+

५० कराेड प्रयाेगकर्तालाई जाेड्ने नेपाली स्टार्टअपका सर्जक

कम्प्युटर इन्जिनियरिङको पढाइ बीचमै छाडेर पोखरा फर्किएका युवाले अनेक असफलता सामना गरे। तर काेभिडकालमा ‘यार्सा ल्याब्स’ स्टार्टअपबाट बनाएको ‘लुडो’ गेम विश्वभर २० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ भने अन्य डेढ दर्जन गेममा प्रयाेगकर्ता ५० कराेड पुगेका छन्। इन्जिनियरिङ कलेज ड्रपआउट एनजेले साथीहरूसँग मिलेर बनाएकाे कम्पनीमा अहिले २०० इन्जिनियर छन्।
पूरा सूची
Shares
एनजे सुवेदी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराका नवराज सुवेदीले स्थापना गरेको यार्सा ल्याब्सले गेम र हार्डवेयर प्रविधिमा विश्व बजारमा सफलता हासिल गर्दै गण्डकी प्रदेशको उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ।
  • कलेज ड्रपआउट भएर प्रविधि क्षेत्रमा होमिएका एनजे सुवेदीको यार्सा लुडो र कलब्रेक जस्ता गेमहरू २० करोडभन्दा बढी पटक डाउनलोड भई विश्वभर लोकप्रिय भएका छन्।
  • यार्सा ल्याब्सअन्तर्गतका विभिन्न संस्थाले स्मार्ट होम अटोमेसनका उपकरण र अडियो क्यूआर प्रविधिमार्फत नेपालमै हार्डवेयर उत्पादन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

देश २०७२ सालको भूकम्पले अस्तव्यस्त थियो। काठमाडौंमा धेरैका सपना र साथ टुटेका थिए। यही बेला नवराज सुवेदी भने आफ्नो अधुरो सपना ‘रिन्यू’ गर्न पोखरा फर्कंदै थिए।

स्कूले जीवनमा शल्यचिकित्सक बन्ने सपना थियो, एकाएक मूड बदलेर उनी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढ्न पुगे । त्यहाँबाट पनि ‘ड्रपआउट’ भएर घर फर्किंदै थिए, छोराले सिभिल इन्जिनियर बनेर सरकारी सेवा गरोस् भन्ने चाहना राखेको परिवार उनको यो कदमबाट निराश थियो। तर, काठमाडौंमा रहँदै मोबाइल एपहरू बनाउन सिकिसकेका उनले केही समय घरमै बसेर सन् २०१६ मा ‘यार्सा ल्याब्स’ सिर्जना गरे।

चार जना युवा मिलेर पोखराको लेकसाइडमा शुरु गरिएको यार्सा ल्याब्सले शुरुमा खासै गति लिन सकेन। उनीहरूले सामान डेलिभरीको काम गरे, होटल बुकिङ प्रणाली विकास गरे, डाउन ज्याकेट बिक्री गर्ने इ-कमर्स प्लेटफर्म ल्याए। पोखरामा यात्रु झारेर खाली फर्किने ट्याक्सी र भ्यानलाई बुकिङ मार्फत प्रयोग गर्न मिल्ने प्रणालीदेखि वैवाहिक तथा डेटिङ प्लेटफर्म समेत सार्वजनिक गरे। तर, एकपछि अर्को, असफलता मात्र हात लागिरह्यो।

तर असफलताबाट पाठ सिक्दै नयाँ-नयाँ प्रयोग गरिरहेका युवाले आज डिजिटल प्रविधिमा धुम मच्चाइरहेका छन्। ती तन्नेरी हुन्, नवराज सुवेदी अर्थात् ‘एनजे सुवेदी’।

यार्सा ल्याब्सको साम्राज्य

यार्सा ल्याब्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एनजेले आज प्रविधि उद्यमी र प्रडक्ट डेभलपरका रूपमा आफ्नो भव्य पहिचान बनाइसकेका छन्। आज यार्सा ल्याब्सअन्तर्गत चार वटा भगिनी संस्था पनि सञ्चालनमा छन्।

यार्सा ल्याब्समा १०० भन्दा बढी इन्जिनियर काम गर्छन् भने यो समूहले विकास गरेका सबै प्लेटफर्ममा गरी २०० भन्दा बढीले रोजगारी पाएका छन्। यार्साले आज करोडौं रुपैयाँको कारोबार मात्र गरेको छैन, गण्डकी प्रदेशकै उत्कृष्ट करदाताको सम्मान समेत प्राप्त गरेको छ। यार्साका प्रडक्टले नेपाली बजारको सीमा पार गरेर आज विश्व बजारमा पकड जमाएका छन्।

