News Summary
Generated by OK AI. Editorially reviewed.- गायक हेमन्त रानाले वैदेशिक रोजगारीका लागि युवा वर्ग विदेशिन बाध्य भएको कथा समेटिएको मर्मस्पर्शी गीत ‘सुन कुरा’ सार्वजनिक गरेका छन् ।
- गीतमा गाउँघर रित्तिँदै जाँदा वृद्ध आमाबुबाले भोग्नुपरेको एक्लोपन तथा बढ्दो सामाजिक र वातावरणीय संकटका विषयलाई संवेदनशील ढंगले चित्रण गरिएको छ ।
- हेमराज बीसीद्वारा निर्देशित उक्त गीतको भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईको अभिनय रहेको छ ।
काठमाडौं । गायक हेमन्त रानाले रोजगारीको खोजीमा मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा बोकेको मर्मस्पर्शी गीत ‘सुन कुरा’ ल्याएका छन् ।
रानाकै शब्द, संगीत र स्वरमा रहेको गीत विदेशिन बाध्य युवाप्रति समर्पित छ । गाउँ क्रमशः रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइँसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय संकटलाई गीतले संवेदनशील ढंगले उठाएको छ ।
‘गीत-संगीत, कविता, कथा, चलचित्र लगायत समग्र कलाले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गरेको हुन्छ । कलामा कहीँ न कहीँ समाज बोलेको हुन्छ’ गीतबारे हेमन्त राना भन्छन् ।
उनी अघि भन्छन्, ‘आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिका बाहेक तन्नेरी पुस्ता खासै देखिँदैन । कुनै-कुनै जिल्लाका गाउँ त लगभग रित्तिँदै गएका छन् । यही सामाजिक यथार्थको एउटा सानो कथा बोकेर म यो गीतमार्फत तपाईंहरू सामु आएको छु ।’
गीतमा कोबिद बज्रको म्युजिक प्रोडक्सन तथा मिक्सिङ-मास्टरिङ छ । बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा रेकर्डिङ र ड्रम्स, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन छ ।
भिडियोमा विजय बराल, रक्षा थापा र मणि के. राईले अभिनय गरेका छन् । हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेश श्रेष्ठको सम्पादन छ ।
सामाजिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका हेमन्तका लागि ‘सुन कुरा’ नयाँ विषय भने होइन । यसअघि उनको चर्चित गीत ‘सुन साइँली’ले पनि वैदेशिक रोजगारीका लागि विदेशिएको नेपाली युवा र उसले घरमा छाडेर गएको परिवारको पीडालाई कथाका रूपमा प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया 4