+

कौशीबाट खुला आकाशतर्फ व्यक्त आकाङ्क्षा

एउटा असफल फिल्म परियोजनाले उनलाई गहिरो निराशामा पुर्‍यायो, तर त्यही मोडले कौशी थिएटर र उनी जस्ता निर्देशक जन्मायो। १५ भन्दा बढी नाटक निर्देशन गरिसकेकी आकाङ्क्षा कार्की समाजलाई जवाफ दिने निर्देशक होइनन्, बरु असहज प्रश्न सोध्ने, प्रतिरोध गर्ने र परिवर्तन खोज्ने एउटा सशक्त आवाज हुन्।
पूरा सूची
Shares
आकांक्षा कार्की
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रङ्गमञ्च निर्देशक तथा अभिनेता आकाङ्क्षा कार्कीले कलालाई समाजमा संवाद गर्ने, असमानतामाथि प्रश्न उठाउने र परिवर्तनको सम्भावना खोज्ने सशक्त माध्यमका रूपमा स्थापित गरेकी छन्।
  • सन् २०१९ मा स्थापित कौशी थिएटर मार्फत कार्कीले महिलाका अनुभव, पीडा र सङ्घर्षमा आधारित मौलिक नाटकहरू मञ्चन गर्दै रङ्गमञ्चमा महिलाको नेतृत्वलाई अघि बढाएकी छन्।
  • एक व्यावसायिक चलचित्रको असफलतापछि डिप्रेसनसँग जुधेकी कार्कीले सोही सङ्कटलाई अवसरमा बदल्दै नेपाली रङ्गमञ्चमा निर्देशकका रूपमा आफूलाई सशक्त रूपमा उभ्याउन सफल भएकी छन्।

नेपाली रङ्गमञ्चको पछिल्लो पुस्तामा आकाङ्क्षा कार्की यस्तो नाम हो, जसका लागि नाटक केवल अभिनय वा मनोरञ्जनको माध्यम होइन। उनका लागि रङ्गमञ्च समाजसँग संवाद गर्ने, असमानतामाथि प्रश्न उठाउने र परिवर्तनको सम्भावना खोज्ने माध्यम हो।

कौशी थिएटरकी संस्थापक आकाङ्क्षाको परिचय यतिमै सीमित छैन। उनी अभिनेता, लेखक, मनोपरामर्शदाता र प्रशिक्षक पनि हुन्।

सानैदेखि साहित्य, कविता र कलाप्रति रुचि भएकी आकाङ्क्षाले कक्षा ४ देखि नै मञ्चमा उभिएर अभिनय गर्न थालेकी थिइन्। तर, कलेज पुगेपछि मात्र उनले कला आफ्नो रुचि मात्र नभई जीवनको पहिचान भएको महसुस गरिन्।

उच्च शिक्षाका लागि उनी भारत गइन्। त्यहाँ उनले ‘पर्फर्मिङ आर्टस्’मा स्नातक र ‘काउन्सिलिङ साइकोलोजी’मा स्नातकोत्तर अध्ययन गरिन्। भारत बसाइ नै उनको रङ्गमञ्च यात्राको निर्णायक मोड बन्यो।

त्यो समय सम्झँदै आकाङ्क्षा भन्छिन्, ‘म स्वभावैले प्रतिस्पर्धी मान्छे थिइनँ, तर भारतको थिएटर कल्चरले मलाई प्रतिस्पर्धी र जुझारु बनायो।’

कलेजका प्रोजेक्टहरूमा अरूले नेतृत्व लिन नचाहेपछि उनले आफैं निर्देशनको जिम्मेवारी लिन थालिन्।

उनले निर्देशन गरेका ‘फेस हुक्ड’ र ‘र्‍याट रेस’ जस्ता नाटकले विभिन्न प्रतियोगितामा पुरस्कार समेत जिते। ‘फेस हुक्ड’ले सामाजिक सञ्जालको लतको विषय उठाएको थियो भने ‘र्‍याट रेस’ले सफलताको दौडमा कुँदिरहेको आधुनिक समाजमाथि व्यङ्ग्य गरेको थियो। संगीत र नाटकको संयोजन मन पराउने आकाङ्क्षाले भारतमा नुक्कड नाटक (सडक नाटक)को संस्कृतिलाई पनि नजिकबाट अनुभव गरिन्।

‘भजाइना मोनोलग्स’ को नेपाली रूपान्तरण

सन् २०१५ मा आकाङ्क्षा नेपाल फर्किइन्। फर्किएलगत्तै उनले युलेन्स स्कूलमा साइकोलोजिस्टका रूपमा आकर्षक तलब सहित काम शुरु गरिन्। कार्यालय समयबाहेक उनी व्यक्तिगत रूपमा पनि मनोपरामर्श दिन्थिन्।