लेकसाइडको साँघुरो कोठाबाट शुरु भएको यात्रा आज लेखनाथको तालचोकमा दुईवटा घर मार्फत सेवा दिने स्तरमा पुगेको छ। हिजो ‘कलेज ड्रपआउट’ बनेर प्रविधिको क्षेत्रमा भौंतारिइरहँदा ‘कठै’ भन्नेहरूलाई पनि एनजेले चकित पारेका छन्।

सर्जकको सपना र टर्निङ प्वाइन्ट

नेपाली सेनाको प्राविधिक क्षेत्रमा कार्यरत बुबाको जागिर एअरपोर्ट तालिम केन्द्रमा थियो। एनजे कक्षा ३ मा पढ्दा बुबाको सरुवा पोखरा भयो र परिवार पुर्ख्यौली घर (पोखरा वडा नं. ३२) तिर फर्कियो।

स्कूल पढ्दा उनी डाक्टर बन्ने र त्यसमा पनि ‘सर्जन’ बन्ने सपना बुन्थे। तर, कक्षा १० मा पढ्दै गर्दा विदेशबाट आएका एक आफन्त दाइ सन्दीपसँगको भेटले उनको सपना मोडियो। कम्प्युटर प्रोग्रामर रहेका सन्दीपले फुटबल खेलसँग सम्बन्धित सिमुलेसन र विभिन्न सफ्टवेयरहरू बनाउने काम गर्थे। त्यसबाट प्रभावित भएर एनजेले कम्प्युटर इन्जिनियर बन्ने सपना बुने।

‘प्रि-इन्टरनेटको जमाना थियो, पोखरामा सहजै वाईफाई वा इन्टरनेटको पहुँच थिएन’ उनी सम्झन्छन्, ‘तर सन्दीप दाइसँगको एउटा भेट नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो। मेरो रुचि कम्प्युटरतर्फ बढ्यो।’

कक्षा १२ सकिएपछि उनी काठमाडौं हानिए। भारतको पुणेबाट सिभिल इन्जिनियरिङ पढेर नेपाली सेनामा सेवारत बुबा चाहन्थे, ‘छोराले पुल्चोक क्याम्पसमा सिभिल इन्जिनियरिङ नै पढोस्।’ तर, एनजे काठमाडौं विश्वविद्यालय पुगे।

केयूको विशाल कम्प्युटर ल्याब र वाईफाई सुविधा देखेर प्रभावित भएका उनले उतै फारम भरे र नाम पनि निकाले।

कलेज ड्रपआउट र प्रविधिमा फ्रिलान्सिङ

केयूमा पहिलो सेमेस्टरदेखि नै प्रोजेक्ट अनिवार्य थियो। साथीहरूसँग प्रोजेक्ट गर्दागर्दै उनी डिजाइन, डेटाबेस र फ्रन्टइन्ड सम्हाल्न सक्ने ‘डेभलपर’ भइसकेका थिए।

त्यही समयमा उनले हेल्थ नेपाल नेटवर्कको एउटा प्रोजेक्टमा काम गर्ने मौका पाए। इन्टरनेट नभएको त्यो जमानामा गाउँ-गाउँका विद्यालयहरूमा हार्डडिस्कमा विकीपिडियाको अफलाइन भर्सन, शैक्षिक गेम र वेब ब्राउजरहरू राखेर ई-लाइब्रेरी सेटअप गरिदिने काम पनि उनले गरे। यसले उनलाई एक्सपोजर दियो र अनलाइनबाट फ्रिलान्सिङ मार्फत आम्दानी पनि गर्न थाले।

प्रयोगात्मक ज्ञान बढ्दै गएपछि उनलाई कलेजको डिग्रीले दिने ज्ञान प्राप्त गरिसकेको जस्तो लाग्यो। परिणामस्वरूप, चार सेमेस्टर मात्र पढेर उनले कलेज छाडिदिए। घरको दबाबले तीन पटकसम्म सोही सेमेस्टर दोहोर्‍याएर पढे। तर, जब आफ्नै ब्याचका साथीहरू इन्टर्नसिपमा जान थाले, उनलाई कलेज फर्कन संकोच लाग्न थाल्यो र उनी पूर्ण रूपमा अलग भए।

