+
+
Shares

११ वर्षदेखि अधुरो सडक, वर्षासँगै दोहोरिन्छ यात्रुको सास्ती (तस्वीरहरू)

११ वर्षदेखि अधुरो रहेको यो सडकले विकास आयोजना कति ढिलो अघि बढ्न सक्छ भन्ने मात्र देखाएको छैन, समयमै सार्वजनिक पूर्वाधार निर्माण नहुँदा त्यसको भार नागरिकले कसरी बोक्छन् भन्ने पनि देखाएको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन २५ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको खोरुङ्गा खोला–यावरा सडक खण्ड ११ वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् ।
  • निर्माण कम्पनीले सात पटकभन्दा बढी म्याद थप गरे पनि सडक कालोपत्रे गर्ने कार्य अझै अधुरै रहेको छ ।
  • निर्माण कम्पनीका सब-इञ्जिनियर नरेशकुमार मण्डलले चालु आर्थिक वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

२५ साउन, तेह्रथुम । वर्षा सुरु हुनासाथ तेह्रथुमको फेदाप गाउँपालिका क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गको खोरुङ्गा खोला–यावरा सडकखण्ड यात्राका लागि चुनौती बन्न थाल्छ । आकाशबाट पानी पर्न थालेपछि सडकमा हिलो जम्छ, ठाउँठाउँमा खाल्डाखुल्डी देखिन्छन् र सवारीसाधनको गति रोकिन्छ । यात्रुहरू गन्तव्यमा पुग्न समयको हिसाब गर्न बाध्य हुन्छन्, चालकका लागि हरेक यात्रा जोखिम र अतिरिक्त खर्चसँग जोडिन्छ । वर्षौंदेखि यही नियति दोहोरिंदै आएको छ ।

सडक निर्माण पूरा हुने आशामा स्थानीयवासीले वर्षौं बिताउँदै आएका छन । तर, उनीहरूले पाएको उपलब्धि भने पटक-पटक थपिएको म्याद र हरेक वर्षायाममा उस्तै समस्या हो । २०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार २०७४ सालमै निर्माण सकिनुपर्ने थियो । तर, निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन ।

सडकको अधुरोपनले फेदापका बस्तीको दैनिक जीवनलाई प्रत्यक्ष प्रभावित गरेको छ । फेदाप गाउँपालिका–२ का लोकबहादुर सिङ्गकका लागि सडकको समस्या कुनै विकास बहसको विषय मात्र होइन, हरेक दिन भोग्नुपर्ने वास्तविकता पनि हो । वर्षामा सडकको अवस्था बिग्रँदा सामान्य कामका लागि समेत यात्रा कठिन हुने गरेको उनी बताउँछन । ‘समयमै सडक निर्माण सम्पन्न नहुँदा हामीले अनाहक दु:ख पाउनुपरेको छ’, सिङ्गकले भने ।

गाउँबाट बजारसम्मको आवतजावत, बिरामीलाई उपचारका लागि लैजाने अवस्था, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ओसारपसारदेखि स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने कामसम्म सडकको अवस्थाले प्रभावित पार्छ । सडक कमजोर हुँदा दूरी उस्तै भए पनि यात्रा समय र खर्च भने बढ्छ। वर्षाको समयमा समस्या झन् गम्भीर बन्छ ।

यसको असर सडकमा गुड्ने सवारीसाधनमा पनि देखिन्छ । हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधनमा क्षति पुग्ने र मर्मत खर्च बढ्ने चालकहरूको अनुभव छ । यात्रुले पनि सहज र सुरक्षित यात्रा गर्न पाउँदैनन्। चालक खड्ग लामाका अनुसार सडकको अवस्था सुधार गर्न अब ढिलाइ गर्नु हुँदैन । ‘अब थप ढिलाइ नगरी सडक निर्माण सम्पन्न गर्नुपर्छ’, लामाले भने ।

खोरुङ्गा खोला-यावरा सडकको समस्या निर्माण सामग्री वा मौसमसँग मात्र जोडिएको छैन । मुख्य प्रश्न आयोजना कार्यान्वयनको गतिसँग जोडिएको छ । सम्झौता भएको वर्षाैंपछि पनि सडक अधुरो रहनु र पटक-पटक म्याद थपिनुले निर्माण व्यवस्थापनप्रति प्रश्न उठाएको छ ।

अहिलेसम्म सात पटकभन्दा बढी म्याद थपिएको भए पनि सडक निर्माणले अपेक्षित गति लिन सकेको छैन । यस अवधिमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, उनीहरूका लागि प्रत्येक नयाँ म्याद एउटा नयाँ प्रतीक्षा बनेको छ । समय बित्दै जाँदा सडक बन्ने अपेक्षा आश्वासनमा सीमित हुने खतरा बढेको स्थानीयको भनाइ छ ।

