+

भारतका सडकमा ढुंगा बोकेर खारिएका नेपाली ‘फाइटर’

पिथौरागढमा ढुंगा फोड्ने, बिजुलीका पोल बोक्ने र दिल्लीको अफिसमा चिया पकाउने रवीन्द्र ढाँट आज यूएफसी छनोटको सेमिफाइनलसम्म पुग्ने नेपाली फाइटर बनेका छन्। बस चढ्ने पैसा नभएर कीर्तिपुरदेखि झम्सिखेलसम्म हरेक दिन हिंडेरै ट्रेनिङ गरेका उनले 'रोड टु युएफसी' मा नेपाललाई पहिलो ऐतिहासिक जित दिलाए।
पूरा सूची
Shares
रवीन्द्र ढाट
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङको दुर्गम गाउँमा हुर्किएका रवीन्द्र ढाँट अहिले नेपालका उत्कृष्ट एमएमए फाइटर बनेर विश्वकै प्रतिष्ठित युएफसी छनोट प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न सफल भएका छन्।
  • मकाउमा भएको रोड टु युएफसी प्रतियोगितामा फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै उनी उक्त मञ्चमा जित दर्ता गर्ने पहिलो नेपाली फाइटर बनेका छन्।
  • भारतमा सडकको पर्खाल लगाउने र चिया पकाउने जस्ता कठिन संघर्षबाट गुज्रिएका रवीन्द्रले पछिल्लो समय खेलकुदमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

बझाङको दुर्गम गाउँमा जन्मिए। चरम अभावमा हुर्किए। कुनै समय भारतमा गएर सडकको पर्खाल लगाउने मजदुरी गरे त कहिले दिल्लीका अफिसहरूमा हाकिमका लागि चिया पकाए।

उनै रवीन्द्र ढाँट अहिले नेपालका उत्कृष्ट एमएमए (मिक्स मार्सल आर्टस्) फाइटर बनेका छन् र विश्वकै सबैभन्दा ठूलो ‘अल्टिमेट फाइटिङ च्याम्पियनसिप’ (युएफसी) छनोटको मञ्चमा उपस्थिति दर्ज गराइसकेका छन्। कुनै समय बस चढ्ने पैसा नभएर काठमाडौंमा भौंतारिएका उनी अहिले लाखौं नेपालीको प्रेरणा बनेका छन्।

गत जेठमा मकाउमा भएको युएफसीको छनोट प्रतियोगिता (रोड टु यूएफसी) मा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे। उनी ‘रोड टु युएफसी’ मा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत हुन्।

त्यसअघि गत वर्ष उनले भारतमा ‘मेट्रिक्स फाइट नाइट १७’ जित्दै नेपालीको शान उँचो बनाएका थिए। ग्रेटर नोयडामा भएको सो प्रतियोगितामा भारतका चुङ्रेन कोरेनले रवीन्द्रसँग भिड्नुअघि ‘यो साधारण केटाले मेरो प्रहार सहन सक्दैन’ भनेर टिप्पणी गरेका थिए। तर, तेस्रो चरणमा रवीन्द्रको प्रहारसामु कोरेन निरीह बन्न पुगे र रवीन्द्र च्याम्पियन बने।

नेपाललाई पहिलो पटक एमएमएको मञ्चमा जित दिलाएका रवीन्द्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भयो। त्यसपछि मात्र उनको देशव्यापी चर्चा चुलिएको हो।

‘त्यो सबै स्वागत मेरै लागि थियो भनेर मलाई विश्वास नै भइरहेको थिएन’ रवीन्द्रले त्यतिबेला भनेका थिए, ‘बाल्यकालमा म आफ्नो गाउँबाट मात्रै भए पनि पहिचान पाउन तड्पिन्थें। तर आज म विमानस्थलमा उभिएको थिएँ र पूरा देशले मलाई नायकको रूपमा स्वागत गरिरहेको थियो।’

