+
+
Shares
सिद्धार्थ बैंक सीईओ बस्यालसँग वार्ता :

बैंकहरूले कर्जा बढाउने भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ

बढ्दो डिजिटल कारोबारले बैंकिङ सुरक्षामा चुनौती थपियो

‘परिस्थितिजन्य कारणले समस्यामा परेका व्यवसायलाई पुनर्जीवित गर्न सहयोग गर्ने र नियतवश दायित्व पूरा नगर्ने अवस्थामा कानुनी तथा असुली प्रक्रिया प्रभावकारी बनाउनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १७:४०

बैंकहरूमा बढ्दो तरलता र घट्दो ब्याजदरका बीच कर्जा विस्तार सुस्त छ । अर्कातर्फ कतिपय कर्जा असुली  हुन नसक्दा बैंकहरूको खराब कर्जा बढेको छ । बढ्दो डिजिटल कारोबारसँगै सुरक्षामा चुनौती पनि थपिएका छन् । यिनै विषयलाई समेट्दै सिद्धार्थ बैंकका सीईओ रामेश्वरप्रसाद बस्यालसँग गरिएको कुराकानी :

डिजिटल बैंकिङले अहिले व्यापकता पाएको छ । बैंकहरूले पनि डिजिटल बैंकिङलाई जोड दिँदै आइरहेका छन् । तपाईंहरूले डिजिटल सेवाहरूलाई कसरी अघि बढाइरहेको छ ?

नेपालको युवा पुस्ता डिजिटल बैंकिङ सेवाको सबैभन्दा गतिशील र सचेत ग्राहक समूह हो। उनीहरूलाई शाखामा पुगेर बैंकिङ सेवा उपभोग गर्ने परम्परागत मोडलभन्दा छिटो, सुरक्षित, सरल र जुनसुकै समय र स्थानबाट उपलब्ध हुने सेवा चाहिन्छ। त्यसैले सिद्धार्थ बैंकले डिजिटल बैंकिङलाई केवल वैकल्पिक माध्यमका रूपमा होइन, बदलिदो बैंकिङ परिवेशमा दिगो बैंकिङको लागि आधारभुत आवश्यक्ताको रुपमा हेरेको छ ।

हामी इजी बैंक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन खाता खोल्ने सुविधा, कार्ड सेवा, डिजिटल भुक्तानी जस्ता विभिन्न ग्राहकमैत्री सेवाहरुको विकास, विस्तार र निरन्तर परिमार्जन गर्दै आएकाछौं।

नयाँ सुविधा थप्नु मात्र पर्याप्त हुँदैन । ग्राहकले पहिलो पटक प्रयोग गर्दा सहजै बुझ्ने इन्टरफेस, न्यून कारोबार समय र यसरी गरिएको कारोबारको तत्काल सूचनाका साथै कुनै समस्या परेको अवस्थामा शीघ्र सहयोग पाउने व्यवस्था मिलाउनु त्यतिकै महत्त्वपूर्ण हुन्छ ।

युवा ग्राहकको आवश्यकता एउटै हुँदैन। विद्यार्थी, जागिरे, स्वतन्त्र पेशाकर्मी, विदेशमा अध्ययन वा काम गर्ने परिवार, स्टार्टअप सञ्चालक र साना उद्यमीका वित्तीय आवश्यकता र व्यवहार फरक हुन्छन्। त्यसैले हामी डेटा एनलाइसिसको प्रयोगमार्फत ग्राहकको लाइफस्टाइल र कारोबार प्रकृति अनुसार व्यक्तिगतसेवा उपलब्ध गराउने दिशातर्फ अग्रसर छौं।

यससँगै साइबर सेक्युरिटी डेटा प्राइभेसी र ग्राहक सचेतना हाम्रो पहिलो प्राथमिकता हुन्। डिजिटल सेवा जति सहज हुन्छ, त्यसको सुरक्षा संरचना पनि त्यति नै मजबुत हुनु आवश्यक छ । बहुतह प्रमाणीकरण, कारोबार निगरानी, जोखिममा आधारित नियन्त्रण र नियमित ग्राहक सचेतना अभियानमार्फत हामी सुविधा र सुरक्षाबीच सन्तुलन कायम गर्दै आएका छौं। हाम्रो लक्ष्य डिजिटल कारोबार बढाउनु मात्र होइन, युवाको दैनिक वित्तीय जीवनलाई सरल, सुरक्षित र उत्पादक बनाउनु हो।

सबैले सहज रुपमा डिजिटल कारोबार गर्न सक्ने वा प्रयोगकर्तामैत्री बनाउन र यसप्रति विश्वास बढाउने वातावरण पनि बैंकहरूले बनाउनुपर्ला नि ?

