+
+
Shares

हरेक वर्ष विदेश घुम्न जान्छन् २ लाख नेपाली

पछिल्लो ५ वर्षमा कुल ७१ लाख २६ हजार ४ सय ५९ नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन् । यसमध्ये ५२ प्रतिशत नेपाली भने वैदेशिक रोजगारीमा गएका हुन् ।

अच्युत पुरी अच्युत पुरी
२०८३ साउन २४ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा हरेक वर्ष औसतमा करिब दुई लाख नेपाली पर्यटन र तीर्थयात्राको उद्देश्यले विदेशिने गरेका छन् ।
  • विभागका अनुसार पछिल्लो पाँच वर्षमा सात लाखभन्दा बढी नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएकामा ५२ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् ।
  • शिक्षाका लागि विदेशिने नेपालीको संख्या सन् २०२१ मा २६ हजार रहेकामा सन् २०२५ सम्म आइपुग्दा पाँच गुणाले बढेर एक लाख ३३ हजार पुगेको छ ।

२४ साउन, काठमाडौं । हरेक वर्ष औसत २ लाख नेपाली विदेश घुमफिरमा निस्कने गरेको पाइएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ सय ७६ नेपाली पर्यटन र तीर्थयात्रा भ्रमणमा जाने गरेको पाइएको हो ।

यो सूचीमा अध्ययन, परिवार र आफन्त भेटघाट, अस्थायी बसोबास र स्थायी बसोबासमा जाने नेपालीका तथ्यांक भने समावेश छैन ।

यसैगरी सम्मेलन/सेमिनार, व्यवसाय, स्वास्थ्य उपचार, सरकारी भ्रमण, सांस्कृतिक कार्यक्रममा जाने नेपालीको संख्या समेत समावेश छैन ।

संयुक्त राष्ट्र संघीय मिसन, खेलकुद कार्यक्रम, आफ्नो मुलुक फिर्ता र अन्य प्रयोजनमा जाने नेपालीको संख्या पनि समावेश छैन । रोजगारी प्रयोजनमा जाने संख्या पनि पर्यटनमा समावेश हुँदैन ।

विभागका अनुसार २०२५ मा मात्र पर्यटन तथा तीर्थयात्रामा २ लाख ३३ हजार १ सय ८ नेपाली गएको तथ्यांक छ ।

विभागका अनुसार पछिल्ला वर्षहरूमा नेपाली आप्रवासन दर निरन्तर वृद्धि भइरहेको देखिएको छ । पछिल्लो ५ वर्षमा कुल ७१ लाख २६ हजार ४ सय ५९ नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन् । यसमध्ये ५२ प्रतिशत नेपाली भने वैदेशिक रोजगारीमा गएका हुन् ।

विभाग भन्छ, ‘यस तथ्यांकले अर्थतन्त्रको संरचनात्मक निर्भरता वैदेशिक रोजगारीमा रहेको देखाएको छ ।’

विभागको तथ्यांक अनुसार रोजगारीपछि पर्यटन उद्देश्यले विदेश जाने नेपालीको संख्या अधिक छ । यस्तो संख्या औसत १४ प्रतिशत छ ।

अस्थायी आवासीय प्रयोजनमा जाने ५.२५ प्रतिशत र ४.२० प्रतिशत नेपाली भने स्थायी बसोबासका लागि जाने गरेको देखिन्छ । अध्यागमन विश्लेषण अनुसार हरेक वर्ष विदेशिने नेपालीमध्ये ६० प्रतिशत नागरिक आर्थिक अवसरको खोजी र बसाइँसराइ उद्देश्यले विदेशी मुलुक प्रस्थान गरिरहेका छन् ।

शिक्षा आर्जन गर्ने उद्देश्य सहित विदेश प्रस्थान गर्ने नेपालीको संख्यात्मक हिस्सा ६.९ प्रतिशत छ । यसको प्रवृत्तिगत अवस्था हेर्दा २०२१ मा शिक्षाका लागि विदेशिने २६ हजार रहेकोमा २०२५ मा ५ गुणाभन्दा धेरैले बढेर १ लाख ३३ हजार पुगेको छ ।

यस प्रकारको प्रवृत्तिबाट नेपालीको विदेश यात्रा उद्देश्य अल्पकालीन रोजगारीबाट शिक्षा आर्जन गर्दै दीर्घकालीन बसोबासतर्फ निर्देशित रहेको विश्लेषण विभागले गरेको छ ।

पर्यटन बाहेक कुन प्रयोजनमा कति नेपाली विदेशिन्छन् ?