५-५ जना मिलेर हानाहान

बझाङको देउलेकमा जन्मिएर कक्षा १० सम्म गाउँकै विद्यालयमा पढेका उनी स्कूलमा साथीहरूसँग एकअर्कालाई किक हान्ने खेल खेल्थे। ‘फाइट खेल्ने भनेर ५-५ जनाको टिम बनाउँथ्यौं। जसले जसलाई नि हान्न सक्थ्यो’, उनी एउटा अन्तर्वार्तामा सम्झिन्छन्, ‘कहिलेकाहीं त खुट्टा यस्तो सुन्निन्थ्यो कि हिंड्नै गाह्रो हुन्थ्यो।’

त्यसबेला गाउँका धेरैजसो मानिस जीविका चलाउन भारतको दिल्ली र पिथौरागढ पुग्थे। एसएलसी दिएलगत्तै १५ वर्षकै उमेरमा रवीन्द्र पनि कमाउन पिथौरागढ पुगे, जहाँ उनका बुबा र दाइ पहिल्यै काम गर्थे। तर, त्यहाँ पुगेपछि उनका झनै दुःखका दिन शुरु भए।

उनले सडकको पर्खाल लगाउने, ढुंगा फोड्ने र बिजुलीका पोलहरू बोक्ने काम गर्न थाले। सानै उमेरमा गह्रौं पोल बोक्नुपर्दा उनको काँधको पछाडिपट्टिका दुवै हड्डी बाहिर निस्किएका थिए। पछि मात्र उनले थाहा पाए- भारी लोड बढी भएर हड्डी बाहिर आएको रहेछ।

तर, निरन्तरको कठोर परिश्रमले उनका खुट्टा भने फलाम जस्तै बलिया हुँदै गए। कामले खुट्टा यति बलिया भए कि उनी आफैं अचम्म पर्थे। ‘भारतमा भारी बोक्न थालेपछि मात्र मलाई अरूभन्दा बढी बोक्न सक्ने रहेछु भन्ने थाहा भयो’, उनी भन्छन्।

पिथौरागढमा उनले फुर्सदको समयमा कहिलेकाहीं क्रिकेट पनि खेल्थे। ‘क्रिकेट खेलेर एक दिन ठूलो खेल जितेर गाउँ पुग्दा कस्तो हुन्थ्यो होला? गाउँलेले के सोच्थे होला?’ भनेर उनी सपना बुन्थे। ‘एकदिन ठूलै मान्छे बन्छु’ भन्ने सोच उनको दिमागमा घुमिरहन्थ्यो।

बाल्टिन बोकेर रोएको त्यो दिन

रवीन्द्रको शरीर बिग्रिएको देखेर बुबाले ‘अफिसको काम सजिलो हुन्छ’ भन्दै दिल्ली जान आग्रह गरे। बुबाको सल्लाहपछि उनी दिल्ली पुगे र एउटा अफिसमा सहयाेगीको काम पाए। त्यहाँ उनको काम सरसफाइ गर्ने र चिया बनाउने थियो। काम गरिरहँदा रवीन्द्र आफ्नै उमेरका साथीहरू झोला बोकेर पढ्न गइरहेको देख्थे। ‘त्यो देख्दा आफैंलाई सोध्थें- जीवनमा म के गरिरहेको छु?’ उनी सम्झिन्छन्।

एक दिन उनी अफिसको भर्‍याङ सफा गर्दै थिए। त्यत्तिकैमा नजिकै रहेको इन्स्टिच्युटबाट विद्यार्थी निस्किए। त्यो दृश्यले उनलाई यति नराम्रो लाग्यो कि उनी छतमा गएर भक्कानिएर रोए।

‘मेरो हातमा बाल्टिन थियो, उनीहरू पढेर आइरहेका थिए। मलाई यस्तो नराम्रो लाग्यो कि म त्यो बाल्टी बोकेरै छतमा गएर रोएँ’ रवीन्द्र सम्झिन्छन्, ‘अनि मनमा आयो- अब जीवनमा केही गरेरै छाड्छु।’