जीवन सहज थियो। तर, उनको मन भने रङ्गमञ्चमै अडिएको थियो। त्यही समयमा उनले मण्डला थिएटरले महिला रङ्गमञ्चकर्मीका लागि आयोजना गरेको कार्यशालामा सहभागी हुने अवसर पाइन्। कार्यशाला सकिएपछि उनले भारतमा अभिनय गरेको चर्चित नाटक ‘भजाइना मोनोलग्स’ नेपालमा मञ्चन गर्ने प्रस्ताव राखिन्।

कौशी थिएटरको पहिलो प्रस्तुति थियो- ‘दयालु रूख’। रोचक संयोग के थियो भने, आकाङ्क्षाले यही नाटक भारतमा विद्यार्थी हुँदा पनि निर्देशन गरेकी थिइन्।

महिलाको शरीर र यौनिकताबारे खुला संवाद गर्न असभ्य ठानिने नेपाली समाजमा यो नाटक मञ्चन गर्नु आफैंमा चुनौतीपूर्ण थियो। अर्कोतर्फ, नाटक अंग्रेजीमै प्रस्तुत गर्दा त्यो सीमित दर्शकमा मात्र पुग्ने जोखिम पनि थियो। त्यसैले आकाङ्क्षाले आफ्ना साथीहरूसँग मिलेर नाटकको करिब ८० प्रतिशत भाग नेपालीमा अनुवाद गरिन्। त्यसपछि मण्डला थिएटरमा यसको पहिलो मञ्चन गरियो।

नाटकले अपेक्षाभन्दा ठूलो प्रतिक्रिया पायो। मण्डलाबाट शुरु भएको यसको यात्रा त्रिसारा र नेपाल पर्यटन बोर्डसम्म पुग्यो र सन् २०१९ सम्म निरन्तर मञ्चन भइरह्यो। यसले नेपाली समाज संवेदनशील विषयमा पनि खुला र तार्किक संवादका लागि तयार रहेको सन्देश दियो।

कौशी थिएटरको जग र ‘दयालु रूख’

‘भजाइना मोनोलग्स’ मञ्चनका क्रममा आकाङ्क्षाले केही नयाँ महसुस गरिन्। उनीहरूले प्रस्तुत गरिरहेको कथा अमेरिकी लेखकको अनुभवमा आधारित थियो। तर, रिहर्सलका क्रममा नेपाली महिलाहरूले आफ्नै जीवनका गहिरा, पीडादायी र कहिल्यै सार्वजनिक नभएका अनुभव सुनाउन थाले।

त्यही बेला उनको मनमा एउटा प्रश्न उठ्यो, किन हामी आफ्नै कथा मञ्चमा ल्याइरहेका छैनौं?

त्यही प्रश्नले उनलाई नेपाली महिलाका अनुभव, पीडा र सङ्घर्षमा आधारित मौलिक नाटक सिर्जना गर्न प्रेरित गर्‍यो। त्यसकै परिणामस्वरूप सन् २०१९ मा ‘प्राइभेट इज पोलिटिकल’ मञ्चनमा आयो। यसको लेखनमा सौरभ कार्की र सुरज सुवेदीको पनि सहकार्य थियो।

त्यतिबेला नेपाली रङ्गमञ्चमा पनि ‘मी टू’ आन्दोलनसँग सम्बन्धित बहसहरू सतहमा आउन थालेका थिए। आकाङ्क्षा कलाकारहरू, विशेषगरी महिला र सीमान्तकृत समुदायका सदस्यका लागि सुरक्षित, सम्मानजनक र समान अवसर भएको सिर्जनात्मक कार्यस्थल बनाउन चाहन्थिन्। यही सोचबाट ‘कौशी थिएटर’ को स्थापना भयो।

कौशी थिएटरको पहिलो प्रस्तुति थियो- ‘दयालु रूख’। रोचक संयोग के थियो भने, आकाङ्क्षाले यही नाटक भारतमा विद्यार्थी हुँदा पनि निर्देशन गरेकी थिइन्।

‘कलेजमा हुँदा मैले जम्मा एक हजार रुपैयाँको बजेटमा पूरा प्रोडक्सन तयार गरेकी थिएँ,’ उनी मुस्कुराउँदै सम्झिन्छिन्, ‘तर, वर्षौंपछि कौशीमा त्यही नाटक व्यावसायिक रूपमा गर्दा बजेट सय गुणाले बढेर एक लाख रुपैयाँ पुग्यो।’