अध्यागमन विभाग तथ्यांक अनुसार २०२१ देखि २०२५ सम्म वैदेशिक रोजगारीमा औसत हरेक वर्ष ७ लाख ४३ हजार ६ सय ८२ नेपाली विदेशिएका छन् ।

सन् २०२५ मा मात्र यो संख्या ८ लाख ६६ हजार ३ सय १० छ । अध्ययनमा हरेक वर्ष औसत ९७ हजार ९ सय ५६ जना विदेशिन्छन् । २०२५ मा यो संख्या १ लाख ३३ हजार ८ सय ७० छ ।

परिवार/आफन्तका रूपमा विदेशिने संख्या औसत १ लाख १६ हजार ३ सय ७८ छ । २०२५ मा यस प्रयोजनका लागि १ लाख ३० हजार नेपाली विदेश गएका थिए ।

अस्थायी बसोबासमा हरेक वर्ष औसत ७४ हजार ८ सय ८१ जना विदेशिएका छन् । २०२५ मा यो संख्या ९७ हजार ९ सय ३९ छ । स्थायी बसोबासमा औसत ५९ हजार ८ सय ६४ जना विदेशिने गरेका छन् । २०२५ मा यो संख्या ६४ हजार ७ सय ६० छ ।

‘अन्य’ प्रयोजनमा औसत ३२ हजार ८ यस ५० नेपाली विदेशिने गरेको पाइएको छ । २०२५ मा यस प्रयोजनमा ४९ हजार ३ सय ८६ नेपाली विदेश गएका थिए ।

आश्रितका रूपमा हरेक वर्ष १९ हजार ९ सय ४९ नेपाली विदेशिन्छन् । सम्मेलन/सेमिनार र तालिममा हरेक वर्ष १७ हजार ५ सय ९७ नेपाली विदेश जान्छन् । व्यवसायका लागि औसत १४ हजार ८ सय ६० नेपाली विदेश जाने गरेको तथ्यांक छ ।

त्यस्तै स्वास्थ्य उपचारमा १५ हजार ८ सय ११, सरकारी भ्रमण ११ हजार २ सय ५४, अनुमति आवश्यक नपर्ने रोजगारी ८ हजार ६ सय ८६ र सांस्कृतिक कार्यक्रममा २ हजार ९ सय ५९ नेपाली जाने गरेको विभागले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय मिसनमा ६ हजार १ सय ४, खेलकुद कार्यक्रम २ हजार ४ सय ४० र आफ्नो मुलुक फिर्ताका रूपमा औसत ४३ नेपाली विदेश जाने गरेको विभागको तथ्यांक छ ।

कुन देशमा धेरै जान्छन् नेपाली ?

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार नेपालीको सबैभन्दा मुख्य आकर्षण यूएईमा छ । पछिल्लो ५ वर्षमा औसत विदेश प्रस्थान गरेकामध्ये सबैभन्दा धेरै यूएई गएका छन् । जसमा रोजगारीको संख्या समेत समावेश छ ।

यूएईमा हरेक वर्ष औसत २ लाख ७१ हजार ८ सय ९३ जना जाने गरेको तथ्यांक छ । दोस्रो स्थानमा कतार छ । त्यहाँ हरेक वर्ष औसत १ लाख ६८ हजार ४ सय ८९ जना जाने गरेको देखिन्छ ।

तेस्रो स्थानमा रहेको साउदी अरबमा हरेक वर्ष १ लाख ४४ हजार ३ सय ६७ नेपाली पुगेका छन् । चौथो स्थानमा भारत छ जहाँ हरेक वर्ष औसत १ लाख १३ हजार ८ सय ५३ जना जान्छन् ।

त्यसैगरी जापानमा वार्षिक औसत ८१ हजार ७ सय ४८ नेपाली जाने गर्छन् । अस्ट्रेलियामा औसत वार्षिक ८२ हजार ५ सय ६७ नेपाली जाने गरेको अध्यागमनले जनाएको छ ।

मलेसियामा वार्षिक १ लाख ५ हजार ८ सय ३६,  बेलायत ४५ हजार ४ सय ६५, कुवेत ४५ हजार ७ सय ४७, अमेरिका ६० हजार १ सय ४८ नेपाली हरेक वर्ष जाने गरेको अध्यागमनले जनाएको छ ।

त्यसैगरी चीनमा वार्षिक औसत ५१ हजार २ सय २४, थाइल्यान्ड २६ हजार ६ सय ४६, दक्षिण कोरिया २८ हजार ६ सय ९९, ओमान १४ हजार ५ सय ५७ र हङकङमा १४ हजार ३ सय ८८ नेपाली पुग्ने गरेको तथ्यांक छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?