हो, डिजिटल सोलुसन्स सफल भएको मापन केवल एप डाउनलोड वा कारोबारको संख्याबाट मात्र हुँदैन । देशका विभिन्न भूगोल, आयस्तर र फरक डिजिटल साक्षरताका ग्राहकले त्यसलाई आत्मविश्वासका साथ प्रयोग गर्न सके कि सकेनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले डिजिटल सोलुसन्स डिजाइन गर्दा सरल भाषा, न्युन कारोबार समय, स्पष्ट निर्देशन, लो ब्यान्डविथमा पनि काम गर्ने क्षमता सुरक्षा र आधिकारिकतालाई प्राथमिकता दिएका छौं।

सहरी क्षेत्रका ग्राहकले पूर्णतः डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न सक्छन् भने ग्रामीण तथा अर्धसहरी क्षेत्रमा डिजिटल र मानवीय सहयोगको संयोजन आवश्यक हुन्छ। बैंकका शाखा, विस्तारित सेवा केन्द्र, ग्राहक सहायता संयन्त्रको माध्यमबाट पहिलोपटक डिजिटल सेवा प्रयोगकर्तालाई सेवा सुरु गर्न, कारोबार बुझ्न र समस्या समाधान गर्न मद्दत गर्दै आएका छौं।

भिडियो बैंकिङजस्ता सेवाले भौतिक दूरी घटाउँदछ, तर यस सेवालाई थप प्रभावकारी बनाउन सही ग्राहक पहिचान, प्रमाणीकरण, स्पष्ट सहमति र ग्राहकले बुझ्ने सहज प्रक्रिया अनिवार्य हुन्छ।

क्युआरमा हाम्रो ध्यान भुक्तानी स्वीकार गर्ने व्यापारी र भुक्तानी गर्ने ग्राहक दुवैको सन्तुष्टिमा आधारित छ। स्थानीय बजार, शैक्षिक संस्था, साना व्यवसाय तथा सेवा प्रदायकलाई जोड्दै डिजिटल कारोबारको उपयोगितालाई दैनिक जीवनसँग जोड्नुपर्छ।

साथै गलत क्यूआर, फिसिङ, ओटीपी दुरुपयोग र सोसल इन्जिनियरिङ सम्बन्धी जोखिमबारे ग्राहकलाई नियमित रूपमा सचेत गराउनु त्यतिकै आवश्यक छ।

हामी ग्राहकको सुझाव तथा प्रतिक्रिया, असफल कारोबारको विवरण, सहायता अनुरोध र प्रयोगको प्रकृति विश्लेषण गरेर हाम्रा सेवालाई निरन्तर सुधार गर्दै आएका छौं । प्रविधि ग्राहक अनुकूल हुनुपर्छ, ग्राहक प्रविधि अनुकूल हुन बाध्य हुनु हुँदैन। यही सिद्धान्तलाई अवलम्वन गरी सहरी र ग्रामीण दुवै क्षेत्रका युवालाई समावेशी डिजिटल बैंकिङ सेवा प्रदान गर्न सकिन्छ भन्ने बैंकको विश्वास रहेको छ ।

युवालाई उद्यमी बनाउन, महिला सशक्तिकरण गर्न तथा वित्तीय समावेशीकरणलाई सहयोग पुर्‍याउन सिद्धार्थ बैंकले के कस्तो भूमिका खेलिरहेको छ ?

