घकालीन रूपमा सँगसँगै जाने संकल्प गर्ने हो भने समझदारी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्दछ । तब नै समझदारी पार्टी एकताको जग बन्न सक्छ ।
कम्युनिस्ट पार्टीहरूले आगामी यात्रा तय गरिरहँदा विगततिर फर्केर हिजो हामी कहाँ चुक्यौँ, को–कोबाट गल्ती कमजोरी भए ? हिजोको एकता कसरी भत्कियो ? यी प्रश्नहरूको निरूपण गर्दै एकताको हात बढाउनुपर्दछ ।
वाम नेताहरूमा मिल्दा अँगालो हाल्ने, नमिल्दा एकले अर्कालाई शत्रु करार गरेर घृणाको राजनीति गर्ने हिजोदेखिको खराब प्रवृत्ति छ । आज नेताका टाउका र स्वार्थ जोडेर वाम एकता हुँदैन, कार्यकर्ताका मन र भावना जोड्नु जरुरी छ ।
पुष्पलालले भनेझैँ ‘कम्युनिस्ट पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुन्छ ।’ त्यसैले अब नेताकेन्द्रित होइन, नीतिकेन्द्रित एकता आवश्यक छ । हतारमा निर्णय गर्ने फुर्सदमा पछुताउने नियति दोहोरिनु हुँदैन । हिजोका दम्भ, घमन्ड र इगोहरू बागमतीमा बगाएर, स्वच्छ मनले गरेको एकता मात्र पवित्र र दिगो हुन्छ ।
विगतको निर्मम समीक्षा र गल्ती कमजोरीहरू सच्याउने संकल्पसहित कच्चा धरातलमा होइन, व्यापक राजनीतिक–वैचारिक छलफलपश्चात् नभत्किने गरी नयाँ सिराबाट नीतिनिष्ठ एकता गर्नुपर्दछ ।
भविष्यको ‘रोडम्याप’
जनताका मन छुने एजेन्डाहरू ठोसरूपमा निर्धारण गरेर तिनको स्वामित्व लिनुपर्दछ । भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, बेरोजगारीको अन्त्य र देशभित्रै रोजगारीको अवसर, जनतालाई सहज सेवाप्रवाह (डेलिभरी), सामाजिक विकृतिविरुद्ध सामाजिक न्याय, आर्थिक समृद्धि, रूपान्तरण तथा समाजवादका एजेन्डा सटिक ढंगले पहिचान गरेर मुलुकका समस्या समाधानको ठोस मार्गचित्र (रोडम्याप) अगाडि सार्नुपर्दछ ।
भूमिहीन सुकुम्वासी, मिटरब्याज पीडितलगायत श्रमिक जनताका मुद्दाहरू खरो ढंगले उठाउनुपर्दछ । शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयताको सबलीकरणलगायत संविधान संशोधनका एजेन्डाहरूमा पनि ठोस प्रस्ताव तयार गरेर त्यसको पक्षमा जनमत सिर्जना गर्नुपर्दछ ।
जनतालाई आकर्षण गर्न र कार्यकर्तालाई आत्मनिर्भर बनाउन श्रम संस्कृति र उत्पादन अभियानलाई महत्त्वका साथ कार्यान्वयन गर्नुपर्दछ । नेकपा विभाजनपछि जनतासँगको टुटेको सम्बन्धलाई जोड्नु जरुरी छ । जनताले बुझ्ने नीति कार्यक्रम अघि सार्नुपर्दछ । नयाँ–नयाँ सूचना प्रविधि र एआईको भाषामा नवयुवा र युवालाई अपिल गर्न सक्नुपर्दछ ।
जनताले विश्वास गरेको, बलियो जनाधार भएको, क्रान्तिकारी पार्टीले मात्र समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न सक्छ । हो, यही उद्देश्य पूरा गर्ने गरी पार्टी पुनर्गठनको खाका तयार हुनुपर्यो । अब साँच्चिकै कम्युनिस्ट पार्टीको शुद्धीकरण गरेर फोहोर–मैला सफा गर्नुपर्ने छ र पार्टीमा ‘सर्भिसिङ’को आवश्यकता छ ।
पार्टीका विचार, नीति र सिद्धान्तमा खिया लागेको छ भने ‘सान’ लगाएर त्यसलाई स्पातिलो बनाउनुपर्दछ । पार्टीमा नीति, विधि, संगठन, नेतृत्व, सोच, कार्यशैलीमा समग्र पुनर्गठन गर्नुपर्छ ।
समग्र पुनर्गठनको अर्थ शुद्धीकरण, सुदृढीकरण, नवीकरण, रूपान्तरण र पुनर्जागरण हो। तब नै कम्युनिस्ट पार्टीले नवजीवन पाउनेछ । जब वाम राजनीतिमा नवयुवाको सहभागिता हुँदैन, क्रान्तिको ‘फ्रन्टलाइन’मा उभिने युवा हामीसँग आकर्षित हुँदैनन्, हाम्रो अपिल र कार्यशैलीले आकर्षण दिन सक्दैन ।
हिजो आमसभाका भरमा संगठन गरेजस्तो होइन, सूचना प्रविधि र ज्ञानका क्षेत्रमा भएको विकासले छिटो प्रभावित हुने युवालाई आकर्षित गर्ने योजना ल्याउनुपर्दछ । आजको कार्यशैलीबाट संगठन बन्दैन, योजना र एजेन्डाले मात्र आजको पार्टी बनाउन सकिन्छ । इतिहासको गौरवगाथा गाएर मात्र होइन, समय र युगको आवाजअनुसारको भविष्यको योजना बनाउनुपर्छ ।
कम्युनिस्ट पार्टीहरू केही वर्षदेखि नयाँ पुस्ता र आजको समाजसँगको बहस र अन्तर्क्रियाबाट टाढा रहे । पार्टी निर्माणमा युवालाई महत्त्व दिन सकेनन्, कार्यकर्ता–नेता उत्पादन गर्ने ‘नर्सरी’ नै बिर्सिए ।
पार्टीले युवा पुस्ताका मुद्दा, चाहना र आकांक्षा सम्बोधन गर्ने, उनीहरूलाई सम्मान, नेतृत्व र भूमिका दिने, उनीहरूको ज्ञान, सीप, योग्यता र अध्ययनलाई पार्टी निर्माणमा लगाउनुपर्दछ ।
पुरातन र सनातनी तरिकाले होइन, ‘पुरानो माइन्ड सेट’ चेन्ज गरेर नयाँ तरिकाले संगठन निर्माण गर्नु जरुरी छ । अब युवा पुस्तालाई आकर्षित गरेर पार्टी संगठनमा जोड्ने, पार्टीमा युवा र नवयुवाहरू व्यापक रूपमा भर्ना गर्ने र युवामैत्री पार्टी बनाउने कुरामा ध्यान केन्द्रित गर्नुपर्दछ ।
नेपालको कम्युनिस्ट आन्दोलनका अगाडि अब ‘सकिने कि सच्चिने’ दुई ज्वलन्त विकल्प खडा छन् । चुनौतीसँग अवसर, अनि असफलताको गर्भमा सफलताको बिउ पनि सँगै हुन्छ । त्यसैले साँच्चिकै सच्चिने र आत्मविश्वासका साथ अघि बढ्ने हो भने यो आन्दोलनलाई फेरि उठाउन सकिन्छ ।
आजसम्म भएगरेका गल्ती–कमीकमजोरीप्रति आत्मालोचित हुने, जनताको बीचमा माफी माग्ने, अब गल्ती नगर्ने र आफ्ना कार्यशैली परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ एजेन्डासहित जनता र कार्यकर्ताका बीचमा जाने नयाँ संकल्प गरौं ।
इमानदारीपूर्वक पार्टी पुनर्गठन गर्दै नीतिनिष्ठ एकता गरौं, एकतालाई हार्दिक रूपमा सफल बनाऔँ। तब नै तीनबुँदे सहमति पार्टी एकताको ‘कोसेढुंगा’ हुनेछ ।
हामी यसरी साँच्चिकै दिलैदेखि सच्चिने, काममा समर्पित हुने र एकताबद्ध भएर अघि बढ्ने हो भने पुन: उठ्नेछौँ, जाग्नेछौँ, आन्दोलनले पुनर्जागरण र पुनर्जीवन पाउनेछ ।
(ज्वाला नेकपाका प्रवक्ता हुन् ।)
प्रतिक्रिया 4