त्यसपछि साथीहरू मिलेर उनले एउटा आईटी कम्पनी खोले। तर खासै उन्नति भएन। त्यसपछि उनी ‘फ्रिलान्सिङ’मै केन्द्रित भए। लिनक्समा आधारित ‘उबुन्टु’ अपरेटिङ सिस्टमको नेपाली ल्याङ्ग्वेज प्याक बनाउने, गुगल म्याप्स र फेसबुकका प्रडक्टहरूलाई नेपालीमा अनुवाद गर्ने काममा उनी सक्रिय रहे। सिंहदरबारमा नेपालको संविधानको मस्यौदा सार्वजनिक भई जनताको सुझाव संकलन गर्ने अनलाइन सिस्टम बनाउने जिम्मेवारी समेत उनले पूरा गरे।

पैसा त नवीन सोचमा पो रहेछ!

भूकम्पपछि पोखरा फर्किएर घरमै बस्दा उनले थुप्रै मोबाइल एप्लिकेसनहरू बनाएर पब्लिस गरे। फेसबुकको प्रोफाइल पिक्चरमा नेपालको झण्डा टाँस्न मिल्ने चर्चित एप, दशैं-तिहार र तीज एप उनैले डिजाइन गरेका थिए। शुरुमा उनलाई यस्ता एपबाट पैसा कमाउन सकिन्छ भन्ने थाहा थिएन। उनी केवल आफ्नो हुटहुटीले एप बनाउँथे।

‘२०११-१२ मै वेबसाइट बनाएर हेरेको थिएँ, खासै पैसा आउँदैन भन्ने बुझाइ थियो’ उनी सम्झन्छन्, ‘तर जब एपहरूमा विज्ञापन हालेर मोनिटाइज गरें, धेरै युजर त विदेश बस्नेहरू पो रहेछन्। शुरुमा कुनै महिना त एक लाखभन्दा धेरै पनि आयो। अनि मलाई लाग्यो, पैसा त नवीन सोचमा रहेछ।’

२०१३ तिर रसुवा घुम्न जाँदा उनले एउटा बोर्ड देखेका थिए, ‘यार्सा जाने बाटो’। उनलाई यो नाम रोचक लाग्यो। फर्केलगत्तै यार्सा कम्पनीको परिकल्पना गर्दै लोगो बनाए। ३ वर्षपछि कम्पनी खोल्दा उनले त्यही नाम राखे, ‘यार्सा ल्याब्स’।

गेमिङबाट पाएको सफलता

पोखरामा कम्पनी खोल्दा शुरुमा जनशक्ति नै पाएनन्। लेकसाइड छाडेर जिरो किमीमा कार्यालय सारे र पोखरा इन्जिनियरिङ कलेजका १० जना इन्टर्न हायर गरे। शुरुमा उनले सबैलाई ‘गेम’ बनाउन प्रोत्साहन गरे।

उनीहरूले ‘नेपाल ड्राइभिङ लाइसेन्स रेस’ नामक एप बनाए, जसमा खेल्दै बाइक र स्कुटरको ट्रायल दिन मिल्थ्यो। दिनमै १८/२० हजारसम्मले त्यो एप प्रयोग गर्न थालेपछि एनजे हौसिए, ‘बनाउने त गेमिङ नै रहेछ!’

कोभिड-१९ को महामारी उनीहरूका लागि टर्निङ प्वाइन्ट बन्यो। लकडाउनको बेला उनीहरूले बनाएको ‘यार्सा लुडो’ र ‘कलब्रेक’ले विश्वभर लोकप्रियता हासिल गर्‍यो। ‘भारतमा सेलिब्रेटीहरूले नै यार्साको लुडो खेलिरहेको भिडियो हाल्न थाले। करोडौंको सङ्ख्यामा डाउनलोड हुन थाल्यो’ एनजे भन्छन्, ‘अहिले त यार्सा लुडो मात्रै २० करोडभन्दा बढी पटक डाउनलोड भइसक्यो।’

अहिले यार्सा गेम्समा १८ भन्दा बढी खेलहरू छन् जसलाई विश्वका ५० करोड प्रयोगकर्ताले उपयोग गरिरहेका छन्।