डिजिटल बैंकिङले नै युवा र महिला उद्यमीका लागि तीनवटा प्रमुख अवरोध घटाउन मद्दत गर्दछ । ती हुन्– दूरी, समय र कारोबारको औपचारिक अभिलेख अभाव। डिजिटल भुक्तानी, मोबाइल बैंकिङ र अनलाइन सेवा प्रयोग गर्दा साना व्यवसायको कारोबार रेकर्ड सुरक्षित रहन्छ, जसले भविष्यमा नगद प्रवाह बुझ्न, वित्तीय अनुशासन स्थापित गर्न र उपयुक्त कर्जा मूल्यांकन गर्न सहयोग पुर्‍याउँछ।

सिद्धार्थ बैंकले महिला तथा साना–मझौला उद्यमीलाई लक्षित गरी विभिन्न कर्जा योजना सञ्चालनमा ल्याउनुका अतिरिक्त वित्तीय परामर्श र डिजिटल कारोबारमा जोड्ने प्रयास गर्दै आएको छ।

हाम्रो दृष्टिकोण केवल कर्जा उपलब्ध गराउने होइन । व्यवसायको आवश्यकता, नगद प्रवाह, बजार सम्भावना र व्यवस्थापकीय क्षमता बुझेर दीर्घकालीन साझेदार बन्ने हो ।विशेषगरी प्रारम्भिक चरणका उद्यमीलाई कर्जा प्रक्रियाको बुझाइ, कागजात व्यवस्थापन र व्यवसायिक खाताको सही प्रयोग सम्बन्धी सचेतना आवश्यक हुन्छ।

महिला उद्यमीका हकमा धितो, औपचारिक स्वामित्व र वित्तीय जानकारीको पहुँचजस्ता संरचनात्मक चुनौतीहरू हुन सक्छन्। त्यसैले नियामकीय सीमाभित्र रहँदै नगद प्रवाहमा आधारित कर्जा मूल्यांकन, व्यवसायको वास्तविक क्षमता अनुरुप कर्जा सम्बन्धी अवधारणा, वित्तीय साक्षरता र बजारसँग जोड्ने सहकार्य महत्त्वपूर्ण हुन्छ।

हामी वित्तीय समावेशीकरणलाई केवल कति खाता खोलियो भन्ने कुरामा मात्र सीमित राख्दैनौं। खाता सक्रिय छ कि छैन, डिजिटल कारोबार भइरहेको छ कि छैन, बचत गर्ने बानी बसेको छ कि छैन र उद्यमीले आफ्नो व्यवसाय विस्तार गर्न वित्तीय सेवा उपयोग गर्न सकेको छ कि छैन भन्ने जस्ता विभिन्न सूचकहरूलाई त्यत्तिकै प्राथमिकताका साथ हेर्ने गर्छौँ । युवा र महिलाको आर्थिक सहभागिता बढे परिवार, समुदाय र राष्ट्रिय अर्थतन्त्र सबै तिर गुणात्मक प्रभाव पर्छ।

हाल  बैंकहरूको निष्क्रिय कर्जा बढिरहेको छ,  सिद्धार्थ बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न कस्ता प्रयास गरिरहेको छ ?

निष्क्रिय कर्जा बढ्नु केवल असुली विभागको विषय होइन । यो कर्जा प्रस्ताव तयार हुने चरणदेखि स्वीकृति, वितरण, अनुगमन र पुनर्भुक्तानीसम्मको सम्पूर्ण कर्जा जीवनचक्रसँग सम्बन्धित विषय हो। त्यसैले सिद्धार्थ बैंकले जोखिम व्यवस्थापनलाई व्यवसाय रोक्ने संयन्त्र होइन, गुणस्तरीय र दिगो वृद्धि सम्भव बनाउने आधारका रूपमा लिएको छ।

पहिलो, हामी जोखिम लिन सक्ने सीमा (रिस्क एपिटाइट फ्रेमवर्क), क्षेत्रगत सीमा, ग्राहक तथा समूहगत ‘एक्सपोजर’, धितोको गुणस्तर र नगद प्रवाहमा आधारित कर्जा मूल्यांकनलाई थप सुदृढ गर्दैछौँ।

कर्जाको भुक्तानीको प्राथमिक स्रोत भनेको व्यवसाय, व्यापारले आय आर्जन गर्ने क्षमता हुनुपर्छ र धितो दोस्रो सुरक्षा मात्र हो। व्यवसायको वास्तविक नगद प्रवाह, बजार, व्यवस्थापन क्षमता, संवेदनशीलता र वैकल्पिक परिदृश्यको परीक्षण गरेर मात्र निर्णय गर्ने प्रणालीको अवलम्बन तथा पालना अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

