News Summary
Generated by OK AI. Editorially reviewed.- रावा खोला किनारमा पर्ने बाँझोगरा खेतमा गत जेठमा धान रोपिएको थियो । गोडमेल गर्नेबेला बाढीले खेत पुरेको हो ।
- बाढीले सिँचाइ कुलो र सडकमा क्षति पुर्याउँदा स्थानीय कृषकहरू मारमा परेका छन् भने अधिया कमाउने किसानको मेहनत खेर गएको छ ।
- पूर्वअध्यक्ष बिश्वनाथ निरौलाले सडक र कुलो मर्मतका लागि जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन अझै सम्बोधन नभएको स्थानीयले बताएका छन् ।
२४ साउन, खोटाङ । लेदोसहित झरेको पहिरोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगराका धानखेत पुरिएका छन् ।
जालपा–फेदी–ऐसेलुखर्क सडक अन्तरगत जापलाको खरबारीबाट झरेको लेदोले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको छ । गोड्नेबेलाको धान खेतमा गेगर र बालुवा थुप्रिएपछि किसान मारमा परेका छन् ।
खहरे खोलाको बाढीले रावा खोला किनारमा रहेको बीरबहादुर श्रेष्ठ, रत्नकुमार श्रेष्ठ, गोपाल राई, डाकमान राई र भाइकाजी राईको खेत बगरमा परिणत भएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका गोपालकुमार राई, पदमबहादुर कार्की, सुरमनी राई तथा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका मानबहादुर राजभण्डारीको खेत पनि पुरिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।
रावा खोला किनारमा पर्ने बाँझोगरा खेतमा गत जेठमा धान रोपिएको थियो । गोडमेल गर्नेबेला बाढीले खेत पुरेको हो ।
स्थानीयका अनुसार विगतमा साउने खोल्सीमा कहिल्यै बाढी झरेको थिएन । खोलामुनि खेत बिराइएका थिए । वर्षामा खोलाबाट झर्ने पानी सिधै खेतमा झर्थ्यो, सिँचाइमा प्रयोग हुन्थ्यो तर यसपल्ट सडकबाट झरेको पहिरो साउने खोल्सीमा मिसिएपछि खेतलाई खण्डहर बनाएको स्थानीय रत्नकुमार श्रेष्ठले बताए ।

खोल्सीको बाढीले दिक्तेल–ऐसेलुखर्क गाडी सञ्चालन भइरहेको सडकमा क्षति पुर्याएको छ । यस्तै, रावाखोला–तापखोला मुहानबाट बाँझोगरा खेतमै लगिएको सिम्ले कुलो र साउने खोल्साबाट पिखुमको ठूलो खेत लगिएको कुलो पनि बगाएको छ ।
विगतमा रावा खोलाले धार परिवर्तन गर्दा बेला–बेलामा बाँझोगरा खेत पुर्ने गरेको थियो तर तारजालीको बाँध बाँधेर खेतलाई सुरक्षित गरिएको थियो । रावा खोलाले पुरेपछि बिराएर निकालिएको खेतलाई पुन: साउने खोल्सीले बगर बनाएको हो ।
बाँझोगरा खेतका केही जग्गाधनीले आफ्नो खेत अधिया कमाउन दिएका छन् । खेत पुरिदा तिनै अधिया कमाइरहेका किसान सबैभन्दा धेरै मारमा परेका छन् । खाइनखाई अर्मपर्म गरेर धान रोपेको अधिया खेत पुरिएपछि मेहनत खेर गएको शुक्रकुमारी राई बताउँछिन् ।
साउने खोल्सालाई व्यवस्थापन गर्दै आगामी दिनमा खेतमा क्षति नहुने वातावरण बनाइदिन किसानको माग छ ।
क्षतिग्रस्त सडक तथा कुलो मर्मतका लागि ऐसेलुखर्क गाउँपालिकाका पूर्वअध्यक्ष बिश्वनाथ निरौलाले साउन ४ गते जिल्ला प्रशासन कार्यालय समक्ष निवेदन दिएका थिए, तर माग सम्बोधन नभएको उनले बताए ।
प्रतिक्रिया 4