News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज गाउँपालिकामा १० साउनको रात दुई समूहबीच भएको झडपमा गोली लागेर तीन जनाको मृत्यु भएको छ ।
- मृतक ओमप्रकाश मेहताले लगाएको रगताम्ये चप्पल मधेशमा राज्यको दमन र गरिबीको प्रतीकका रूपमा चर्चामा आएको छ ।
- घटनापछि स्थानीयबासीले आन्दोलन गर्दै पीडित परिवारसँग भएको सहमति कार्यान्वयन र राज्यको विभेद अन्त्यको माग गरेका छन् ।
२५ साउन, विराटनगर । १० साउनको राति खान खाएर सुत्नै लाग्दा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झगडाको खबर पाएपछि स्थानीय ओमप्रकाश मेहता दौडिएर चोक पुगे । चप्पल लगाएर चोक पुग्दा दोहोरो झडप हुँदै थियो ।
चौबाटोको दक्षिणपट्टि उभिएका उनी गोली लागेर ढले । उनी ढल्दा लगाएको चप्पल रगताम्ये थिए । सँगै रहेका साथीले चप्पल छेउमा राखिदिए । उनलाई उपचारका लागि अस्पताल पठाइयो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरे ।
घटना भएको रात कप्तानगञ्ज चोकमा चप्पल लगाएर पुग्ने उनी एक्ला थिएनन् । गोली लागेर ज्यान गुमाएका जयप्रकाश र रविन्द्र मेहतासहित स्थानीय चप्पलमै चोक पुगेका थिए ।
कप्तानगञ्ज घटनाको विरोधमा ११ साउनयता स्थानीय नागरिक सडक आन्दोलनमा छन् । आन्दोलनमा उत्रिनेहरू अधिकांश चप्पलमै छन् ।
‘मधेशलाई बुझ्न एउटा चप्पल हेर्नुस्, त्यो चप्पलले खेतदेखि बजारसम्म, गाउँदेखि सदरमुकामसम्म यात्रा गरेको हुन्छ,’ विश्लेषक तथा अग्रज पत्रकार चन्द्र किशोर भन्छन्, ‘मधेशको विकासको कथा कागजमा जति सुन्दर छ, चप्पलको घिसाइमा त्यति नै कठोर देखिन्छ । त्यसैले मधेशमा चप्पल गरिबीको मात्र प्रतीक होइन, श्रम, यात्रा र नागरिकको धैर्यको प्रतीक हो ।’
१० साउनको आन्दोलनमा रगताम्मे चप्पल भदौ २३ र २४ गते जेनजी आन्दोलनको आइकोनिक रगताम्मे जुत्ता जस्तै छ । त्यो जुत्ता जेनजी आन्दोलनका घाइते प्रकाश बोहराको हो ।

रगतले लतपतिएको जुत्तालाई नयाँ पुस्ताको विद्रोहको आइकन मानियो । सामाजिक सञ्जालका वालहरूमा त्यसले सहानुभूति र क्रान्तिको एउटा नयाँ मानक स्थापित गर्यो ।
सुनसरीको कप्तानगञ्ज घटनाको आइकोनिक चप्पल भने राष्ट्रिय बहसको मूलधारमा आउनै पाएन । प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएको घटनास्थलमा भेटिएको रगताम्ये चप्पललाई स्थानीय आन्दोलनको आइकोनिक सिम्बल मान्छन् ।
स्थानीय रामनारायण मेहताका अनुसार रगताम्ये चप्पल मृतक ओमप्रकाशले लगाएका हुन् । गोली लागेर उनी ढलेपछि स्थानीयले चप्पल समेटेर फोटो खिचेका थिए । १० साउनमा उनी हतारमा चप्पल लगाएर दौडिएर चोक पुगेका थिए ।
काठमाडौको जेनजी आन्दोलनको जुत्ता र मधेशको चप्पल दुवै रगतमा निथ्रुक्क भिजेका थिए । दुवैले राज्यको दमनको कथा बोलेका छन् । तर एउटा जुत्ता विद्रोहको विम्ब बन्यो, चप्पलले भने गुमनाम जस्तो छ ।
चन्द्र किशोरका उनका अनुसार मधेश आन्दोलनको समयमा पनि अधिकांश नागरिक खाली खुट्टा र चप्पलमै सडकमा उत्रिएका थिए । कप्तानगञ्ज हुँदै सुरु भएको आन्दोलनमा पनि नागरिकहरू चप्पलमै सडकमा उत्रिए ।