दोस्रो, ‘अर्ली वार्निङ सिग्नल’हरूलाई समयमै पहिचान गर्न डेटामा आधारित अनुगमन, नियमित पोर्टफोलियो समीक्षा, खाताको व्यवहार, कारोबारमा गिरावट, किस्ता ढिलाइ जस्ता विभिन्न संकेत र क्षेत्रगत तनावको विश्लेषण गरिन्छ। समस्या देखिएपछि मात्र सक्रिय हुने होइन कि समस्या आउनुअघि ग्राहकसँग संवाद सुरु गर्ने हाम्रो उद्देश्य हो।

तेस्रो, स्ट्रेस टेस्टिङ (असामान्य वा खराब अवस्था आएमा त्यसले कति क्षति सहन सक्छ भनेर परीक्षण गर्ने प्रक्रिया), सेनारियो एनलाइसिस (परिदृष्य विश्लेषण), प्रभावकारी धितो व्यवस्थापन र स्पष्ट रिकभरी रणनीतिलाई जोड दिइएको छ।

विभिन्न परिस्थितिजन्य कारणले व्यवसाय अस्थायी समस्यामा परेको छ भने नियामकीय व्यवस्थाभित्र रही पुनर्संरचना वा पुनर्तालिकीकरणको बाटो अवलम्बन गर्न सकिन्छ । तर नियतवश वा दीर्घकालीन समस्यामा रहेका व्यवसायको हकमा भने बैंकले आवश्यक असुली प्रक्रिया अवलम्बन गर्दै आएको छ ।

व्यवसाय वृद्धि र जोखिम नियन्त्रण परस्पर विरोधी होइनन्। सही ग्राहक, सही क्षेत्र, सही संरचना र सही मूल्य निर्धारणसहितको कर्जा विस्तारले नै बैंकलाई स्थायी रूपमा सबल बनाउँछ । हाम्रो अबको लक्ष्य कर्जा वृद्धि मात्र होइन, गुणस्तरीय कर्जा वृद्धि हो।

तपाईंको बैंकको एनपीए अनुपात बैंकिङ क्षेत्रको औसत अनुपातसँग दाँज्दा कस्तो छ ? हालैका दिनमा कुन–कुन क्षेत्रका कर्जा बढी दबाबमा देखिएको छ ?

तेस्रो त्रैमाससम्म सार्वजनिक भएको वित्तीय विवरण अनुसार हाम्रो निष्क्रिय कर्जा अनुपात बैंकिङ क्षेत्रको औसत अनुपातभन्दा कम रहेको छ । तर बैंकको सम्पत्ति गुणस्तर बुझ्न निष्क्रिय कर्जा अनुपातलाई मात्र अलग्याएर हेर्नु पर्याप्त हुँदैन।

नयाँ खराब कर्जा थपिने दर, असुली, प्रोभिजन कभरेज, पुनर्संरचित कर्जाको अवस्था, धितोको वास्तविक मूल्य र पूँजीमा पर्न सक्ने प्रभावलाई समग्र रूपमा हेर्नुपर्छ।

समग्र बजारको दृष्टिले आर्थिक गतिविधिमा गिरावट, उपभोग र लगानीमा देखिएको शिथिलता तथा परियोजना कार्यान्वयनमा ढिलाइले निर्माण क्षेत्र, रियल इस्टेटसँग सम्बद्ध व्यवसायहरु र साना तथा मझौला उद्यम व्यवसयहरुमा निष्क्रिय कर्जा केही बढेको देखिन्छ । तर यिनै क्षेत्रका सबै ग्राहकलाई समान जोखिमयुक्त मान्नु उचित हुँदैन । ग्राहकको व्यापार मोडल, ऋण संरचना, नगद प्रवाह र व्यवस्थापन क्षमताअनुसार अवस्था फरक फरक हुन सक्छ ।

