News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
- उनले सरकारले नागरिकमाथि अत्यधिक कर थोपरेको र सुशासन कायम गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।
- किसानले उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्न बाध्य भएपनि विचौलियाले महँगोमा बेच्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
२३ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको जिकिर गरे ।
सरकारले नागरिकमाथि करको भार थोपरेको आरोप लगाउँदै उनले सरकारको सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको बताए ।
‘राजनीतिमा छलछल हुन्छ, छलैछल हुन्छ । तीन महिना पहिले चुनाव भन्दा अगाडि हामीले धेरै भाषण सुन्यौँ, विदेशबाट काम गर्ने युवाहरुलाई भिर्त्याउँछौँ भने, अहिले ती साथीहरु बाहिरै जाँदैछन् । यो देशमा सुशासन हुन्छ भन्थे, यो देश अब अनलाइन–बाट चल्छ भन्थे, यो देश अब ग्यासको लाईन–बाट चल्ने भएको छ । यो देशमा धेरै कुरामा हामी सुशासन दिन्छौँ भन्थे,’ चौधरीले थप भने, ‘नागरिकले प्रत्याभूति गर्छन् महङ्गी भयो भ्रष्टाचार भयो भन्थे । आज पढ्ने विद्यालयमा छोरीको फिस तिर्दा ट्याक्स तिर्नुपरेको छ । आमालाई जोरो आउँदा अस्पताल लाँदा खाइदिने एउटा सिटामोलबाटी ट्याक्स तिर्नु परेको छ । अरे वाह ! कस्तो सरकारको रजगजमा छौँ हामी, सबै कुरामा कर थोपेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ । होइन, यो छल भयो, यो कपट भयो, कर त हामी तिरौँला नि, कर तिर्नेले तिरे कि तिरेनन्, त्यहाँ हेर्नुपर्छ, कर त तिर्नेले तिरेनन् जस्तो लाग्छ ।’
गाउँका किसान धान न्युन मूल्यमा बिक्री गर्न बाध्य भएको उनको दाबी थियो । उनका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरेपनि विचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ ।
उनले आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको पनि बताए ।
‘म अहिले गाउँ तिर बस्छु, किसानको जीवनयापन गरेको छु । चैते धान असारमा बेच्दा किसानहरुले २५०० रुपैयाँ क्विन्टलमा बेचे । यो देशमा किसानले उत्पादन गरेको धान २५०० रुपैयाँ क्विन्टलमा किसान बेच्न बाध्य भए । त्यही धान एउटाले किन्छ, महाजनले किनेर पारीबाट बिल बिजक ल्याउँछ, सरकारलाई अलि–अलि कर बुझाउँछ र नेपाली नागरिकलाई १७ हजारमा बेच्छ, वाह ! देशलाई बनाउनका निमित्त हामी पनि सहयोगी हुन्छौँ नि, हामी कहाँ बाधक छौँ र ?,’ उनको प्रश्न थियो ।
प्रतिक्रिया 4