‘मधेशका धेरै आन्दोलन महँगा गाडीबाट होइन, घिस्रिएका चप्पलबाट चलेका छन् । सत्ताको कुर्सीमा पुग्दा मधेशका नेताले चप्पल फेरे, तर जनताको बाटो फेरिएन,’ उनी भन्छन्, ‘चप्पललाई गरिबीको प्रतीक बनाएर हेर्नु मधेशलाई हेर्ने पुरानो दृष्टि हो । मधेशमा चप्पल श्रम, गतिशिलता र जीविकाको साधन पनि हो ।’
जेनजी आन्दोलनमा काठमाडौंको सडकमा जुत्ता लगाउने युवाहरू परिवर्तनको हुटहुटी बोकेर निस्किएका थिए । त्यो जुत्ता आधुनिकता, सचेतना र नयाँ पुस्ताको आक्रोशको प्रतीक बन्यो ।
रगत लागेको जुत्ता एउटा कलात्मक विद्रोहको रूपमा प्रस्तुत भयो । तर, मधेशका लागि चप्पल बाध्यता र दैनिकी हो । खेतको हिलोदेखि सडकको आन्दोलनसम्म किसानको साथी भनेकै फित्तावाला चप्पल हुन् ।
समाजशास्त्रका उपप्राध्यापक चन्द्र उपाध्यायका अनुसार तराईको दैनिकीको हिस्सा चप्पल हो । ‘चप्पल लगाउन र खोल्न सजिलो हुन्छ, यो मधेशको जीवनशैलीको एउटा अभिन्न हिस्सा हो,’ उनी भन्छन्, ‘यसले समाजको अवस्था र सांस्कृतिक सम्बन्ध पनि जनाउँछ ।’
मधेशको आन्दोलनमा सामान्य जनजीवनको स्वतःस्फूर्त सहभागिता हुने भएकाले चप्पलको बाहुल्य देखिएको उनको विश्लेषण छ।
‘आन्दोलनमा आइकोनिक प्रतीकहरूले सम्बन्धित घटनालाई भावनात्मक रूपमा जीवित राख्न र मानिसहरूलाई त्यो क्षण नबिर्सन निरन्तर घच्घच्याइरहने काम गर्छन्,’ उपाध्याय भन्छन्, ‘चप्पल मधेशको जीवनशैलीको हिस्सा हो ।’
काठमाडौं र शहरिया जीवनशैलीको हिस्सा जुत्ता भएको उनी बताउँछन् । ‘जेनजी आन्दोलनको आइकनिक जुत्ता युवा र विद्यार्थीको परिचय र सपनासँग जोडिएको थियो, यसले शहरी क्षेत्रको औपचारिक पहिरन र संस्थागत परिवेशबाट सुरु भएको विद्रोहलाई प्रतिविम्बित गर्छ,’ उनी भन्छन्, ‘काठमाडौंको जुत्ता होस् वा मधेशको चप्पल दुवैले आ–आफ्नो ठाउँको भूगोल, संस्कृति र संघर्षको प्रतिनिधित्व गर्छन् ।’
मधेशलाई प्रतिनिधित्व गर्ने गरी चप्पलको प्रयोग हुनुमा भूगोल र जीवनशैलीको प्रभाव रहेको उनको बुझाइ छ ।

मधेशको आन्दोलनमा सहभागी हुने अधिकांशका खुट्टामा चप्पल नै हुन्छन् । मधेशका चप्पलले अधिकार र न्यायका लागि सडक नापेका छन् । काठमाडौंको सडकमा चर्किएको आवाजले जति सजिलै सिंहदरबारको ढोका ढकढक्याउँछ, मधेशको देहातका आवाजहरू त्यति सजिलै सुनिँदैनन् भन्ने उदाहरण पनि कप्तानगञ्ज घटना हो ।
स्थानीयका अनुसार ओमप्रकाश मेहताको चप्पलले राज्यको क्रुरता र विभेदको ऐना देखाएको थियो । १० साउनको घटनापछि सरकार र पीडित परिवारबीच सहमति भएको थियो ।
तर, सहमति कार्यान्वयन नगरी विभेद गरेको भन्दै स्थानीयले हरेक दिन आन्दोलन गरिरहेका छन् । काठमाडौंमा उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको शव परिवारले बुझेका छैनन् ।
शव बुझ्नका लागि उनीहरूले मधेशमाथि राज्यले गरिरहेको विभेदपूर्ण व्यवहार अन्त्य र सहमति कार्यान्वयनको माग राखेका छन् ।
प्रतिक्रिया 4