+
+
Shares

नाट्टा नयाँ नेतृत्वमा त्रिपक्षीय भिडन्त

प्रतिस्पर्धामा एक पुरुष र दुई महिला

नाट्टाको आगामी नेतृत्वका लागि जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।
  • नाट्टाको आगामी नेतृत्वका लागि जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
  • तीनवटै प्यानलले पर्यटन व्यवसायलाई अर्थतन्त्रको मुख्य आधार बनाउने विषयलाई प्राथमिकता दिँदै आ-आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

२४ साउन, काठमाडौं । सन् १९६६ मा स्थापित टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्वमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।

आगामी शुक्रबार नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमिति निर्वाचन हुने तय छ । नाट्टाको आगामी नेतृत्वका लागि जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

यसपालि प्रतिस्पर्धीले पर्यटन व्यवसायलाई अर्थतन्त्रको मुख्य आधार बनाउने विषयलाई आफ्नो एजेन्डामा प्राथमिकता दिएका छन् । अहिले नाट्टा अध्यक्षमा कुमारमणि थपलिया छन् । सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुन लागेको हो ।

सुरक्षित व्यवसाय-समृद्ध पर्यटन : जिस्वाँ तुलाधर श्रेष्ठ

नाट्टाको आगामी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । सबल नेतृत्व, सुरक्षित व्यवसाय र समृद्ध पर्यटन भन्ने नारासहित यो समूह चुनावमा होमिएको हो । यो समूहले शनिबार १२ बुँदे निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

नाट्टालाई सबल, समावेशी, पारदर्शी, प्रविधिमैत्री र व्यवसायमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता यो प्यानलको छ । नयाँ पुस्ताका पर्यटन उद्यमीलाई प्रोत्साहन गर्ने विषय समेत यो समूहको प्राथमिकतामा छ ।

नाट्टालाई व्यवसायीको आवाज बोल्नेमात्र नभई समस्या समाधानमा पहल गर्ने सक्षम, उत्तरदायी र परिणाममुखी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

स्वाँ टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशक जिस्वाँले साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन क्षेत्रको अनुभव सँगोलेकी छिन् । उनको समूहमा हिमालयन क्लब टुर्स एन्ड ट्राभल्सका विष्णु पाण्डे वरिष्ठ उपाध्यक्षको आकांक्षी छन् ।

त्यसैगरी उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिव सुशील पन्त, सचिव रमेश घिमिरे,  कोषाध्यक्ष कृष्णप्रसाद ढकाल र सहकोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, अनु राउत (अधिकारी), रोजिना रञ्जितकार उम्मेदवार छन् ।

यो समूहले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, विश्वव्यापी बजार विस्तार, हवाई टिकटिङ प्रणालीमा सुधार, नयाँ उद्यमी र साना व्यवसायीलाई प्रोत्साहनको प्रतिबद्धता व्यक्त गरेको छ ।

हवाई टिकट र भ्याटसम्बन्धी समस्या समाधान, पर्यटकीय बसपार्क र अन्तरसहरी यातायात सञ्जाल विस्तार, स्मार्ट नाट्टा, अनधिकृत पर्यटन गतिविधि नियन्त्रण, प्रादेशिक पर्यटन विकास र हवाई सञ्जाल सुदृढीकरण प्रतिबद्धता समेत यस प्यानलको छ ।

‘पर्यटन उठे, नेपाल उठ्छ’ : युबिका भण्डारी

नाट्टाको वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेकी युबिका भण्डारी आगामी नेतृत्वको प्रतिस्पर्धामा छिन् । शशिज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालिकी प्रबन्धक निर्देशक युबिकाको प्यानल ‘पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित निर्वाचनमा होमिएको छ । भण्डारीसँग पर्यटनमा दुई दशकभन्दा बढीको अनुभव छ ।

उनले नाट्टा कार्यसमितिमै रहेर पटक–पटक काम गरिसकेकी छिन् । यस समूहले गन्तव्य स्थान र उपत्यका बाहिरका व्यवसायीलाई समेत उस्तै प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थालाई प्रविधिमैत्री बनाउने, सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र पर्यटन व्यवसायीका क्षमता विकासलाई प्राथमिकता दिने प्रतिबद्धता समेत यस प्यानलको छ ।

नाट्टालाई पर्यटन क्षेत्रकै अग्रणी संस्था बनाउने समेत उनको प्यानलको प्रतिबद्धता छ । यस समूहको वरिष्ठ उपाध्यक्षमा वर्ल्डवाइड टुर्स एन्ड ट्राभल्सका सञ्चालक वरुण मेहता छन् । उपाध्यक्षमा ढकनाथ ढकाल, महासचिव कृष्णप्रसाद ढकाल, सचिव श्रद्धा जोशी, कोषाध्यक्ष रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन् ।

कार्यसमिति सदस्यमा प्रदीपप्रसाद उदय, विवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत ढकाल, डा. उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी छन् ।

नाट्टा रूपान्तरण : भरतजंग पाण्डे

नाट्टामा दुई महिला नेतृत्वलाई भरतजंग पाण्डे नेतृत्वमा रहेको प्यानलले चुनौती दिँदैछ । पाण्डे एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक हुन् ।

उनले नाट्टा रूपान्तरणको नारा अगाडि सारेका छन् । ‘सशक्त नाट्टा, समृद्ध पर्यटन सदस्यसँगै सदस्यका लागि’ भन्ने नारासहित उनको प्यानल चुनावमा होमिएको हो । यो समूहले सुशासन, पारदर्शिता र सदस्य सहभागितालाई जोड दिएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा व्यापकता दिने र हवाई टिकट, एयरलाइन्स र यातायात क्षेत्रका समस्या समाधानमा काम गर्ने प्रतिबद्धता यो प्यानलको छ । दूतावास तथा कूटनीतिक समन्वय, क्षमता विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा काम गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

डिजिटल नाट्टा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास, इनबाउन्ड तथा बुहराष्ट्रिय टुर व्यवस्थापनमा सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता यो प्यानलको छ । स्वच्छ पूर्वाधार तथा दिगो पर्यटन विकास, सदस्य हित संरक्षण तथा व्यवसाय सुदृढीकरण तथा आर्थिक रूपमा सबल, सशक्त तथा विस्तारित नाट्टाको उद्देश्य यो प्यानलले राखेको छ ।

यो प्यानलको वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभलका सुनिल शर्मा, उपाध्यक्ष सविता केसी भट्टराई, महासचिव राजकुमार देवकोटा, सचिव रमेश पराजुली, कोषाध्यक्ष दिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार छन् ।

कार्यसमिति सदस्यमा दिनानाथ पाण्डे, दिनेश मैनाली, दीपक मरासिनी, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?