असनको साँघुरो गल्लीदेखि फाइजरको व्यवस्थापनसम्म
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली युवा वैज्ञानिक डा. सुमन गिरी विश्वप्रसिद्ध खोप उत्पादक कम्पनी फाइजरको सिनियर भाइस प्रेसिडेन्ट तथा एआई प्रमुखका रूपमा कार्यरत रहेका छन् ।
- डा. गिरीले अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीबाट एडभान्स्ड इन्फ्रास्ट्रक्चर सिस्टममा पीएचडी गर्दै डेटा साइन्स र मेसिन लर्निङको क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन् ।
- उनले भविष्यमा स्वास्थ्य सेवामा एआईको प्रयोगमार्फत हुने रूपान्तरणको नेतृत्व गर्दै नेपालको प्रविधि तथा स्वास्थ्य क्षेत्रको विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेका छन् ।
परिवारको इच्छा अनुसार अगाडि बढ्थे भने डा. सुमन गिरी (३८) ले यो सफलता हासिल नगर्न सक्थे । आमा-बुवाको चाहना थियो, छोरो डाक्टर बनोस् । तर उनी आफ्नै मर्जीमा चले । र, रोजे- अनुसन्धान तथा एआईको क्षेत्र ।
छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसरलाई चटक्कै छोडेर अमेरिका हान्निएका सुमनले त्यहाँ लिबरल आर्टस् अन्तर्गत फिजिक्स र म्याथम्याटिक्स विषय पढे ।
अहिले उनी खोप उत्पादक कम्पनी फाइजरका सिनियर भाइस प्रेसिडेन्ट तथा एआई प्रमुख छन् । साथै, फाइजरलाई थप विस्तार गर्न डेटा साइन्स तथा एआई रणनीति विकास र कार्यान्वयन गर्ने जिम्मेवारी समेत सम्हालिरहेका छन् ।
काठमाडौँको पुरानो बजार असनको नगलमा जन्मिए सुमन । उनको प्रारम्भिक शिक्षा असनकै सरस्वती विद्या मन्दिरबाट शुरु भयो, जहाँ दुई कक्षासम्म पढे । त्यसपछि ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कूलमा पढ्न थाले । छोराको पढाइलाई सजिलो होस् भनेर परिवार पनि रातोपुलमै सर्यो ।
सुमनले ग्यालेक्सी स्कूलबाट एसएलसी पास गरे । त्यसबेलासम्म एसएलसीको ‘बोर्ड २०’ सम्म निकाल्ने चलन थियो । ग्यालेक्सीकी सहपाठी बोर्ड प्रथम भइन्, उनले सत्रौं स्थान हासिल गरे । स्कूल सकेपछि उनले सेन्ट जेभियर्स कलेजबाट आईएस्सी गरे ।
सुमनका मातापिताको चाहना छोरालाई चिकित्सक बनाउने थियो । सोही अनुरूप उनले डाक्टरी पढ्न विभिन्न प्रवेश परीक्षा दिए । एमबीबीएस पढ्न पाकिस्तान दूतावासको छात्रवृत्तिमा नाम पनि निस्केको थियो ।
धेरै विद्यार्थीका लागि त्यो जीवनकै ठूलो उपलब्धि हुन्थ्यो । तर सुमन सोचमग्न भए, वास्तवमा यो पेशा आफ्नो स्वभावलाई सुहाउँदो छ कि छैन ? ‘मेरो स्वभाव नयाँ कुरा अनुसन्धान गरौं, अलिकति जोखिम उठाउँ भन्ने खालको थियो । तर डाक्टरले एउटा निश्चित क्लिनिकल गाइडलाइन अनुरूप काम गर्नुपर्छ, जुन मेरो स्वभाव विपरीत थियो’, उनी भन्छन् ।

विद्यालयमा उनी गणितका निकै राम्रा विद्यार्थी थिए । त्यसकारण साथीहरूले पनि डाक्टरभन्दा अन्य अनुसन्धानमूलक क्षेत्रमा लाग्न सल्लाह दिए । त्यसपछि उनी ज्ञानेश्वरकै यूएसईएफमा नियमित जान थाले र अमेरिकाका कलेजहरूमा आवेदन दिन थाले ।
