News Summary
Generated by OK AI. Editorially reviewed.- नेशनल पाथ ल्याबले काठमाडौंको महाराजगञ्जमा विश्वप्रसिद्ध अप्टिलाइट एनलाइजर उपकरण सञ्चालनमा ल्याएको छ ।
- यो प्रविधिबाट जटिल रोगको पहिचान, उपचार योजना र प्रभावकारिताको अनुगमन अब नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न सकिने भएको छ ।
काठमाडौं । शरीरभित्र विकास भइरहेका कतिपय जटिल रोगको संकेत सामान्य परीक्षणबाट सजिलै पत्ता लाग्दैन । विशेषगरी प्रतिरक्षा प्रणालीमा हुने गडबडी, रक्तसम्बन्धी क्यान्सर, मिर्गौला रोग तथा अटोइम्युन रोगको पहिचानका लागि रगतमा रहेका विशेष प्रकारका प्रोटिनको अवस्था बुझ्नुपर्ने हुन्छ।
यस्ता रोगको पहिचान, उपचार योजना निर्माण र उपचारको प्रभावकारिता मूल्यांकन लागि गरिने विशेष प्रोटिन परीक्षण लामो समयसम्म नेपालमा सीमित पहुँचमा थियो । कतिपय जटिल परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने वा सीमित प्रयोगशालामा मात्र भर पर्नुपर्ने अवस्था थियो ।
अब भने यस्ता परीक्षण नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न सकिने भएको छ । नेशनल पाथ ल्याब (एनपीएल) ले काठमाडौंको महाराजगञ्जस्थित आफ्नो केन्द्रीय प्रयोगशालामा विश्वप्रसिद्ध अप्टिलाइट एनलाइजर उपकरण सञ्चालनमा ल्याएको छ ।
यससँगै विशेष प्रोटिनसम्बन्धी अत्याधुनिक परीक्षण सेवा नेपाली बिरामीले स्वदेशमै प्राप्त गर्ने भएका छन् । नेशनल प्याथ ल्याबका अनुसार यो प्रविधिले रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानी अझ छिटो, छरितो र विश्वसनीय बनाउनेछ ।
अप्टिलाइट एनलाइजर कस्तो उपकरण ?
नेशनल प्याथ ल्याबका कार्यकारी निर्देशक पवन जोशीका अनुसार अप्टिलाइट एनलाइजर विशेष प्रोटिन परीक्षणका लागि विकास गरिएको अत्याधुनिक पूर्ण स्वचालित प्रयोगशाला प्रणाली हो ।
यसले रगतमा रहेका विभिन्न प्रकारका प्रोटिनको मात्रा अत्यन्तै सूक्ष्म र सटिक रूपमा मापन गर्छ ।
‘विशेष प्रोटिन परीक्षणले शरीरभित्र भइरहेका धेरै जटिल अवस्थाबारे जानकारी दिन्छ । यसले चिकित्सकलाई रोगको पहिचानदेखि उपचारको निगरानीसम्म महत्वपूर्ण सहयोग पुर्याउँछ, ’जोशीले भने ।
उनका अनुसार शरीरको प्रतिरक्षा प्रणाली, संक्रमणसँग लड्ने क्षमता तथा विभिन्न रोगको अवस्थाबारे जानकारी दिन रगतमा रहेका प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छन् । यी प्रोटिनको मात्रा वा संरचनामा आउने परिवर्तनले शरीरभित्र भइरहेको रोग प्रक्रियाको संकेत दिन सक्छ ।
यो उपकरणले परीक्षण प्रक्रियालाई स्वचालित बनाउँदै कम समयमा विश्वसनीय नतिजा उपलब्ध गराउँछ । उच्च शुद्धता, एउटै नमुनाको पटक–पटक परीक्षण गर्दा पनि समान नतिजा दिने क्षमता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुसार परीक्षण गर्न सक्ने विशेषताका कारण यो विशेष प्रोटिन परीक्षणका लागि महत्वपूर्ण प्रविधि मानिन्छ ।
यस उपकरणबाट कुन–कुन परीक्षण गर्न सकिन्छ ?
