+
+
Shares

परिवारको एक मात्रै सहारा थिए एकराज, भीरबाट लड्दा चल्नै नसक्ने भए

परिवारलाई अहिले विशेष प्रकारको ह्विलचेयर, नियमित थेरापी, औषधि र अस्पतालको शुल्क व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ साउन २५ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङका ५२ वर्षीय एकराज परियार भीरबाट लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा उपचार गराइरहेका छन् ।
  • दुर्घटनापछि हिँडडुल गर्न असमर्थ परियारको उपचारका लागि आर्थिक स्रोत जुट्न छाडेपछि परिवार समस्यामा परेको छ ।

लोकन्थलीस्थित सक्षम हेल्थ केयरको बेड नम्बर ५ मा ५२ वर्षीय एकराज परियार जीवन र मृत्युबीचको कठिन संघर्ष गरिरहेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–१, का उनी केही महिनाअघिसम्म हट्टाकट्टा थिए ।

गोठालो गएका बेला भएको एउटा दुर्घटनाले उनको मात्रै होइन, सिंगो परिवारको जीवन नै बदलिदिएको छ । भीरबाट लड्दा उनको मेरुदण्ड (स्पाइनल कर्ड) मा गम्भीर चोट लाग्यो । त्यसयता उनी आफैं उठ्न, बस्न, खान, हिँड्न सक्दैनन् । दिसापिसाब गर्नसमेत अरूको सहारा चाहिन्छ ।

‍चौबीसै घण्टा कसै न कसैको हेरचाह आवश्यक पर्छ । केही महिनाअघिसम्म परिवारको मेरूदण्ड थिए एकराज । परिवार उनकै सहारामा टिकिरहेको थियो । अहिले परिवारका सदस्यहरूको सहारामा जसोतसो सास धानिरहेका छन् ।

उपचार अझै कति समयसम्म चल्छ भन्ने निश्चित छैन । उपचारसँगै आर्थिक भार दिनप्रतिदिन बढिरहेको छ ।

एउटा दुर्घटनाले बदलिएको जीवन

जेठ महिनाको एक दिन । एकराज सधैंझैँ गोठालो गएका थिए । परिवारका अनुसार गोठालो गएको बेला उनलाई अचानक चक्कर लाग्यो र भिरालो बाटोमा सन्तुलन गुमेपछि उनी धेरै तलसम्म खसे । स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउँदा मेरुदण्डमा गम्भीर चोट लागेको पुष्टि भयो ।

छोरी सरिता परियार भन्छिन्, बुबा हाम्रो सबैथोक हुनुहुन्थ्यो’ छोरी सरिता भन्छिन्, ‘अहिले उहाँ आफैं केही गर्न सक्नुहुन्न । दिसापिसाब भएको समेत थाहा हुँदैन ।’

दुर्घटनापछि एकराजलाई पहिले धादिङ अस्पताल लगियो । त्यहाँबाट रिफर भएपछि वीर अस्पताल ल्याइयो । परिवारका अनुसार वीर अस्पतालमा दुई दिनसम्म अपेक्षित उपचार नपाएपछि मध्यपुर थिमी अस्पताल पुगे ।

मध्यपुर थिमी अस्पतालमा करिब १०–१५ दिन उपचार गरेपछि अहिले उनी लोकन्थलीस्थित सक्षम हेल्थ केयरमा भर्ना भएर पुनःस्थापना र नियमित फिजियोथेरापी गराइरहेका छन् । चिकित्सकहरूले निरन्तर थेरापी आवश्यक रहेको बताएका छन् । तर यस्तो उपचार छोटो समयको होइन, महिनौँ वा वर्षौँसम्म पनि चल्न सक्छ ।

परिवारको आधार नै थलिएपछि

एकराज सिलाइको काम गर्थे । त्यससँगै खेतीपातीको सम्पूर्ण जिम्मेवारी पनि उनैले सम्हाल्थे । ५ छोरी र एक छोरा रहेको परिवारमा कमाउने व्यक्ति उनी मात्रै थिए । परिवारको दैनिक खर्च, छोराछोरीको पढाइ, खेतीपातीदेखि घरको सबै जिम्मेवारी उनको काँधमा थियो ।