हामीले उच्च जोखिम भएका ग्राहकको हकमा थप निगरानी तथा अनुगमन गर्ने, नियमित अन्तरालमा क्षेत्रगत समीक्षा गर्ने, आवश्यक अतिरिक्त सुरक्षण लिने, नगद प्रवाह पुनर्मूल्यांकन र स्पष्ट कार्ययोजना माग गर्ने गरेका छौं । परिस्थितिजन्य कारणले समस्यामा परेका व्यवसायलाई पुनर्जीवित गर्न सहयोग गर्ने र नियतवश दायित्व पूरा नगर्ने अवस्थामा कानुनी तथा असुली प्रक्रिया प्रभावकारी बनाउनुपर्छ । यी दुई दृष्टिकोणलाई समुचित ढंगले अवलम्बन गर्नुपर्दछ ।

हाम्रो ध्यान केवल अल्पकालीन सुधारमा मात्र नभई पोर्टफोलियोको दीर्घकालीन सुधार तथा सबलीकरणमा केन्द्रित छ । समस्याको सही पहिचान, पर्याप्त कर्जा नोक्सानी व्यवस्था, पारदर्शी वर्गीकरण र समयमै अवलम्बन गरिने उचित कर्जा व्यवस्थाको परिपाटीले लगानीकर्ता, निक्षेपकर्ता र नियामक सबैको विश्वास सुदृढ हुन्छ।

लोन डिफल्ट (कर्जा तिर्न नसक्ने अवस्था) हुन सक्ने साना तथा मझौला उद्योग र अन्य संवेदनशील क्षेत्रलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?, जसले बैंकको पूँजी पर्याप्तता एवम् तरलता अनुपातलाई सन्तुलित बनाइरहेको छ ।

एसएमई क्षेत्र रोजगारी, स्थानीय उत्पादन र अर्थतन्त्रको मेरुदण्ड हो। कठिन समयमा बैंकले सबै जोखिमबाट टाढा रहनुपर्छ भन्ने हो भने अर्थतन्त्रको पुनरुत्थान कमजोर हुन्छ । अर्कोतर्फ जोखिमको उचित मूल्यांकनबिना कर्जा प्रवाह गर्दा निक्षेपकर्ताको हित र बैंकको स्थायित्वमा असर पर्छ।

त्यसैले सन्तुलित र तथ्यमा आधारित दृष्टिकोण आवश्यक हुन्छ। पहिलो, हामी पूँजी पर्याप्तता र तरलताका नियामकीय न्यूनतम सीमा मात्र होइन, आन्तरिक व्यवस्थापकीय बफरसमेत कायम राख्ने प्रयास गर्छौं।

‘एसेट्स लायबिलिटी म्यानेजमेन्ट कमिटी’ (एएलसीओ), स्ट्रेस टेस्टिङ, एसेट्स लायबिलिटी म्यचुरिटी मिसम्याच एनलाइसिस, निक्षेप स्रोतको विविधीकरण र स्थिर तथा कम लागतको निक्षेप वृद्धिबाट कर्जा विस्तारका लागि सुरक्षित आधार बनाउन प्रयासरत छौं ।

दोस्रो, पूँजीलाई जोखिमअनुसार विनियोजन गर्नुपर्छ। एउटै दर र एउटै संरचनामा सबै व्यवसायलाई कर्जा दिनुभन्दा क्षेत्र, नगद प्रवाह, धितो, कर्जा अवधि र जोखिमअनुसार कर्जा विविधिकरण गर्दै आएका छौं । छोटो अवधिको चालु पूँजी आवश्यकतालाई दीर्घकालीन ऋणले वा दीर्घकालीन परियोजनालाई छोटो स्रोतले वित्तपोषण गर्दा असन्तुलन बढ्छ।

तेस्रो, अस्थायी दबाबमा रहेका तर आधारभूत रूपमा व्यवहारीक कठिनाइ भोगी रहेका एसएमईलाई समयमै पहिचान गरी नियामकीय प्रावधानभित्र रही पुनर्तालिकीकरण, नगद प्रवाह अनुकूल किस्ता, वित्तीय परामर्श र डिजिटल भुक्तानीमार्फत कारोबार औपचारिकीकरणमा सहयोग गर्न सकिन्छ। यस्ता किसिमका उपायहरुको अवलम्बन गरी बैंकले व्यवसायलाई पुनःसबल बनाउनु मद्दत गर्दै आएको छ ।

यसरी वित्तीय अनुशासन, पूँजी पर्याप्तता, पर्याप्त तरलता र लक्षित ग्राहक समूहलाई सन्तुलित रुपमा अघि बढाउँदा बैंकले अर्थतन्त्रलाई आवश्यक कर्जा प्रवाहका साथै आफ्नो वित्तीय स्थायित्व पनि जोगाउन सक्छ।

यतिबेला बैंकहरूमा पर्याप्त तरलता छ, कर्जा बढ्न सकेको छैन, असुलीमा पनि समस्या छ, यस्तो आर्थिक परिवेशमा प्रमुख अवसर र चुनौतीहरू के के देख्नुहुन्छ ?

