News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्त नाजुक भएको भन्दै सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।
- उनले भने, 'पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ ।'
- सांसद राईले चीनमा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेको भन्दै खेलकुद क्षेत्रको उपेक्षाप्रति गम्भीर आक्रोश व्यक्त गरेका छन् ।
२६ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे ।
राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए ।
विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि पन्छिरहेको आरोप लगाए ।
उनले देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गरे । यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको उनको तर्क छ ।
राईले जनताको दैनिक समस्या र सेवा सुविधाको अभावका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए ।
मन्त्रीहरू मन्त्रालयको वातानुकूलित (एसी) कोठामा सीमित भएको तर सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा न्यायका लागि आन्दोलन गर्ने नागरिकको पीडा नबुझेको उनले बताए ।
यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी र वास्तविक भूमिहीनले अझै धनीपुर्जा नपाएको विषयमा भूमि सुधार मन्त्रालयले देखाएको आलटालप्रति पनि उनले आपत्ति जनाए ।
उनले थपे, ‘पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुमवासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ । स्थानीय तह वा अन्य निकायलाई दोष दिएर हुँदैन। संघीय सरकारले समन्वय गरेर समस्या समाधान गर्नुपर्छ ।’
अध्यक्ष राईले भने, ‘हामी देशमै छौँ, तर कस्तो देशमा छौँ ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ । नागरिक सुरक्षित छैनन्, न्यायमा पहुँच छैन, सेवा–सुविधा र अवसर छैन । राज्यको पहिलो दायित्व नागरिकलाई सुरक्षा दिनु हो । धर्म, जात वा अन्य विषयका नाममा आगजनी, तोडफोड र धम्की भइरहेका छन् । यस्ता गतिविधिमा संलग्नलाई राजनीतिक आस्था नहेरी कडा कारबाही गर्नुपर्छ ।’
उनले अगाडि थपे, ‘तराई–मधेश लगायत असुरक्षित महसुस गरिरहेका नागरिकलाई सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्छ । न्यायको अवस्था पनि त्यस्तै छ । महिनौँदेखि माइतीघरमा नागरिकहरू आफ्ना माग लिएर बसेका छन् । मन्त्रीहरू एसीको कोठामा बसेर देश बुझिँदैन । खेतमा, कारखानामा, सडकमा र आन्दोलनरत नागरिकबीच पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ ।’
उनले ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘सेवा–सुविधाको कुरा गर्दा ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । हामी एसीको गाडी र कोठामा बसेर जनताको पीडा बुझ्न सक्दैनौँ ।’
अवसरको अवस्था झन् गम्भीर रहेको भन्दै उनले दैनिक ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य भएको बताए ।
वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिएको र विमानस्थलमा युवाहरूको लाम लाग्नुले देशमा अवसरको चरम अभाव देखाएको उनको भनाइ छ ।
उनले भने, ‘विदेश जाने नाममा ठगी भइरहेछ, तर ठगी गर्नेहरूमाथि प्रभावकारी कारबाही भएको छैन । सरकारसँग हाम्रो माग स्पष्ट छ । आश्वासन होइन, एक्सन चाहिन्छ ।’
अध्यक्ष राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, नैतिक र पदीय जिम्मेवारी लिनुहोस्, संसद्सँग संवाद गर्नुहोस् र जनताको बीचमा जानुहोस् । देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ । सरकार बलियो हुनुपर्छ, तर त्यो शक्ति जनताको पक्षमा प्रयोग हुनुपर्छ ।’
खेलकुद क्षेत्रको उपेक्षाको प्रसङ्ग निकाल्दै अध्यक्ष राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेकोमा आक्रोश व्यक्त गरे ।
अन्तर्राष्ट्रिय खेलाडीहरू विदेशमा अलपत्र पर्नु र उपचार नपाएर रुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया 4