यार्सा टेक र नेपालमै हार्डवेयर उत्पादन

कोभिडकै बेला हार्डवेयरमा काम गर्छु भन्दै इन्टर्नसिपमा आएका प्रशान्त तिमिल्सिनाको जोस देखेर एनजेले ‘यार्सा टेक’को जग बसाले। यार्सा टेकले अहिले नेपालमै इलेक्ट्रोनिक्स सामानहरूको सम्पूर्ण प्रणाली विकास गरिरहेको छ। यसले ‘गेम’ भन्दा बाहिर जीवन उपयोगी संयन्त्र पनि विकास गरेको छ। पसलहरूमा पैसा क्यूआर स्क्यान गरेर तिर्दा ‘पैसा प्राप्त भयो’ भनी आवाज निकाल्ने ‘अडियो क्यूआर’ उनीहरूले नै बनाएका हुन्। बत्ती जाँदा पनि इन्टरनेटको राउटर निभ्न नदिने ‘निजी पावर’ (यूपीएस) र पानी ट्याङ्की भरिएर पोखिन नदिने ‘निजी मोटर कन्ट्रोलर’ पनि यही कम्पनीले बनाएको हो। र बाहिरको उज्यालो अनुसार आफैं बल्ने ‘निजी लाइट सेन्सर’ जस्ता स्मार्ट होम अटोमेसनका उपकरण पनि यार्सा टेककै उत्पादन हुन्।

त्यस्तै, यार्सा ल्याब्स अन्तर्गतको अर्को कम्पनी ‘यार्सा बजार’ले ठूला सामान उत्पादक र थोक बिक्रेतालाई गाउँ-शहरका साना खुद्रा व्यापारीसँग जोड्ने काम गरिरहेको छ। ‘पसल डटकम’ मार्फत पोखरा आसपासका क्षेत्रमा द्रुत अनलाइन किनमेल सेवा प्रदान भइरहेको छ।

त्यसैगरी, ‘यार्सा प्ले’ले विश्वभरका साना गेम डेभलपरहरूलाई छुट्टै महँगो कम्प्युटर सर्भर नराखीकन गेमको ब्याकइन्ड चलाउने प्रविधि उपलब्ध गराइरहेको छ।

कानूनको पढाइ र परिवारको साथ

कम्पनी विस्तार गर्न र नयाँ प्रविधिमा निरन्तरता दिन सक्नुको प्रमुख श्रेय एनजेले परिवार र श्रीमतीलाई दिन्छन्।

‘घरको सबै जिम्मेवारी श्रीमतीले सम्हालिदिएकी छन्, त्यसैले म ढुक्क भएर कम्पनीमा समय दिन पाउँछु’, उनी भन्छन्। विकास अध्ययनमा विद्यावारिधि गरिरहेकी श्रीमती र गेम डेभलपमेन्टमा विशेषज्ञता हासिल गरेका भाइको साथले कम्पनीलाई प्राविधिक रूपमा बलियो बनाएको छ। आफू भने कम्पनी चलाउँदा आउने कानूनी जटिलता बुझ्न हाल गण्डकी विश्वविद्यालयमा कानून पढिरहेका छन्।

युवा नेपालमै टिकून्

कम्पनीको उद्देश्य अब केवल व्यवसाय विस्तारमा सीमित छैन। एनजे नेपालमै रोजगारी सिर्जना गरेर दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न चाहन्छन्। पूर्वको इटहरीदेखि पश्चिमको धनगढीसम्मका १०० भन्दा बढी इन्जिनियर र आईटी प्रोफेसनललाई एउटै टीममा जोडेर उनले पोखरालाई प्रविधि उद्योगको नयाँ केन्द्र बनाउने प्रयास गरिरहेका छन्।

‘नेपालमै केही गर्न चाहने युवालाई अवसर र उचित पारिश्रमिक दिन सकियो भने उनीहरू विदेशिनुपर्दैन’, उनी भन्छन्।

नयाँ काम शुरु गर्ने उद्यमीले सरकारी नीति र प्रशासनिक प्रक्रियाबाट भोग्नुपर्ने सास्तीलाई उनले पनि नजिकबाट भोगेका छन्। ‘हामीले भुइँतहमा भोगेका समस्या नीतिनिर्माताले बुझ्न सकेका छैनन्। देश बदल्ने कुरा केवल नेताले होइन, बलियो प्रणालीले सम्भव बनाउँछ’, उनी भन्छन्।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।