घरमा इन्टरनेट नभएको त्यो समयमा उनी साइबर क्याफेमा बसेर घन्टौंसम्म कलेजका आवेदनहरू भर्थे । परिणामस्वरूप सुमनले अमेरिकास्थित ओहायोको ओबरलिन कलेजबाट पूर्ण छात्रवृत्ति पाए, जसले पढाइ खर्च मात्रै होइन, खाने र बस्ने सबै खर्च बेहोर्ने भयो ।
त्यतिबेलासम्म उनले अमेरिकाको कलेजमा आवेदन दिएको कुरा बाबुआमालाई बताएका थिएनन् । छात्रवृत्ति पाएपछि मात्रै घरमा जानकारी दिए । छोरालाई डाक्टर बनाउने सपना देखेका आमाबुबालाई सम्झाउन सजिलो थिएन ।
त्यही समयमा उनकी आमाले चिना देखाउँदा गुरुले ‘यो केटा बाहिर जान्छ र त्यहीं सफल हुन्छ’ भनेका रहेछन् । त्यो कुराले सुमनको विदेश यात्राको बाटो खुल्यो । ओबरलिन कलेजमा उनले लिबरल आर्टस् अन्तर्गत फिजिक्स र म्याथम्याटिक्समा डबल मेजर विषय लिएर पढे । र, विशिष्ट श्रेणी (अनर्स)मा स्नातक गरे ।
२६ वर्षमै पीएचडी
स्नातक गरिरहँदा सुमनको एउटा रहर थियो- नेपाल फर्केर जलविद्युत् क्षेत्रमा काम गर्ने । कलेजको बिदामा नेपाल आउँदा उनी ताप्लेजुङको कुम्बा जस्ता विकट ठाउँमा पुगेर माइक्रो हाइड्रो प्रोजेक्टहरूको अध्ययन गर्थे । तर त्यही क्षेत्रमा काम गरिरहेका एक इन्जिनियर महेन्द्रबहादुर कार्कीसँगको एक भेटले सुमनको पढाइ र करिअर योजनामा ठूलो फेरबदल गरिदियो ।
‘म जलविद्युत् क्षेत्रमा लाग्न चाहन्छु, कसरी अघि बढ्ने’ भनेर सोध्दा कार्कीले दिएको उत्तर सुमनका लागि अनपेक्षित थियो । ‘एउटा गाउँमा हाइड्रो बनाएर बस्यो भने त्यही परियोजनामा जिन्दगी बित्छ, बरु हजारौं प्रोजेक्ट एकैचोटि कसरी म्यानेज गर्ने भन्ने सीप सिक र त्यसमा काम गर’, कार्कीले भनेको कुरा सुमन आज पनि सम्झन्छन् । त्यही सल्लाहले उनलाई डेटा साइन्स र एआईको बृहत् दुनियाँतर्फ मोड्यो ।

त्यसपछि उनले एआई, कन्स्ट्रक्सन म्यानेजमेन्ट र डेटा साइन्समा अनुसन्धान गरिरहेको एउटा विश्वविद्यालय फेला पारे, कार्नेगी मेलन युनिभर्सिटी । त्यहाँ मेसिन लर्निङ र डेटा साइन्समा स्नातकोत्तरमा भर्ना भए । सँगसँगै उनले २६ वर्षकै उमेरमा पीएचडी सम्पन्न गरे– एडभान्स्ड इन्फ्रास्ट्रक्चर सिस्टममा । पीएचडीमा उनको मुख्य विषय सेन्सरहरू प्रयोग गरेर भौतिक संरचनाहरूलाई कसरी ‘स्मार्ट’ बनाउन सकिन्छ भन्नेमा केन्द्रित थियो ।
सुमनले विकास गरेका एल्गोरिदमहरूले भवन बाहिरै बसेर भवनको स्वास्थ्य अवस्था मोनिटर गर्न सक्थे । यस क्षेत्रमा उनका कैयौं अनुसन्धान पत्रहरू प्रकाशित छन्, एक हजारभन्दा बढी पटक साइट भएका छन् । उनले सो समयमा ‘ट्रान्सिएन्ट नर्मलाइजेसन’ सम्बन्धी एक महत्वपूर्ण पेटेन्ट पनि दर्ता गरेका थिए ।
एट्नादेखि फाइजरसम्म
मेसिन लर्निङ र डेटा साइन्समा पीएचडी सकिएपछि उनले ठूला टेक कम्पनीमा काम गरेनन् । मानवीय सेवाको क्षेत्र रोज्ने निर्णय गरे, अर्थात् स्वास्थ्योपचार क्षेत्रमा काम गर्ने निर्णय गरे ।
आफ्नो करिअर ‘एट्ना’ नामक स्वास्थ्य बीमा कम्पनीबाट शुरु गरे, जहाँ उनी कम्पनीको पहिलो डेटा साइन्टिस्टहरूमध्ये एक थिए । त्यसपछि ‘हाइमार्क’मा गए । त्यहाँ पनि उनी कम्पनीको पहिलो डेटा साइन्टिस्ट थिए । सिटियस टेक हुँदै विश्वकै ठूलोमध्येको एक फर्मास्युटिकल कम्पनी मर्कमा काम गरे ।
मर्कमा पनि उनी सबैभन्दा पहिला डेटा साइन्टिस्टमध्ये थिए, जहाँ रहँदा डेटा साइन्स प्राक्टिसको नेतृत्व गर्थे । उनले त्यहाँ २५० जना विशेषज्ञहरूको ठूलो टिम खडा गरेका थिए । यही क्षमता देखेर फाइजरले उनलाई डेटा साइन्सको ग्लोबल हेड बन्न अनुरोध गर्यो । उनी फाइजरमा २०२४ मा गएका थिए । त्यसबेला फाइजर डेटा साइन्समा त्यति राम्रो थिएन ।
फाइजर १४० देशमा छ । कम्पनीका ६०० भन्दा बढी उत्पादनहरू छन् । त्यस हिसाबले ६० हजार वटा सेल्स एन्ड मार्केटिङ संस्थासँग काम गर्नुपर्छ । उनीहरूलाई डेटा मार्फत मार्केटिङ र सेल्स रणनीति बनाउन सुमनले काम गरे ।

त्यसका लागि सबैभन्दा ठूलो चुनौती राम्रा मान्छेहरू भर्ना गर्नु थियो । त्यो उद्देश्य पूरा गर्न उनले भारतमा मुम्बई सेन्टर स्थापना गरे, जसको मुख्य काम प्राविधिक क्षमता विस्तार गर्नु हो । फाइजरको आधुनिकीकरणका लागि डेटा साइन्स र एआई क्षमता विकास गर्नु यसको मुख्य उद्देश्य हो ।
अमेरिकामा २० लाख डाक्टर छन्, तर कम्पनीसँग २ हजार सेल्सपर्सन छन् भने हरेक डाक्टरलाई भेट्न सम्भव हुँदैन । त्यो समस्या समाधान गर्न आफ्नो लक्षित डाक्टर को हो त भन्ने पत्ता लगाउने मेसिन लर्निङ प्रणाली उनले विकास गरेका छन् ।
सुमन गत वर्ष सेप्टेम्बरमा पितृत्व बिदा लिएर बसिरहेका थिए । फाइजरका सीईओ अल्बर्ट बोउर्लाले फोन गरेर उनलाई कम्पनीलाई एआई ट्रान्सफर्मेसनको नेतृत्व गर्न प्रस्ताव गरे । ‘फाइजरलाई एआईमा इन्डस्ट्री लिडिङ कम्पनी बनाऊ, म पर्याप्त बजेट दिन्छु’ भन्ने म्यान्डेट उनले सीईओबाट पाए । अहिले उनी त्यही दिशामा काम गरिरहेका छन्, र फाइजरलाई एआई रणनीतिमा सबैभन्दा अब्बल कम्पनी बनाएका छन् ।
यस बीचमा सुमनले धेरै कम्पनीका काम गरे, तर अहिलेसम्मको सबैभन्दा रोचक काम चाहिं फाइजरमै गरेको उनको अनुभव छ । एआई ट्रान्सफर्मेसनको नेतृत्व गरिरहेका सुमन मातहत करिब साढे ३०० उच्च सीपयुक्त जनशक्ति काम गरिरहेको छ ।
सुमनले एट्नामा काम शुरु गरेपछि कहिल्यै पनि जागिरका लागि आवेदन हाल्नु परेको छैन । आफ्ना सिनियरहरू नयाँ कम्पनीमा जान्छन्, उनलाई पनि बोलाउँछन् ।
‘एआईले मानवतालाई नै परिवर्तन गर्दैछ’
सुमनलाई लाग्छ- एआईले मानवतालाई त्यसरी नै परिवर्तन गर्दैछ, जसरी विगतमा बिजुलीको आविष्कारले गरेको थियो । उनी स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगलाई लिएर पनि उत्तिकै उत्साहित छन् ।
उनी भन्छन्, ‘अबको केही समयमै डाक्टर र बिरामीको बीचमा एउटा एआई सिस्टम हुनेछ । बिरामीले डाक्टरलाई भेट्नुअघि नै एआईसँग सल्लाह लिनेछ र प्रारम्भिक औषधिमुलो गरिसक्ने छ । डाक्टरले पनि एआईकै सहयोगमा उपचार गर्ने छन् ।’