तर दुर्घटनापछि परिवारको आयस्रोत बन्द भएको छ । अहिले १८ वर्षीय छोरा पढाइसँगै बाबुको हेरचाहमा जुटेका छन् । गाउँमा रहेकी श्रीमती पनि बिरामी छिन् । धेरै काम गर्न सक्ने अवस्था छैन । छोरीहरू पनि आफ्नो क्षमता अनुसार अस्पताल धाउने र उपचारको व्यवस्थापनमा लागिरहेका छन् ।

सरिता भन्छिन्, ‘बुबा उहाँ बिरामी भएपछि घर चलाउनै गाह्रो भएको छ । उपचारको खर्च जुटाउन आफन्तसँग सहयोग माग्यौं, ऋण पनि गर्‍यौं । तर अब माग्ने ठाउँ पनि सक्कियो कहाँबाट पैसा ल्याउने भन्ने चिन्ता छ ।’

परिवारका अनुसार मध्यपुर थिमी अस्पतालमा ६–७ लाख खर्च भयो । त्यसपछि सक्षम हेल्थ केयरमा भइरहेको थेरापी, औषधि, बसाइ र अन्य उपचारमा २–३ लाख खर्च भइसकेको छ । केही रकम आफन्त र शुभेच्छुकको सहयोगबाट जुटाइएको छ भने केही ऋण गरेर चलाइएको छ ।

तर चिकित्सकहरूले अझै लामो समय फिजियोथेरापी, पुनःस्थापना उपचार र नियमित निगरानी आवश्यक रहेको बताएका छन् । त्यसैले उपचार खर्च अझै बढ्ने निश्चित छ ।

परिवारलाई अहिले विशेष प्रकारको ह्विलचेयर, नियमित थेरापी, औषधि र अस्पतालको शुल्क व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

सरिता भन्छिन्, ‘ अहिले बुबाका लागि एउटा राम्रो ह्विलचेयर किन्ने अवस्था पनि छैन । अबको अस्पताल खर्च कसरी जुटाउने भनेर पनि तनाव छ ।’

स्पाइनल कर्डको चोट किन गम्भीर हुन्छ ?

स्पाइनल कर्ड अर्थात् मेरुदण्ड शरीरको सबैभन्दा महत्वपूर्ण स्नायु प्रणालीमध्ये एक हो । यसमा गम्भीर चोट लागेपछि हातखुट्टा चल्न छाड्ने, दिसापिसाब नियन्त्रण गुम्ने, लामो समय ओछ्यानमै बस्नुपर्ने, संक्रमणको जोखिम बढ्ने तथा निरन्तर फिजियोथेरापी र पुनःस्थापना आवश्यक पर्ने अवस्था आउन सक्छ ।

यस्ता बिरामीको उपचार औषधिले मात्र सम्भव हुँदैन । नियमित फिजियोथेरापी, मानसिक साथ, परिवारको निरन्तर हेरचाह र आर्थिक व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ । उपचार बीचमै रोकिए बिरामीको अवस्था थप जटिल बन्न सक्ने चिकित्सकहरू बताउँछन् ।

उपचारको लागि परिवारको संघर्ष

एकराजको परिवार उपचारलाई निरन्तरता दिन सकिने साथ खोजिरहेको छ । ‘बुबा फेरि हिँड्न सक्नुहुन्छ भन्ने ठूलो अपेक्षा छैन । तर कम्तीमा आफैं बस्न, सर्न र सामान्य काम गर्न सक्ने अवस्थामा फर्किनुभयो भने हाम्रो सबैभन्दा ठूलो खुसी हुनेछ’ छोरी सरिता भन्छिन् ।

सम्पर्क : सरिता परियार  9808052476‍ 

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?