कौशी स्थापना भएपछि आकाङ्क्षाले लगातार नाटक निर्देशन गरिन्। हालसम्म उनले १५ भन्दा बढी नाटक निर्देशन गरिसकेकी छन्। तीमध्ये ‘वेडिङ एल्बम’, ‘एनिमल फार्म’ र ‘प्ले द सिस्टम’ उल्लेखनीय छन्।

अपाङ्गता भएका कलाकारहरूसँग मिलेर उनले ‘बट स्टिल वी राइज’, ‘सिक रुम’ र ‘प्राइमा फेसी’ जस्ता नाटक पनि निर्देशन गरेकी छन्, जसले समावेशी रङ्गमञ्चप्रतिको उनको प्रतिबद्धता झल्काउँछन्।

हराएको हिरोइन र निर्देशकको जन्म

आकाङ्क्षा कार्की अहिले थिएटर निर्देशक, अभिनेता, लेखक र मनोपरामर्शदाताका रूपमा परिचित छिन्। तर, उनी आफूलाई सबैभन्दा सहज रूपमा ‘थिएटर निर्देशक’ भनेर चिनाउन रुचाउँछिन्। यो पहिचान भने सहज रूपमा बनेको होइन।

सन् २०१५ मा उनले चे शङ्कर निर्देशित नाटक ‘लुक ब्याक इन एङ्गर’ मा अभिनय गरिन्, जुन उनको अभिनय यात्राको महत्त्वपूर्ण मोड थियो। त्यही समयमा उनलाई एउटा व्यावसायिक चलचित्रमा अभिनय गर्ने प्रस्ताव आयो।

फिल्मका लागि उनले आकर्षक जागिर छाडिन्। तौल घटाइन्। अभिनयलाई पूर्ण समय दिइन्। हिरोइन बन्ने विशेष सपना नभए पनि निर्देशकको निरन्तर आग्रह र विश्वासका कारण उनले करिब ६७ महिना त्यो परियोजनालाई समर्पित गरिन्।

तर, करिब ४० प्रतिशत छायाङ्कन भएपछि प्राविधिक र आन्तरिक कारणले चलचित्र नै रोकियो।

त्यो घटनाले उनको जीवनमा गहिरो प्रभाव पार्‍यो।

‘सबै कुरा राम्रै चलिरहेको थियो। मैले किन जागिर छाडें? किन यति ठूलो जोखिम लिएँ? यही प्रश्नले मलाई लामो समयसम्म सताइरह्यो’, उनी सम्झिन्छिन्।

चलचित्र रोकिनासाथ उनी करिब आठ महिनासम्म डिप्रेसन र एन्जाइटीसँग जुधिन्। आफूले गरेको निर्णयप्रति पछुतोको भावनाले लगातार पछ्याइरह्यो।

तर, समयसँगै उनले त्यो घटनालाई फरक दृष्टिले हेर्न थालिन्।

‘अहिले फर्केर हेर्दा लाग्छ, यदि त्यो फिल्म बनेको भए शायद म हिरोइन त बन्थें होला, तर मभित्रको निर्देशक जन्मिने थिएन।’

उनका लागि त्यो असफलता अन्त्य होइन, नयाँ सुरुआत बन्यो। आफ्नै दृष्टि, आफ्नै कथा र आफ्नै सिर्जनात्मक ठाउँ बनाउनुपर्छ भन्ने सोच त्यही अनुभवबाट जन्मियो। त्यसैको परिणाम थियोकौशी थिएटर।

यद्यपि, चलचित्रसँगको उनको सम्बन्ध भने टुटेको छैन। उनले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार प्राप्त नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ मा सहायक निर्देशक र अभिनेत्रीका रूपमा काम गरिसकेकी छन्।

महिला निर्देशकको खडेरी र दोहोरो मापदण्ड

१५ भन्दा बढी नाटक निर्देशन गरिसक्दा पनि आकाङ्क्षालाई हरेक नयाँ प्रस्तुति पहिलो नाटक जत्तिकै चुनौतीपूर्ण लाग्छ। भन्छिन्, ‘निर्देशकका रूपमा आफूले अझै पनि प्रत्येक पटक आफूलाई प्रमाणित गरिरहनुपरेको महसुस हुन्छ।’

त्यो अनुभूति केवल सिर्जनात्मक दबाबका कारण होइन, महिला निर्देशक हुनुको अनुभवसँग पनि जोडिएको छ।

‘कुनै पुरुषले यही स्तरको काम गरेको भए उसले पाउने सम्मान अर्कै हुन्थ्यो जस्तो लाग्छ,’ आकाङ्क्षा भन्छिन्, ‘महिलाले गर्दा कताकता त्यसलाई त्यति गम्भीर रूपमा नलिइएको जस्तो लाग्छ।’