त्यसपछि साँझ बिदा हुनासाथ उनी अफिसबाट हिंडे। मोबाइल मर्मतको काम सिक्ने सोच बनाए पनि पैसा नहुँदा पूरा हुन सकेन। उनी गाउँकै साथीको कोठामा पुगेर अब के गर्ने भनेर अलमलमा परे। साथीले उनलाई सुझाव दिए- ‘तिम्रो ज्यान सही छ, तिमीले गेम खेल्यौ भने खत्रा हुन्छ।’

त्यसपछि उनी कराँते कक्षामा भर्ना भए। ‘यहाँ राम्रोसँग सिक्यौ भने पछि नेपालमा कोच भएर आफ्नै गाउँमा सिकाउन पाउँछौ भनेपछि म भर्ना भएँ’, उनी भन्छन्। परिवारले छुटाइदिने डरले उनले कराँते सिक्ने कुरा कसैलाई भनेनन्।

अफिस ब्वायबाट कराँते प्रशिक्षकसम्म

कराँते सिक्न थालेको ५-६ महिनापछि क्लबस्तरीय प्रतियोगिता भयो। त्यसमा उनले सबैलाई हराएर विजेता बने र २ हजार भारतीय रुपैयाँ पुरस्कार पाए। त्यसपछि उनले आफूले सिकेकै ठाउँमा सिकाउने अवसर पनि पाए। प्रशिक्षकको सल्लाह अनुसार उनले एमएमए पनि सिक्न थाले।

अफिस ब्वायको जागिर छाडेर उनी पूर्ण रूपमा कराँते सिकाउनतर्फ लागे। तर, घरमा यो कुरा थाहा भएपछि ‘खेल छाड्नुपर्छ’ भनेर दबाब आउन थाल्यो। रवीन्द्र ‘अर्को महिना छोड्छु’ भन्दै टारिरहे।

एसएलसी दिएलगत्तै १५ वर्षकै उमेरमा रवीन्द्र पनि कमाउन पिथौरागढ पुगे, जहाँ उनका बुबा र दाइ पहिल्यै काम गर्थे। तर, त्यहाँ पुगेपछि उनका झनै दुःखका दिन शुरु भए।

कराँते सिकाएर उनले पर्याप्त आम्दानी गर्न सकेनन्, कोठा भाडा तिर्न समेत धौ–धौ पर्थ्यो। दुई–तीन वर्षसम्म घरबेटीलाई ‘विस्तारै दिन्छु’ भन्दै टारिरहे। त्याे बीचमा भारतमै राष्ट्रिय प्रतियोगिता खेलेर दुईपटक जिते पनि। तर आर्थिक प्रगति भने हुन सकेन।

घरबाट पैसाका लागि फोन आइरहेको थियो, तर उनी आफैं ऋण लिएर चलिरहेका थिए। ‘लोन पनि तिर्नु छ, आम्दानी भइरहेको छैन। भाइबहिनीहरूलाई पढाउनु छ भनेपछि अब म विदेश जान्छु भनेर नेपाल फर्किएँ’, उनी भन्छन्।

वैदेशिक रोजगारीको भूत र झम्सिखेलको सङ्घर्ष

कोरोना महामारीका कारण लकडाउन शुरु हुन लागेकै बेला रवीन्द्र गाउँ फर्किएका थिए । ७-८ महिना घरमा बसेपछि परिवारबाट ‘काम गर्न जान’ दबाब बढ्यो। उनी भागेर पुनः दिल्ली पुगे। केही समय पैसा आउने फाइट खोजे तर भेटेनन्। त्यसपछि वैदेशिक रोजगारीमै जाने सोच बनाएर उनी काठमाडौं आए।

काठमाडौंमा उनी म्यानपावर कम्पनीका कार्यालय धाउन थाले। तर उनी ‘ट्रेनिङ सहित’ विदेश जान चाहन्थे, कामका लागि मात्र जाने मनस्थितिमा थिएनन्। ‘गेम छोडे त जिन्दगी सकिन्छ भन्ने भइसकेको थियो’, उनी भन्छन्।

त्यही बेला उनले रेस्लिङ र एमएमए सिकाउने ठाउँ खोज्न थाले। साथीको सुझाव अनुसार उनी प्रशिक्षक दिविज लामालाई खोज्दै झम्सिखेलस्थित ‘पम्प जिम’ मा पुगे। भर्ना हुन ६ हजार लाग्ने भयो, तर उनीसँग पैसा थिएन। कोठामा फर्किएर उनले दिविजलाई फोन गरी आफ्नो समस्या सुनाए। दिविजले ‘आऊ सँगै ट्रेनिङ गरम्’ भनेपछि रवीन्द्रको काठमाडौंको ट्रेनिङ यात्रा शुरु भयो।

उनी कीर्तिपुर बस्थे, जिम हल झम्सिखेलमा थियो। फेरि पनि उनलाई पैसाकै समस्याले सताउन थाल्यो। बसभाडा नहुँदा उनी कीर्तिपुरबाट झम्सिखेलसम्म हरेक दिन हिंडेरै पुग्थे र ट्रेनिङ गर्थे।

सिक्न थालेको दुई महिनामै उनलाई भारतबाट ‘वन च्याम्पियनसिप लिग’ मा भिड्ने अवसर आयो। तर, त्यहाँसम्म पुग्न उनीसँग खर्च थिएन। आधा रकम प्रशिक्षक दिविजले नै हालिदिए भने बाँकी आधा आफन्तबाट मागेर उनी प्रतियोगितामा सहभागी हुन भारत पुगे। त्याे प्रतिकूलता बीच पनि उनी जितेरै फर्किए।

त्यसपछि भने उनले विदेश जाने सोचलाई सधैंका लागि त्यागे र एमएमएलाई नै आफ्नो जीवन बनाए।

सिंढी चढ्ने यात्रा जारी छ

अहिले रवीन्द्र युएफसी छनोटको सेमिफाइनलसम्म पुगिसकेका छन्। आफ्नो प्रोफेसनल एमएमए करिअरमा उनले १० मध्ये ९ वटा फाइटमा जित निकालेका छन्। प्रशिक्षक दिविज लामा रवीन्द्रलाई यो पुस्ताले पाएको सबैभन्दा राम्रो खेलाडी मान्छन्।

‘त्यो मान्छे जति अनुशासित मैले जीवनमा देखेको छैन। हामी सबैमा भएको आगो केही समयपछि निभ्छ। तर रवीन्द्रको आगो असिना-पानी आउँदा पनि ननिभ्ने खालको छ’ दिविज भन्छन्, ‘महिनाौंसम्म घरबाट टाढा बसेर हरेक दिन ट्रेनिङ गरिरहेको छ। नेपालमा मात्र नभएर ओभरअल हेर्दा पनि उनी ‘वान्स इन अ जेनेरेसन एथलिट’ जस्ताे छ। साँच्चिकै आगो जस्तै हुन्।’

रवीन्द्र पनि सिंढी चढ्न अझै बाँकी रहेको बताउँछन्। ‘पहिला पहाड चढ्न एक्लै जान खोजिराखेको थिएँ। अहिले सबै जनाले पहाडमाथि चढ भनेर धकेलिराखेका छन्। त्यही भएर अहिले मलाई अलि सजिलो छ, याे जिम्मेवारी झन् बढेकाे छ’, रवीन्द्र भन्छन्।

लेखक
रिखिराम जिसी

जिसी अनलाइनखबरमा खेलकुद रिपोर्टिङ गर्छन् ।