वर्तमान आर्थिक परिवेश मिश्रित छ। एकातर्फ प्रणालीमा उपलब्ध अधिक तरलता र ब्याजदरमा आएको सहजताले लगानी तथा कर्जा माग पुनर्जीवित गर्ने अवसर दिएको छ। अर्कोतर्फ निजी क्षेत्रको आत्मविश्वास, उपभोग, निर्माण र नयाँ लगानी अपेक्षित गतिमा नबढ्दा कर्जा मागमा संकुचन देखापरेको छ ।

अवसरका दृष्टिले डिजिटल अर्थतन्त्र, पर्यटन, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, आयात प्रतिस्थापन, निर्यातमुखी व्यवसाय, स्वास्थ्य, शिक्षा र साना–मझौला उद्यममा पर्याप्त सम्भावना छ। रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी लगानी र उद्यमशीलतासँग जोड्न सकियो भने अर्थतन्त्रको संरचनात्मक क्षमता बढ्न सक्छ।

चुनौतीतर्फ सम्पत्ति गुणस्तर, नीतिगत अनिश्चितता, परियोजना कार्यान्वयनमा ढिलाइ, अनौपचारिक अर्थतन्त्र, साइबर जोखिम र जलवायु परिवर्तनबाट उत्पन्न वित्तीय जोखिमहरू महत्त्वपूर्ण रहेका छन्।

कर्जामा अत्यधिक प्रतिस्पर्धाले जोखिमको सही मूल्याङ्कन अभ्यासलाई नकारात्मक प्रभाव पार्न सक्छ, त्यसैले बजार हिस्सा बढाउने दबाबभन्दा गुणस्तर वृद्धिलाई प्राथमिकता दिनुपर्छ।

सिद्धार्थ बैंकका लागि अवसर भनेको हाम्रो वृहत ग्राहक आधार, डिजिटल क्षमता, शाखा सञ्जाल, अनुभवी जनशक्ति र जोखिम व्यवस्थापनलाई एकीकृत गरी ग्राहकलाई छिटो तथा सान्दर्भिक बैंकिङ प्रोडक्ट एन्ड सर्भिस प्रदान गर्नु हो।

हामी अर्थतन्त्रको प्रत्येक चक्रमा जिम्मेवार वित्तीय साझेदार बन्न तत्पर छौं । सहज समयमा आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने र कठिन समयमा व्यवहारीक चुनौतीमा रहेका व्यवसायको पुनरोत्थानमा साथ र सहयोग प्रदान गर्ने हो ।

समग्रमा, नेपालको आधारभूत आर्थिक सम्भावना सकारात्मक छ। नीतिगत स्थिरता, संस्थागत समन्वय, निजी क्षेत्रको विश्वास र उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन अबको आवश्यकता हो। बैंकिङ क्षेत्रले अनुशासित, पारदर्शी र नवप्रवर्तनशील भूमिका खेल्न सके आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान दिन सक्छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक (टाइटल स्पन्सर) रहेको छ । तपाईंको बृहत् रणनीतिसँग यो साझेदारी कसरी मेल खान्छ ?

नेपाल प्रिमियर लिगसँगको साझेदारीलाई हामी केवल ब्रान्ड भिजिबिलिटी वा व्यावसायिक प्रायोजनका रूपमा हेर्दैनौं । क्रिकेटले देशका विभिन्न भूगोल, उमेर र समुदायलाई एउटै भावनामा जोड्न सफल भएको छ ।

विशेषगरी युवा पुस्ताका लागि यसले प्रतिस्पर्धा, अनुशासन, नेतृत्व, सहकार्य र सम्भावनामा विश्वास गर्ने संस्कार निर्माण गर्न मद्दत पुर्‍याउँछ । यी मूल्यहरू जिम्मेवार बैंकिङ र राष्ट्र निर्माणका लागि पनि उत्तिकै महत्त्वपूर्ण छन्।

बैंकको भूमिका निक्षेप र कर्जाको कारोबारमा मात्र सीमित हुनुहुँदैन। एउटा जिम्मेवार संस्थाले युवाको प्रतिभा, पहिचान, स्वस्थ मनोरञ्जन र आर्थिक गतिविधिलाई समेत सहयोग गर्नुपर्छ भन्ने कुरामा हामी विश्वास राख्दछौं ।

एनपीएलले नेपाली खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धा, अनुभव र पहिचान निर्माण गर्ने मञ्च प्रदान गरेको छ । परिणाम स्वरुप नयाँ पुस्ताले खेलकुदलाई सम्भावित पेशा र उद्यमको क्षेत्रका रूपमा पनि हेर्न थालेका छन् ।

यो साझेदारी हाम्रो युवा केन्द्रित डिजिटल रणनीतिसँग पनि मेल खान्छ। खेलकुदप्रतिको उत्साहलाई डिजिटल सहभागिता, वित्तीय साक्षरता, जिम्मेवारी बहन, बचत र नगदरहित कारोबारसँग समेत जोड्न सकिन्छ। बैंकलाई युवाहरुसँग जोडिन, उनीहरूको रुचि, भावना र चाहना बुझ्नका लागि एनपीएल प्रभावकारी राष्ट्रिय मञ्च बन्न सफल भएको छ ।

राष्ट्र निर्माण भनेको पूर्वाधार निर्माण मात्र होइन प्रतिभा, आत्मविश्वास, संस्थागत क्षमता र साझा राष्ट्रिय गौरव निर्माण गर्नु पनि हो। सिद्धार्थ बैंकले एनपीएल साझेदारीमार्फत यही व्यापक उद्देश्यमा योगदान दिन खोजेको हो।

नेपाल प्रिमियर लिगले सामाजिक, आर्थिक अवसरहरू सिर्जना गर्न कसरी मद्दत पुगेको छ ?

ठूलो खेलकुद प्रतियोगिताको प्रभाव खेल मैदानभित्र मात्र सीमित रहँदैन। प्रतियोगिता सञ्चालनसँगै प्रसारण, विज्ञापन, सामग्री निर्माण, सुरक्षा, यातायात, होटल, रेस्टुरेन्ट, स्थानीय व्यापार, इभेन्ट व्यवस्थापन र प्रविधिजस्ता धेरै क्षेत्रमा आर्थिक गतिविधि सिर्जना हुन्छ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र उद्यमका अवसर निर्माण गर्छ। समुदायस्तरमा स्थानीय क्लब, विद्यालय, युवा समूह र साना व्यवसायलाई प्रतियोगितासँग जोड्न सकियो भने खेलप्रतिको उत्साह प्रतिभा पहिचान र सामाजिक सहभागितामा परिणत हुन्छ।

सबै युवा राष्ट्रिय टोलीमा पुग्नुपर्छ भन्ने छैन । खेल विश्लेषण, फिजियोथेरापी, व्यवस्थापन, डिजिटल मिडिया, मर्चेन्डाइजिङ र पर्यटनजस्ता सहायक क्षेत्रमा पनि नयाँ करिअर बन्न सक्छन्।

बैंकका लागि यस्ता अवसरलाई वित्तीय समावेशीकरणसँग जोड्ने सम्भावना हुन्छ। प्रतियोगितासँग जोडिएका साना विक्रेता र सेवा प्रदायकलाई औपचारिक खाता, क्यूआर भुक्तानी, कारोबार अभिलेख र वित्तीय साक्षरतामा ल्याउन सकिन्छ। यसले उनीहरूको व्यवसाय पारदर्शी बनाउनुका साथै भविष्यमा वित्तीय पहुँच सुधार गर्न मद्दत गर्छ।

त्यसैले एनपीएलमा हाम्रो सहभागिता केवल प्रायोजन मात्र होइनस खेल अर्थतन्त्र विकास गर्ने, युवालाई प्रेरणा दिने, स्थानीय व्यवसाय चलायमान बनाउने र देशको सकारात्मक अन्तर्राष्ट्रिय छवि निर्माण गर्ने दीर्घकालीन सोच सहितको लगानी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?