+
+
Shares

डोल्पामा दर्ताबिनै पेट्रोल र ग्यासको कारोबार

पूर्ण सार्की पूर्ण सार्की
२०८३ साउन २४ गते ६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमाली जिल्ला डोल्पामा दर्ताबिनै पेट्रोलियम पदार्थ र ग्यासको अव्यवस्थित बिक्रीवितरण भइरहेको संयुक्त अनुगमनका क्रममा फेला परेको छ ।
  • सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंको नेतृत्वमा गएको टोलीले व्यवसायीलाई कानुनबमोजिम व्यवसाय दर्ता गरी व्यवस्थित रूपमा कारोबार गर्न निर्देशन दिएको छ ।
  • सदरमुकाम दुनैमा ग्यासको अभाव देखिए पनि त्रिपुराकोट बगर बजारमा पर्याप्त मौज्दात रहेकाले जिल्लामा समग्र रूपमा ग्यासको अभाव नरहेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ ।

२४ साउन, डोल्पा । हिमाली जिल्ला डोल्पामा ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार व्यवसाय दर्ताबिनै भइरहेको पाइएको छ ।

जिल्लामा ग्यास तथा पेट्रोलियम पदार्थको आधिकारिक बिक्रेता नरहेको अवस्थामा अव्यवस्थित रूपमा बिक्रीवितरण भइरहेको पाइएपछि सम्बन्धित व्यवसायीलाई व्यवसाय दर्ता गरी कानुनी प्रक्रिया पूरा गरेर मात्र कारोबार गर्न निर्देशन दिइएको छ ।

शनिबार जिल्लाको सदरमुकाम दुनै र त्रिपुराकोट बगर बजारमा ग्यास तथा पेट्रोलियम पदार्थको अवस्था बुझ्न गरिएको संयुक्त छड्के अनुगमनका क्रममा यस्तो अवस्था पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंको नेतृत्वमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलगायत सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित टोलीले दुई बजारमा ग्यास, पेट्रोल तथा डिजेलको उपलब्धता र बिक्रीवितरणको अवस्थाबारे अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा जिल्लामा हालसम्म ग्यास तथा पेट्रोलियम पदार्थको आधिकारिक बिक्रेता नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले बताए । उनका अनुसार पेट्रोल तथा डिजेल अव्यवस्थित रूपमा बिक्रीवितरण भइरहेको पाइएपछि सम्बन्धित व्यवसायीलाई प्रचलित कानुनबमोजिम व्यवसाय दर्ता गरी व्यवस्थित रूपमा कारोबार गर्न सुझाव, सल्लाह तथा निर्देशन दिइएको छ ।

‘जिल्लाका दुई प्रमुख बजारमा अनुगमन गर्‍यौँ । पेट्रोलियम पदार्थको बिक्रीवितरण भइरहेको भए पनि आधिकारिक बिक्रेता नरहेको पाइयो । त्यसैले व्यवसाय दर्ता गरी प्रचलित कानुन र मापदण्डअनुसार कारोबार गर्न निर्देशन दिएका छौँ,’ चौलागाईंले भने ।

अनुगमन टोलीले पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दा आवश्यक मापदण्ड र कानुनी प्रक्रिया पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

उपभोक्ताको सुरक्षा र सहज आपूर्तिलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको भण्डारण तथा बिक्रीवितरण व्यवस्थित गर्नुपर्नेमा पनि टोलीले जोड दिएको छ ।

दुनैमा ग्यास अभाव, त्रिपुराकोटमा पर्याप्त मौज्दात

संयुक्त अनुगमनका क्रममा सदरमुकाम दुनै बजारमा ग्यासको अभाव देखिए पनि त्रिपुराकोट बगर बजारमा पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंका अनुसार त्रिपुराकोटमा पर्याप्त ग्यास मौज्दात रहेको पाइएपछि जिल्लामा समग्र रूपमा तत्काल ग्यास अभाव नरहेको निष्कर्ष निकालिएको छ ।

‘हामीले जिल्लाका दुई प्रमुख बजारमा अनुगमन गर्‍यौँ । सदरमुकाममा अभाव देखिए पनि त्रिपुराकोटमा पर्याप्त ग्यास रहेको पाइयो । त्रिपुराकोटमा ग्यास मौज्दात रहेपछि जिल्लामा समग्र रूपमा ग्यासको अभाव छैन,’ उनले भने ।

अनुगमन टोलीले बजारमा ग्यास, पेट्रोल तथा डिजेलको उपलब्धता, बिक्रीवितरणको अवस्था र उपभोक्ताले भोग्नुपरेका समस्याबारे समेत जानकारी लिएको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्दा व्यवसाय दर्ता, आवश्यक अनुमति तथा निर्धारित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । त्यसैले अबदेखि कानुनी प्रक्रिया पूरा गरेर मात्र पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्न व्यवसायीलाई निर्देशन दिइएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?