मध्यपहाडी लोकमार्गकै यावरा–पञ्चमी सडक खण्डको ठेक्का रद्द भइसकेको अवस्थामा खोरुङ्गा-यावरा खण्डमा भने निर्माण कम्पनीलाई पटक–पटक समय थप गरिएको छ । यसले एउटै लोकमार्गका विभिन्न खण्डमा ठेक्का व्यवस्थापन र निर्माण प्रगतिबीच देखिएको फरकलाई पनि उजागर गर्छ ।

निर्माण कम्पनीका सब–इञ्जिनियर नरेशकुमार मण्डलले भने निर्माण कार्य छिट्टै पुन: सुरु गर्ने र चालु आर्थिक वर्षभित्रै सडक कालोपत्रे सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि सडक निर्माणको प्रतीक्षा गरिरहेका स्थानीयवासीका लागि यो प्रतिबद्धता आशाको विषय बने पनि उनीहरू अब आश्वासनभन्दा कामको परिणाम हेर्ने अवस्थामा पुगेका छन् ।

खोरुङ्गा खोला–यावरा सडक मध्यपहाडी लोकमार्गको एउटा खण्ड भए पनि यसको महत्व स्थानीय सीमाभन्दा ठूलो छ । पहाडी क्षेत्रका बस्तीलाई बजारसँग जोड्ने, कृषि तथा अन्य स्थानीय उत्पादनको बजारीकरण सहज बनाउने र शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरमा पहुँच विस्तार गर्ने उद्देश्य बोकेको लोकमार्ग तेह्रथुममा करिब १ सय १९ किलोमिटर लामो छ । जिल्लाभित्र हालसम्म करिब ९५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्ड निर्माणाधीन छन् ।

लोकमार्गले पहाडी क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । तर, सडकको कुनै एउटा खण्ड लामो समयसम्म अधुरो रहँदा त्यसको प्रभाव आसपासका बस्तीमा मात्र सीमित हुँदैन । उत्पादन बजारसम्म पु‍र्याउने किसानदेखि यात्रु बोक्ने यातायात व्यवसायीसम्म यसको असर पुग्छ । सडक राम्रो हुँदा गाउँ र बजारबीचको दूरी घटेजस्तो हुन्छ, तर सडक कमजोर हुँदा त्यही दूरी समय, खर्च र जोखिमका हिसाबले लामो बन्न पुग्छ ।

खोरुङ्गा-यावरा खण्डमा देखिएको ढिलाइले नेपालका पूर्वाधार आयोजनामा देखिंदै आएको अर्काे पुरानो समस्या पनि सम्झाउँछ-ठेक्का सम्झौता हुने तर निर्धारित समयमा काम नसकिने । त्यसपछि म्याद थपिन्छ, निर्माणको गति सुस्त रहन्छ र आयोजना सम्पन्न हुने समय अनिश्चित बन्दै जान्छ । यस्तो अवस्थाले राज्यको लगानीको प्रभावकारितामाथि प्रश्न उठाउनुका साथै नागरिकमा विकास आयोजनाप्रतिको भरोसा पनि कमजोर बनाउँछ ।

राष्ट्रिय गौरवको आयोजनाको उद्देश्य केवल सडक निर्माण गर्नु मात्र होइन, त्यसले जोड्ने भूगोल र नागरिकको जीवनमा परिवर्तन ल्याउनु हो । त्यसैले निर्माण कम्पनीले सम्झौताअनुसारको जिम्मेवारी पूरा गर्नुपर्ने मात्र होइन, सम्बन्धित सरकारी निकायले पनि नियमित अनुगमन, प्रगतिको मूल्यांकन र आवश्यक कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ । संघीय संरचना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

११ वर्षदेखि अधुरो रहेको यो सडकले विकास आयोजना कति ढिलो अघि बढ्न सक्छ भन्ने मात्र देखाएको छैन, समयमै सार्वजनिक पूर्वाधार निर्माण नहुँदा त्यसको भार नागरिकले कसरी बोक्छन् भन्ने पनि देखाएको छ । अब खोरुङ्गा खोला–यावरा सडकको पहिचान वर्षायाममा हिलाम्मे हुने सडकका रूपमा होइन, लामो प्रतीक्षापछि पूरा भएको सडकका रूपमा बदलिनुपर्ने स्थानीयवासीको अपेक्षा छ ।

 

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?