२५ असार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । सडक छेउमा रोकेर राखेको उनको बाइकमा काठमाडौं महानगरपालिका महानगर प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले ह्वील लक गर्यो ।
कतिपयले महानगर प्रहरीले ह्वीललक लगाएकै कारण यो घटना घटेको भनिरहेका छन् । आत्मदाह प्रयासपछि शरीर जलेका नेपाली अस्पतालको शय्यामा छन् । प्रहरीले यसबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको भनेको छ ।
हामीले यसबारे महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीसँग सोधखोज गर्यौं । उनको बाइकमा बिहान साढे ११ बजे ह्वील लक लागेको जानकारी गराए ।
आफूहरूले नियमित काम गरेको बताउँदै उनले ह्वील लक लागेपछि पनि बाइक २ घण्टाजति सडकमै बसेको बताए । यद्यपि यो घटनामा आफूहरू जिम्मेवार नभएको उनको भनाइ छ ।
जोशीसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी:
तपाईंहरूले चिट काटेपछि घटना घटेको हो ?
आज दु:खद् घटना भयो । बाइक त्यहाँ लक लागेको मात्रै थियो । चिट काटेको मेरो जानकारीमा छैन । चिट त हाम्ले काट्ने पनि होइन ट्राफिकले हो । मेरो जानकारीमा भएको कुरा त्यहाँ बाइक पार्किङ गर्न नमिल्ने ठाउँमा राखिएको पाइयो ।
हाम्रो मान्छेले सोधिखोजी गर्यो कोही भेटेन । त्यहाँ कोही नदेखेपछि सार्वजनिक आवागमनमा अवरोध भएपछि हटाउने हाम्रो नियमित प्रक्रिया नै हो । जुन काम हामी गरिरहन्छौ । दिनमै सयौँको संख्याका सवारीमा यस्तो गरिरहेकै हुन्छौं ।
नियमित रूपमा कानुनको पालना गर्ने/गराउने शिलशिलामा यस्तो अप्रिय घटना हुन पुग्यो । यसमा हामीलाई पनि दु:ख लागेको छ । यसको कारक तत्व हामी होइनौं ।
भोलिदेखि हामीले यो काम सर्लक्क छोडिदिने हो भने सडकको अवस्था के होला ? यही भएर यसलाई हामीसँग जोड्न जरुरी छैन । कारण के हो पत्ता लगाउनुपर्छ ।
बाइक साढे २ घण्टासम्म किन त्यहीँ राखिएको ?
व्यक्ति त्यतिबेलै सम्पर्कमा नआएपछि ट्राफिक प्रहरी र हाम्रो प्रहरीको संयुक्त टिमले त्यसलाई उठाएर बग्गीखाना लैजान्छ । आज बाइक बग्गीखाना लैजान पाएको थिएन । टिम आउँदै थियो । टिम आउँदै गरेको अवस्थामा उहाँले आत्मदाहको प्रयास गर्नुभयो ।
उहाँसँग त्यहीँ के रहेछ र सजिलै आत्मदाह प्रयास गर्नुभयो ?
यसो रहेछ नि त- साढे ११ बजे ह्वील लक लागेको । लगभग साढे १ बजेतिर उहाँ त्यहाँ आउनुभयो । २ घण्टा हराउनु भयो । हराउनेक्रममा उहाँले के के गर्नुभयो थाहा हुने कुरा भएन । महानगरप्रहरी व्यक्तिको पछाडि लाग्ने कुरा पनि हुँदैन । घटना अप्रिय भयो हामीलाई दु:ख लागेको छ ।
प्रतिक्रिया 4