अप्टिलाइट एनलाइजर उपकरणमार्फत विशेष प्रोटिनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण परीक्षण गर्न सकिन्छ ।
इम्युनोग्लोबुलिन (आईजीजी, आईजीए र आईजीएम)
यी शरीरले संक्रमणसँग लड्न बनाउने प्रतिरक्षात्मक प्रोटिन अर्थात् एन्टिबडी हुन् । बारम्बार संक्रमण हुने, प्रतिरक्षा प्रणाली कमजोर भएको शंका लाग्ने वा विभिन्न प्रतिरक्षा सम्बन्धी रोगको मूल्यांकनका लागि यी परीक्षण गरिन्छन् ।
आईजीजीका उपसमूह परीक्षण
आईजीजीका विभिन्न उपसमूहको परीक्षणले शरीरको प्रतिरक्षा क्षमताबारे थप जानकारी दिन्छ । सामान्य परीक्षणबाट नदेखिने केही प्रतिरक्षा कमजोरी पहिचान गर्न यो परीक्षण उपयोगी हुन्छ ।
फ्रि कप्पा तथा ल्याम्ब्डा लाइट चेन परीक्षण
यो परीक्षण विशेषगरी मल्टिपल मायलोमा तथा मोनोक्लोनल गामोप्याथीजस्ता रक्तसम्बन्धी रोगको पहिचान र उपचारको निगरानीका लागि महत्वपूर्ण मानिन्छ ।
नेशनल पाथ ल्याबका प्रमुख समेत रहेका कन्सलटेन्ट प्याथोलोजिस्ट डा. जीवन अधिकारीका अनुसार यस्ता परीक्षणले रक्तसम्बन्धी जटिल रोगको पहिचानमा महत्वपूर्ण भूमिका खेल्छन् ।
‘कतिपय अवस्थामा सामान्य परीक्षणबाट रोगको स्पष्ट अवस्था थाहा हुँदैन । विशेष प्रोटिन परीक्षणले रोगको प्रकृति बुझ्न र उपचारको प्रभाव मूल्यांकन गर्न थप सहयोग गर्छ’ डा. अधिकारी भन्छन् ।
कम्प्लिमेन्ट प्रणाली परीक्षण (सी–३, सी–४ र सीएच–५०)
शरीरको प्रतिरक्षा प्रणालीअन्तर्गत रहेको कम्प्लिमेन्ट प्रणालीले संक्रमणसँग लड्न महत्वपूर्ण भूमिका खेल्छ । यो प्रणालीको अवस्था मूल्यांकन गर्न यी परीक्षण गरिन्छन् । अटोइम्युन रोग तथा केही प्रतिरक्षा विकारको पहिचानमा यसको विशेष महत्व हुन्छ ।
बिटा–२ माइक्रोग्लोबुलिन परीक्षण
यो परीक्षण मिर्गौला रोग, केही प्रकारका रक्तसम्बन्धी क्यान्सर तथा प्रतिरक्षा प्रणालीसँग सम्बन्धित अवस्थाको मूल्यांकनमा उपयोगी हुन्छ ।
सी–१ इस्टरेज इन्हिबिटर परीक्षण
यो परीक्षण वंशाणुगत एन्जियोइडेमा जस्ता दुर्लभ रोग पहिचानका लागि प्रयोग गरिन्छ ।
किन महत्वपूर्ण छ, यो प्रविधि ?
चिकित्सा विज्ञानमा रोगको समयमै पहिचान उपचार सफलताको महत्वपूर्ण आधार मानिन्छ । तर कतिपय जटिल रोग सामान्य परीक्षणबाट पहिचान गर्न कठिन हुन्छन् । त्यस्ता अवस्थामा विशेष प्रोटिन परीक्षणले रोगको वास्तविक अवस्था बुझ्न महत्वपूर्ण भूमिका खेल्छ ।
डा. जीवन अधिकारीका अनुसार विशेष प्रोटिन परीक्षणले चिकित्सकलाई रोगको अवस्था मात्र होइन, उपचारको प्रभावकारिता बुझ्न पनि सहयोग गर्छ । ‘उपचारपछि बिरामीमा कस्तो सुधार भइरहेको छ भन्ने हेर्न यस्ता परीक्षण निकै उपयोगी हुन्छन्’ उनी भन्छन् ।
चिकित्सक र बिरामीलाई के फाइदा ?
यो प्रविधिको सबैभन्दा ठूलो लाभ समयमै विश्वसनीय परीक्षण नतिजा उपलब्ध हुनु हो । परीक्षण प्रतिवेदन छिटो आएपछि चिकित्सकले उपचार प्रक्रिया समयमै अघि बढाउन सक्छन् ।
साथै उपचारपछि बिरामीको अवस्था सुधार भइरहेको छ कि छैन, रोग नियन्त्रणमा छ कि छैन भन्ने नियमित निगरानी गर्न पनि सहज हुन्छ । विदेशमा नमुना पठाउनुपर्ने आवश्यकता घट्ने, परीक्षणका लागि लामो समय कुर्न नपर्ने तथा अन्तर्राष्ट्रिय गुणस्तरको सेवा स्वदेशमै उपलब्ध हुने भएकाले बिरामी र चिकित्सक दुवैलाई प्रत्यक्ष लाभ पुग्ने ल्याबको दाबी छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सेवा विस्तार गर्ने लक्ष्य
पवन जोशीका अनुसार नेशनल पाथ ल्याबले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला सेवा उपलब्ध गराउने लक्ष्यअनुसार नयाँ प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ ।
‘अप्टिलाइट एनलाइजर सञ्चालनमा आएपछि विशेष प्रोटिन परीक्षणको क्षेत्रमा नयाँ मापदण्ड स्थापित हुने विश्वास लिएका छौं । यसबाट चिकित्सकले थप विश्वसनीय नतिजा प्राप्त गर्नुका साथै बिरामीले स्वदेशमै विश्वस्तरीय परीक्षण सेवा पाउनेछन्’ उनी भन्छन् ।
नेशनल पाथ ल्याबले विगत केही वर्षदेखि आणविक निदान, आनुवंशिक परीक्षण, फ्लो साइटोमेट्री, गर्भपूर्व आनुवंशिक परीक्षण तथा संक्रामक रोगको आणविक परीक्षणलगायतका क्षेत्रमा अत्याधुनिक सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया 4