News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिनुभएको छ ।
- उनले धर्मका नाममा हुने विवाद रोक्न मानवीय नैतिकताको खाँचो रहेको र पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइनु दुःखद भएको उल्लेख गर्नुभयो ।
- सांसद ठाकुरले नेपाली सहनशील संस्कृतिलाई कमजोरीका रूपमा लिन नहुने बताउँदै कानूनी आधार विना समाज अराजकतातर्फ धकेलिने चेतावनी दिनुभयो ।
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् ।
‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ । यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ । नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ ठाकुरले भने ।
सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मिक गतिविधि वा नाराबाजी अर्को समुदायका लागि असहज बन्ने गरेको उल्लेख गरे ।
मानवीय नैतिकताको अभावमा धर्मका नाममा विवाद हुने गरेको तर्क गर्दै उनले भगवानको नाममा हुने झगडामा नैतिकताको खोजी गरिनुपर्ने बताए ।
‘पछिल्लो समय पाश्चात्य शिक्षाको प्रभावले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइनु दु:खद् छ । यदि समाजमा कानुनी आधार रहन्छ भने मात्र पीडितले न्यायका लागि पहल गर्न सक्छन्, अन्यथा समाज अराजकतातर्फ धकेलिन्छ,’ उनले भने ।
नेपाली संस्कृतिलाई ‘प्यासिभ’ अर्थात् सहनशील संस्कृतिका रूपमा चित्रण गर्दै उनले यसलाई कमजोरीका रूपमा लिन नहुने उनको तर्क थियो ।
प्रतिक्रिया 4