अमेरिकाका केही राज्यमा एआईले नै बिरामीसँग कुरा गरेर औषधि सिफारिस गर्न थालिसकेको उदाहरण दिन्छन् सुमन । युटा राज्यमा एउटा एआई टुलले बिरामीसँग अन्तरक्रिया गरी २०० वटा औषधि प्रेस्क्राइब गर्न पाउँछ । ‘पहिला फर्मा कम्पनीहरूले डाक्टरहरूलाई प्रभावमा लिन खोज्थे, अब सिस्टमलाई प्रभावमा पार्नु परेको छ’, उनी भन्छन् ।
अबको भविष्य ‘अटोनमस हेल्थकेयर’ तिर जाने सुमन बताउँछन् । अहिले फाइजरमा बसेर उनी त्यही भविष्यको जग निर्माण गरिरहेका छन् ।
शिरमा नेपाल बोकिरहेका सुमन
सुमनले नेपालसँगको सम्बन्धलाई पनि उत्तिकै बलियोसँग राखिराखेका छन् । आफ्ना जेठा छोराको नाममा ‘आरोह फाउन्डेसन’ स्थापना गरेका छन्, जस मार्फत हरेक वर्ष २ देखि ४ जना विपन्न बालबालिकालाई उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्छन् ।
कोभिड–१९ को समयमा उनले नेपालमा ‘टेलीउपचार’ नामक टेलिहेल्थ प्लेटफर्म शुरु गरेका थिए, जसले ग्रामीण क्षेत्रका बिरामीहरूलाई काठमाडौंका विशेषज्ञ डाक्टरहरूसँग जोड्ने काम गर्थ्यो । यद्यपि, नेपालमा इन्टरनेट पहुँचको कमी तथा कर्पोरेट कल्चरको अभावले गर्दा त्यो परियोजना सफल हुन नसकेको उनको अनुभव छ ।

नेपालमा किन फाइजर जस्ता ठूला कम्पनी आउँदैनन् भन्ने प्रश्नमा सुमनको तितो तर यथार्थ अनुभव छ । उनी भन्छन्, ‘नेपालमा कर्पोरेट कल्चर कमजोर छ । इन्टरनेट र बिजुलीको ठेगान हुँदैन, अलिकति पानी पर्यो भने कर्मचारीहरू काममा आउँदैनन्’, उनी भन्छन् ।
त्यति मात्रै होइन, लगानीका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने उनी बताउँछन् । नेपालको नीतिगत सुधारका लागि एड्भाइजरी काउन्सिलमा बसेर काम गर्न सुमन तयार छन् । तर त्यसका लागि राज्यले स्थिर वातावरण बनाउनुपर्ने उनको शर्त छ ।
नेपालका युवाहरूलाई सुमनको सल्लाह छ, ‘आफ्नो एउटा स्पष्ट दृष्टिकोण राख, मिहिनेत गर ।’ आँट र जोखिम लिएर अघि बढ्यो भने चाहेको पाउन सकिने उनको भनाइ छ । ‘अरूको सिको गर्ने मात्र होइन, आफ्नै कोर आइडेन्टिटी बनाऊ’, उनी भन्छन् ।
सर्जक सुमन
सुमन केवल एक वैज्ञानिक वा कर्पोरेट लिडर मात्र होइनन्, एक सर्जक पनि हुन् । उनले नेपाली संगीत क्षेत्रमा समेत योगदान दिएका छन् । चर्चित गायक रोहित जोन क्षेत्रीले गाएका ‘तिमीलाई सम्झी’ लगायत केही गीत उनले नै लेखेका थिए ।
यति मात्र होइन, उनले कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको चर्चित शो ‘क्राइम फाइल्स’को लेखन तथा निर्माण गरेका थिए । ‘मेरो सिर्जनात्मक पाटो अझै पूर्ण रूपमा बाहिर आउन बाँकी छ, भविष्यमा यसलाई अझ बढी समय दिने योजना छ’, उनी भन्छन् ।
भविष्यको बाटो
सुमन गिरी अहिले आफ्नो करिअरको उचाइमा छन् । अझै कम्तीमा ५ वर्ष उनी फाइजरमै बसेर विश्व स्वास्थ्य क्षेत्रमा एआईको नेतृत्व गर्न र त्यसले ल्याउने रूपान्तरण हेर्न चाहन्छन् । त्यसपछि अध्यापन र अनुसन्धानमा फर्कने सोचमा छन् । आफ्नो जरा नेपालमै भएको महसुस गर्ने सुमन भविष्यमा नेपालले पनि प्रविधिको यो लहरलाई पक्रन सकोस् भन्ने चाहन्छन् ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी