+
+
Shares
भारतमा थुनिएका किसानसँग वार्ता :

‘खेतमा हुनुपर्ने बेला भारतको जेलमा परें’

खाद दिन नसक्ने सरकार किसानका लागि राम्रो होइन । किसानले यस्तै दु:ख पाउने हो भने सरकारको फुल बहुमत भएपनि जनताले उतारेर तल फाल्नसक्छ ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ साउन २२ गते २३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मल लिन भारत गएका सर्लाही बलराका दुई किसान ३८ दिनको भारतीय जेल बसाइपछि शुक्रबार रिहा भएका छन् ।
  • सीतामढी जिल्लाकाे व्यवहार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह थुनामुक्त भएका हुन् ।
  • किसानले नेपालमा मल नपाएपछि भारतीय बजारमा जानु परेको र आफूहरूलाई झूटा मुद्दामा फसाइएको बताएका छन् ।

खेतका लागि मल किन्न गएका बलरा–५, सर्लाहीका दुई किसान ३८ दिनको भारतीय जेल बसाइँपछि शुक्रबार रिहा भएका छन् । सीतामढी जिल्लाको व्यवहार अदालतले धरौटीमा छाड्न आदेश गरेपछि नेपाली किसानहरू सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह थुनामुक्त भएका हुन् । घर फर्किएलगत्तै थुनामुक्त भएका सुरेशप्रसाद सिंहसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संक्षिप्त संवाद :

स्वास्थ्य अवस्था कस्तो छ ?

ठीकै छ ।

असार १७ गते बिहान यहाँ सीमापारी बजारमा किन जानुभएको थियो ?

आफ्नो खेतीका लागि एक बोरा खाद लिन गएको थिएँ । खाद लिएर आउँदै थिएँ । एसएसबीको घुमुवाले पक्राउ गरे ।

दुवै जनालाई ?

हो, दाइ पनि हुनुहुन्थ्यो । हामी दुवैलाई पक्राउ गरियो ।

मल कति ल्याउनुभएको थियो ?

४५ किलोको एक बोरा ल्याएको थिएँ । युरिया ।

एसएसबीले तपाईँहरूको साथबाट दुई बोरा युरिया र ६ बोरा डीएपी मल बरामद गरेको भनेको छ  । फोटोमा पनि ८ बोरा देखिन्छ नि ?

त्यो सत्य होइन । नेपाल र भारतबीचको बेरियरमा ६ बोरा खाद पहिला नै समातेर राखेको रहेछ । ६ बोरा खाद एक जना महिलाको रहेछ । तर, त्यो खाद पनि राखेर हाम्रो फोटो उतार्नुभयो । फोटो खिच्नु अगाडि घुमुवालाई साइकल पनि नजिक ल्याएर राख्न भने । दाइ र मसँग त जम्मा एक–एक बोरा मात्र थियो ।

त्यसपछि तपाईंहरूलाई कहाँ लगे ?

एसएसबीले आफ्नो कैदमा लगियो । किसानको ठूलो कर्मचारीलाई बोलाएर ल्याए । मैले कुनै पनि पसलबाट किनेको होइन भन्ने कुरा राखें ।

तपाईंहरूले मल कहाँबाट ल्याउनुभएको थियो ?

हामीले आधार कार्ड भएको भारतकै नागरिकसँग मिल किनेका थियौं । मैले यो कुरा राखेपछि बयानबाट दोकानवालाको नाम पनि काट्नुभयो । त्यसको भोलिपल्ट (असार १८ गते) जेल चलान गरियो ।

नेपाल सरकारले त किसानलाई पर्याप्त मल (खाद) दिएको छ भनेको छ । तपाईँ भारतमा किन्न किन जानुभयो ? सस्तो पाइन्छ भनेर हो ?

ना–ना हजुर त्यस्तो होइन । यहाँ खाद नपाएरै गएका हौं । अहिले पनि पाएका छैनौं ।  केहीदिन अगाडिसम्म पनि सीमा क्षेत्रका किसानले पारीबाट खाद ल्याइरहेका छन् ।

सरकारले यहीँ मल दिएको भए जाने थिइनँ ।

खाद दिन नसक्ने बालेन सरकारलाई राख्नुपर्छ र ? मलाई त राख्नुपर्दैन जस्तो लाग्छ ।

नेपालमै मल पाए भारतीय बजारमा जानु हुन्थेन ?

किन जान्थे र ? जान्थिनँ । खाद दिन नसक्ने सरकार किसानका लागि राम्रो होइन । किसानले यस्तै दु:ख पाउने हो भने सरकारको फुल बहुमत भएपनि जनताले उतारेर तल फाल्नसक्छ ।

तपाईंको खेतलाई कति मल चाहिन्छ ?

मेरो दुई बिघाभन्दा बढी छ । उखु पनि लगाएको छु । उखुलाई पनि खाद चाहिन्छ । युरिया १०–१२ बोरा जति चाहिन्छ ।

मलको समस्या अहिले मात्र हो कि पहिला पनि हुन्थ्यो ?

पहिला पनि हुन्थ्यो । यहाँ लालपुर्जा देखाएपछि एक बोरा पाइन्छ । त्यसले पुग्दैन । गाउँघरको मुखियालाई पाँच बोरा दिन्छ, हामीजस्ता किसानले पाउँदैनौं ।

भारतमा थुनामा कस्तो व्यवहार हुँदो रहेछ ?

नराम्रो व्यवहार गरे । खाना राम्रो थिएन, चार वटा रोटी र भिन्डी–घिरौलाको सब्जी दिने रहेछ । यस्तो गरे पनि सहनुपर्ने रहेछ ।

खेत जोतेर रोपाइँका लागि तयार पारेर राखेको थिएँ । त्यस्तै बेलामा पक्राउ परें । रोपाइँका बेलामा खेतमा हुनुपर्ने जेलमा परें ।

तपाईंहरूलाई छाड्दा कति धरौटी मागियो ?

रकम मलाई थाहा छैन । घरको मान्छेलाई थाहा होला । दुई जना आधार कार्ड भएको मान्छे साक्षी बसेका छन् ।

अदालतले कहिलेको तारिख दिएको छ ?

एक महिनापछिलाई दिएको छ ।

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?