गोरेटोमा दौडिएर सफलताको हाइवेमा
News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रेल रनिङ धाविका प्रिया राई एशिया ट्रेल मास्टरको इतिहासमा लगातार दुई पटक च्याम्पियन बन्ने पहिलो र एक मात्र महिला खेलाडी बनेकी छिन् ।
- उनले म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया लगायतका देशमा आयोजित कठिन ट्रेल र अल्ट्रा रेसहरूमा स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हात पारेकी छन् ।
- खोटाङकी २६ वर्षीया धाविका राईले पहिलो पटक १०० किमीको ट्रेल रेसमा प्रतिस्पर्धा गर्दै शीर्ष स्थान कब्जा गरेर आफ्नो दक्षता प्रमाणित गरेकी छिन् ।
अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्दै देशको झण्डा फहराउनुको महत्त्व नै अर्कै हुन्छ। धेरैले यो अवसर पाउँदैनन्, केहीले मात्र आफ्नै मिहिनेतले त्यो अवसर बनाउँछन् र आफू जित्दै देशलाई पनि जिताएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउँछन्। तिनै सीमित पात्रमध्ये एक हुन्- ट्रेल रनिङमा चुपचाप जितिरहेकी धाविका प्रिया राई।
खोटाङको ऐंसेलुखर्ककी २६ वर्षीया प्रिया खेलकै लागि जन्मेकी हुन्। तेक्वान्दोबाट खेल जीवन सुरुआत गरेकी उनले बीचमा केही समय रग्बी पनि खेलिन्। तर, उत्सुकताले डोर्याउँदै उनलाई साहसिक दौड (ट्रेल रनिङ) तर्फ ल्याइपुर्यायो।
पछिल्लो समय ट्रेल रनिङमा नेपालका खेलाडीहरू विश्वमै चर्चित भइरहेका छन्। नेपालमा भने अझै पनि यो खेलले राज्यबाट राम्रोसँग मान्यता र पूर्वाधार पाउन सकेको छैन। यस्तो अवस्थामा पनि ट्रेल रनिङमा लागेको करिब एक दशक पुग्नै लाग्दा प्रियाले ‘एशिया ट्रेल मास्टर’ लगातार दुई पटक जित्दै कीर्तिमान बनाएकी छन्। उनले नेपालमा मात्र नभई म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया जस्ता देशमा कठिन मानिएका ट्रेल र अल्ट्रा रेसहरूमा स्वर्ण जित्दै ऐतिहासिक सफलता हात पारेकी छन्।
ट्रेल रनिङ सामान्य दौड होइन। हिमाल र पहाडको उकालो–ओरालो छिचोल्दै कठिन चुनौती पार गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय ट्रेल रेसहरूमा प्रिया चुपचाप जितिरहेकी छन् भने आफ्नै देशभित्र भने त्यसको खासै मूल्याङ्कन हुनसकेको छैन। तैपनि उनी दौडन छाडेकी छैनन्, किनभने यो नै उनको पहिचान बनिसकेको छ।

मार्सल आर्टस्देखि ट्रेल रनिङसम्म
खोटाङबाट अध्ययनका लागि काठमाडौं आएकी प्रिया शुरुमा तेक्वान्दो खेल्थिन्। सानैदेखि खेलकुदमा रुचि भएकी उनले जडीबुटीमा हिंड्दै गर्दा कोटेश्वर डोजो देखेपछि त्यतै जान मन लाग्यो।
‘जुन गेम भए पनि खेल्थें, तर सुरुआत मार्सल आर्टस्बाट भयो। कोटेश्वरमा ट्रेनिङ गर्थें। तर खुट्टामा पानी जमेर निकाल्नुपर्ने भएपछि त्यसलाई निरन्तरता दिन सकिनँ। आर्थिक लगायत विभिन्न समस्या पनि भए’, उनी सम्झिन्छिन्।
उनले करिब डेढ वर्ष ट्रेनिङ गरेर तेक्वान्दो छाडिन्। रमाइलो संयोग के भने, २०१९ को १३औं सागमा स्वर्ण पदक जितेकी र हाल अन्तर्राष्ट्रिय रेफ्री रहेकी काजल श्रेष्ठसँगै प्रिया ट्रेनिङ गर्थिन्। काजलले तेक्वान्दोलाई नै करिअर बनाइन् भने प्रियाले अर्कै खेल मार्फत नेपालको नाम चिनाउने बाटो रोजिन्।
तेक्वान्दोपछि उनले केही समय रग्बी खेलिन्। रग्बीमा पुग्नुको प्रसंग पनि रोचक छ। एक जनाले उनलाई रग्बीको लागि भनेर बोलाएका थिए, तर प्रियाले ‘रनिङ’ सुनेर टुँडिखेल पुगिन्।
‘रनिङ सुनेर गएको रग्बी पो रहेछ। छुट्टै खालको बल, मलाई त्यो कसरी खेल्ने थाहा थिएन। तर थाहै नपाई रग्बी पनि खेल्न थालें’, प्रिया हाँस्दै भन्छिन्। रग्बीको यू-१९ राष्ट्रिय टिममा परेर उनले ‘एशिया यू-१९ रग्बी सेभेन्स’ पनि खेलिन्। तर सिनियर टिममा विङ्गरबाट खेल्ने दुई जना उत्कृष्ट खेलाडी पहिल्यै रहेकाले उनले खासै अवसर पाइनन् र रग्बी यात्रामा ब्रेक लाग्यो।

टिभीको स्काई रनिङ र मीरा राईको प्रभाव
रनिङमा प्रियाको कनेक्सन सानैदेखि थियो। स्कूल पढ्दा दौडको बारेमा थाहा नपाउँदै उनले खाली खुट्टाले दौडेर पहिलो स्थान हासिल गरेकी थिइन्।
काठमाडौंको मूलपानीमा बस्दा उनले टिभीमा स्काई रनिङ हेरिन्। ‘भीडमा कुदेको देख्दा अचम्म लाग्ने। त्यो देखेर मलाई पनि दौडन मन लाग्यो। पछि पो थाहा भयो त्यो स्काई रनिङ रहेछ’, उनी भन्छिन्।
त्यसबेला मीरा राई नेपालको चर्चित अल्ट्रा ट्रेल धाविकाका रूपमा उदाएकी थिइन्। ‘टिभीमा देखेपछि आफ्नै घरछेउको जङ्गलमा कुदेको जस्तो लाग्यो। पछि मीरा राईहरूले भोजपुरमा ट्रेल रेस गर्दा डाँडाकाँडा दौडेपछि बल्ल ट्रेल रन भन्ने थाहा भयो।’

जुत्ता कस्तो लगाउने, कसरी दौडने भन्ने थाहा नभए पनि स्थानीय ट्रेल रेसले प्रियालाई धेरै कुरा सिकायो। उनले सामाजिक सञ्जालमा अमेरिकी अल्ट्रा-रनिङ लेजेन्ड कोर्टनी डाउवाल्टरको बारेमा पढिन् र भिडियो हेरिन्। सयौं किलोमिटर कठिन गोरेटोमा सहजै दौडने कोर्टनीको शैलीले प्रियालाई निकै आकर्षित गर्यो।
त्यसपछि प्रियाले काठमाडौं उपत्यकामा केभीआर स्टेज रेसहरू दौडिइन्। मीरा राई इनिसिएटिभसँग जोडिएर विभिन्न प्रतियोगिताहरूमा भाग लिइन्।
सन् २०१९ उनको लागि महत्त्वपूर्ण बन्यो। १३० किमी मनास्लु ट्रेल रेसमा पहिलो भएकी उनी १७० किमी मनाङ ट्रेल रेसमा दोस्रो भइन्। त्यही वर्ष अन्नपूर्ण गोल्डेन वर्ल्ड ट्रेल सिरिज (४२ किमी) मा प्रतिस्पर्धा गर्दै पाँचौं स्थान हात पारिन्। त्यसपछि सिन्धुपाल्चोक, भोजपुर र गोसाइँकुण्ड लगायतका रेसहरूमा पनि उनले ‘पोडियम फिनिस’ गरिन्।
पहिलो अन्तर्राष्ट्रिय उडानको रोमाञ्च
प्रियाको करिअरले उचाइ लिंदै गर्दा कोभिड महामारीले केही समय ब्रेक लगायो। तर २०२१ मा प्रथम व्यास नगर महिला ट्रेल म्याराथनबाट उनले पुनरागमन गरिन् भने २०२२ मा १७० किमीको ‘मुस्ताङ ट्रेल रेस’ को उपाधि जितिन्।
त्यसपछि प्रियाले अन्तर्राष्ट्रिय रेसमा पाइला चालिन्। सन् २०२२ डिसेम्बरमा थाइल्यान्डको चियाङ्माईमा भएको ‘दोइ इन्थानोन बाई युटीएमबी पागोडा ५०’ उनको पहिलो अन्तर्राष्ट्रिय रेस थियो।
विदेशमा दौडने मात्र होइन, पहिलो पटक प्लेन चढ्ने अवसर पनि त्यही थियो। ‘आकाशमा सानो प्लेन देख्दै आएकी म आफैं चढ्दा कस्तो होला भन्ने कल्पना गर्थें। विदेश गएर देशलाई नै रिप्रेजेन्ट गर्छु भन्ने सोचेकै थिइनँ’ त्यो क्षण सम्झँदा प्रिया रोमान्चित हुन्छिन्, ‘जित्नुअघि जित्न पाए हुन्थ्यो भन्ने लाग्छ, जितेपछि केही होस नै नहुने जस्तो आनन्द आउने रहेछ।’
४००० मिटर उचाइसम्म दौडनुपर्ने दौडमा खुट्टा दुखेपछि केही नर्भस भएँ। तर पछाडिको खेलाडीसँग राम्रो ग्याप भएकाले सहज भयो– प्रिया राई
त्यो रेसमा ५४ किमी दौड ७ घण्टा ७ मिनेट ०४ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेपछि प्रियालाई अन्तर्राष्ट्रिय स्तरमै चिनिन सहयोग पुग्यो। त्यसपछि उनी २०२३ मा फ्रान्समा भएको ‘युटीएमबी माउन्ट ब्लाङ्क ओसीसी’ का लागि छनोट भइन्, जहाँ ५५ किमी दूरी पूरा गर्दै २९औं स्थानमा रहे पनि ठूलो अनुभव बटुलिन्। स्विट्जरल्यान्डमा ३१ किमी र थाइल्यान्डमै अर्को ४९ किमी (पाँचौं स्थान) रेस दौडिइन्।
सन् २०२४ मा दौडिएका अधिकांश रेसमा प्रिया नै पहिलो भइन्। मञ्जुश्री ट्रेल रेस (लगातार), जुम्ला रारा अल्ट्रा म्याराथन, स्तूपा टु स्तूपा, खिजी देम्बा अल्ट्रा र शैलुङ अल्ट्रा जस्ता प्रतियोगिता जितिन्। तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा भने उनी दोस्रो भइन्।

लगातार ‘एशिया ट्रेल मास्टर’ र १०० किमीको चुनौती
सन् २०२४ सेप्टेम्बरमा उनले पहिलो पटक ‘एशिया ट्रेल मास्टर’ मा प्रतिस्पर्धा गरिन्। पहिलो सहभागितामै ८५ किमी रेस १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उनी च्याम्पियन बनिन् जहाँ नेपालकै रसिला तामाङ तेस्रो भएकी थिइन्।
२०२४ अक्टोबरमा दक्षिणकोरियामा भएको ‘एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप’ (४२ किमी) मा दोस्रो र नोभेम्बरमा मलेसियामा भएको ‘मलेसिया बाई युटीएमबी वर्ल्ड सिरिज’ (५१ किमी) मा उनी पहिलो भइन्।
यो लयलाई उनले पछिल्लो दुई वर्ष (२०२५ र २०२६) पनि सानदार रूपमा कायम राखेकी छन्। २०२५ मा थाइल्यान्डमा ‘अमेजन जङ्गल बाई युटीएमबी’ (५० किमी) र इन्डोनेसियामा ‘लेक तोबा बाई युटीएमबी’ मा उनले स्वर्ण जितिन्।
२०२६ को फेब्रुअरीमा म्यानमारमा भएको ‘कालाव ट्रेल रन’ (५० किमी) मा ५ घण्टा ३८ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै उनले ‘कोर्स रेकर्ड’ सहित स्वर्ण जितिन्। त्यही महिना हङकङमा भएको ‘एसिया ट्रेल मास्टर’ मा ओभरअल च्याम्पियन बन्दै उनले स्वर्ण जितिन्। उनी एशिया ट्रेल मास्टरको इतिहासमा लगातार दुई पटक च्याम्पियन बन्ने पहिलो र एक मात्र महिला धाविका बनिन्।

यसै वर्ष फिलिपिन्समा ५० किमीको रेसमा स्वर्ण जितेकी उनले जून (२०२६) मा इन्डोनेसियामा भएको १०० किमीको ‘ट्रेल अफ दी किंग्स लेक तोबा बाई युटीएमबी’ मा प्रतिस्पर्धा गरिन्। मध्य गतिकी धाविका प्रियाले पहिलो पटक १०० किमी दौडने आँट गरिन् र त्यसमा पनि शीर्ष स्थान नै कब्जा गरिन्।
‘शुरुमा सक्छु कि सक्दिनँ भन्ने थियो, तर म जित्छु भन्ने अठोट थियो। ४००० मिटर उचाइसम्म दौडनुपर्ने दौडमा खुट्टा दुखेपछि केही नर्भस भएँ। तर पछाडिको खेलाडीसँग राम्रो ग्याप भएकाले सहज भयो’, उनी भन्छिन्।
सरकारसँग गुनासो र भावी योजना
हाल उनलाई अन्तर्राष्ट्रिय कम्पनी ‘टी-८’ ले प्रायोजन गरेको छ, जसले गर्दा रेसमा लाग्ने सम्पूर्ण खर्च र केही आर्थिक सहयोग समेत पाउँदै आएकी छन्। तर, नेपालमा ट्रेल र अल्ट्रा रनिङको पर्याप्त सम्भावना हुँदाहुँदै पनि सम्बन्धित निकाय र सरकारले खासै काम गर्न नसकेको उनको गुनासो छ।
‘सरकारले यसको सम्भावनालाई बुझ्न सकेको छैन। रेसहरूको वर्गीकरण गरेर राम्रो व्यवस्थापन गर्न सकियो भने विदेशी खेलाडी भित्र्याउने धेरै सम्भावना छ’ उनी भन्छिन्, ‘विदेशमा एउटै रेसमा दुई हजारभन्दा बढी मानिस दौडँदा अचम्म लाग्छ।’
नेपालमा स्थानीय स्तरमा धेरै बजेट विनियोजन भएर इभेन्टहरू भइरहे पनि विज्ञताको कमीले ती व्यवस्थित हुन नसकेको उनको ठम्याइ छ।
अन्तर्राष्ट्रिय धावकहरू उनीसँग फोटो खिचाउन आउँदा र ‘ट्रेनिङ प्लान’ सोध्दा प्रियालाई गर्व लाग्छ। ‘देशबाहिर जाँदा नेपाल भनेर चिन्छन्, त्यो सबैभन्दा गर्वको क्षण हो। आफ्नो देशको झण्डा फहराउँदा एकदमै प्राउड लाग्छ’, उनी भन्छिन्।
दौडसँगै प्रियाले आमसञ्चार विषयमा आफ्नो अध्ययनलाई पनि अघि बढाइरहेकी छन्। भविष्यमा धेरै अन्तर्राष्ट्रिय रेसहरू जित्ने र नेपालको ट्रेल रनिङमा योगदान गर्ने उनको योजना छ।
‘सपना मात्र ठूलो देखेर हुँदैन, त्यसलाई पूरा गर्न अनुशासन र निरन्तरता चाहिन्छ’, उनी भन्छिन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी