२४ साउन, जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्विट्जरल्यान्डको जेनेभामा भेला भएर नेपाल–युरोप स्वास्थ्य सहकार्य, अनुसन्धान तथा अनुभव आदानप्रदानका विषयमा छलफल गरेका छन्।
‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको विशेषज्ञता र अनुभवलाई नेपालको स्वास्थ्य प्रणालीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विभिन्न योजना र अवधारणामाथि छलफल भएको हो।
साउन २२ देखि २४ गतेसम्म चलेको तीनदिने सम्मेलनमा स्वास्थ्य क्षेत्रमा विकसित हुँदै गएका नयाँ प्रविधि, क्लिनिकल अभ्यास, अनुसन्धान तथा समसामयिक चुनौतीबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए। सम्मेलनमा चारवटा क्लिनिकल, वैज्ञानिक तथा प्रविधिमूलक कार्यपत्र र नेपालसँग सम्बन्धित तीनवटा रिपोर्ट प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
सम्मेलनको उद्घाटन समारोहमा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी प्रमुख अतिथि थिए।
सुवेदीले छोटो समयमै सोसाइटीले उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै नेपाल र युरोपबीचको स्वास्थ्य सहकार्यलाई संरक्षण, प्रवर्द्धन र निरन्तरता दिनुपर्नेमा जोड दिए।
डा. थापालाई ‘नेपलिज हेल्थ प्रोफेसनल अफ द इयर‘

सम्मेलनका क्रममा ‘नेपलिज हेल्थ प्रोफेसनल अफ द इयर २०२६’ अवार्ड प्रा.डा. सुरजबहादुर थापालाई प्रदान गरिएको छ।स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा थापालाई अवार्ड हस्तान्तरण गरे।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नेपाली स्वास्थ्यकर्मीलाई हरेक वर्ष सम्मान गर्ने योजनाअनुसार यस वर्ष थापालाई उक्त अवार्ड प्रदान गरिएको सोसाइटीले जनाएको छ। गत वर्ष पहिलोपटक यो सम्मान प्रा.डा. गणेश आचार्यलाई प्रदान गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. थापाले नर्वेबाट मेन्टल हेल्थमा एमडी गरेका हुन्। उनले सन् २००६ मा नर्वेकै विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा पीएचडी गरेका थिए भने सन् २०१० मा मनोचिकित्सा विशेषज्ञ बनेका थिए।
हाल उनी नर्वेको प्रतिष्ठित ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर तथा मेन्टल हेल्थ डिभिजनको अनुसन्धान प्रमुखका रूपमा कार्यरत छन्।
अवार्ड ग्रहण गर्दै डा. थापाले आफू प्रचार वा चर्चा खोज्ने व्यक्ति नभए पनि आफ्नो मेहनत र समर्पणको सम्मान भएकोमा खुसी लागेको बताए।
विभिन्न विषयमा कार्यपत्र

सम्मेलनमा क्लिनिकल, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।स्विट्जरल्यान्डका डा. यु. मेइयर, बेलायतका प्रो. केनेथ वाकर, जर्मनीका डा. सुनिल हमाल, सरस्वती तामाङ, स्विट्जरल्यान्डकी प्रा.डा. मोनिका ब्रोडमन, छाया नेपालका कमल थापा तथा नेपालका डा. बुद्धिमान श्रेष्ठले विभिन्न विषयमा प्रस्तुति दिएका थिए।
त्यसैगरी सात महादेशका सात सर्वोच्च शिखर आरोहण गरेकी सुस्मिता मास्के निरौलाले हिमाल आरोहणका क्रममा आफूले भोगेका अनुभव तथा चुनौतीबारे प्रेरणादायी प्रस्तुति दिएकी थिइन्।
सम्मेलनका क्रममा ‘सोसाइटी अफ नेपलिज हेल्थ प्रोफेसनल्स इन युरोप’ र बेलायतस्थित नेपाली चिकित्सकहरूको संस्था ‘नेप्लिज डक्टर्स एसोसिएसन’बीच सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षरसमेत भएको छ।सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ र नेप्लिज डक्टर्स एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सोसाइटीका अध्यक्ष श्रेष्ठका अनुसार युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई संगठित गर्दै नेपाली समुदायको स्वास्थ्यसम्बन्धी अनुसन्धान अघि बढाउने, नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने योजना सोसाइटीले अघि सारेको छ।
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको व्यक्तिगत तथा व्यावसायिक विकासमा समेत सोसाइटीले काम गरिरहेको उनले बताए।सम्मेलनका विभिन्न सेसनमा जर्मनीकी डा. सजनी धाख्वा, बेल्जियमका डा. राजु श्रीवास्तव, स्विट्जरल्यान्डका डा. विराट निरौला, बेल्जियमका पञ्चम अधिकारी, स्विट्जरल्यान्डका हिरालाल श्रेष्ठ, नेपालका दामोदर नेपाल र डा. सागर धितालले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।
सम्मेलनकै क्रममा प्रा.डा. कौशल किशोर तिवारीको सम्पादनमा प्रकाशित मेडिकल जर्नलको पहिलो अंक पनि विमोचन गरिएको थियो।

प्रतिक्रिया 4