उनको अनुभवमा, दुई वटा मात्र नाटक निर्देशन गरेका पुरुष निर्देशकले पाउने चर्चा र वर्षौंदेखि निरन्तर गुणस्तरीय काम गरिरहेकी महिला निर्देशकले पाउने कदर बीच अझै पनि ठूलो अन्तर छ।

‘केटा मान्छेले एकचोटि राम्रो काम गर्‍यो भने ऊ सधैंका लागि ‘भव्य’ मानिन्छ। तर महिलाले भने हरेक नयाँ कामसँगै थप क्षमता प्रमाणित गर्नुपर्छ’, उनी भन्छिन्।

उनका अनुसार चलचित्र उद्योग अझै पनि पुरुष–केन्द्रित भाष्यबाट पूर्ण रूपमा मुक्त भइसकेको छैन। रङ्गमञ्च भने तुलनात्मक रूपमा बढी समावेशी छ। थिएटरमा महिलाकेन्द्रित कथा, महिला कलाकारको सहभागिता र लैङ्गिक समानताप्रति संवेदनशीलता देखिने वातावरण बनेको छ।

तर, निर्देशन र सिर्जनात्मक नेतृत्वको तहमा भने महिलाको उपस्थिति अझै न्यून छ। केही महिला निर्देशकले यात्रा शुरु गरे पनि आर्थिक अस्थिरता, पारिवारिक जिम्मेवारी र दीर्घकालीन असुरक्षाका कारण धेरैले निरन्तरता दिन सक्दैनन्।

आफ्नो यात्राबारे बोल्दै आकाङ्क्षा भन्छिन्, ‘जीवनसाथी सुदाम सिके पनि यही क्षेत्रको भएकाले मैले आजसम्म थिएटरलाई निरन्तरता दिन सकेकी हुँ। अर्को कुरा, मेरो सन्तान छैन। बाहिरबाट हेर्दा यी सामान्य कुरा लाग्लान्, तर एउटा महिला कलाकारका लागि यो क्षेत्रमा टिकिरहन यस्ता पारिवारिक अवस्थाले धेरै फरक पार्दो रहेछ।’

कौशीको स्टेजबाट उठ्ने प्रश्नहरू

स्रोत–साधनको चरम अभावका बाबजुद नेपाली रङ्गमञ्चले आफ्नो जीवन्त पहिचान फैलाइरहेको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा यसको प्रशंसा पनि हुने गरेको छ। तर, त्यो प्रशंसाले यहाँका रङ्गकर्मीको दैनिक यथार्थ भने बदलिएको छैन।

अझै पनि धेरै कलाकार र निर्देशकका लागि थिएटर जीविकोपार्जनको आधार बन्न सकेको छैन। आकाङ्क्षा स्वयं पनि थिएटरसँगै मनोपरामर्श र अन्य पेशागत काममा सक्रिय छिन्।

‘मैले अरू सबै काम छोडेर थिएटरमै मात्र भर पर्ने हो भने न मेरो जीवन चल्छ, न यो थिएटर’, उनी स्पष्ट भन्छिन्। यद्यपि, आर्थिक कठिनाइभन्दा पनि उनको चिन्ता अर्को छरङ्गमञ्चमा कुन कथा भन्ने, कसका अनुभव सुनाउने र ती कथा किन भन्ने ?

आकाङ्क्षाका लागि नाटकको जन्म असहज प्रश्नबाट हुन्छ। उनी आफ्ना भोगाइ, समाजका विसङ्गति र विशेषगरी महिलाले भोग्ने असहज अनुभवलाई नाटकको आधार बनाउँछिन्।

‘जुन कुराले मलाई भित्रैदेखि हल्लाउँछ, आक्रोशित बनाउँछ, म त्यही स्क्रिप्ट छान्छु’, उनी भन्छिन्।

थिएटरमा आउने नयाँ पुस्तालाई पनि उनी यही सन्देश दिन्छिन्- ‘कुनै काम तिम्रो पैतालादेखिभित्री आत्मादेखिआउँदैन भने त्यो काम कहिल्यै नगर।’

अनेक सामाजिक अवरोध, आर्थिक चुनौती र प्रणालीगत विभेद बीच आकाङ्क्षा कार्कीले नेपाली रङ्गमञ्चमा आफ्नो छुट्टै स्थान बनाएकी छन्। तर, उनको सबैभन्दा ठूलो उपलब्धि शायद त्यो होइन।

उनले बनाएका नाटकहरूले दर्शकलाई सहज उत्तर दिंदैनन्; बरु असहज प्रश्नहरू सोध्छन्। आकाङ्क्षा कार्कीका लागि सफलता पनि शायद त्यही हो।

लेखक
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।