+
+
Shares

सरकारलाई खुश्बु ओलीको प्रश्न- तथ्यांकमा मल छ, किसानको खेतमा किन छैन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले श्रमिकको शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।
  • उनले गार्मेन्ट उद्योगका श्रमिक १२ घण्टा काम गर्दा न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको भन्दै श्रम निरीक्षणलाई परिणाममुखी बनाउन माग गरिन् ।
  • सांसद ओलीले सरकारी गोदाममा मल भएर मात्र नहुने भन्दै मल वितरण प्रणालीमा रहेको भ्रष्टाचार र कमजोरीको छानबिन गर्न सरकारसँग माग गरिन् ।

२६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकहरूको श्रम शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन् ।

ओलीले देशको आर्थिक वृद्धिको तथ्यांक प्रस्तुत गर्दा त्यसको जगमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सिन नहुनेमा जोड दिइन् ।

विशेषगरी कार्पेट, धागो र गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकहरूले दैनिक १२ घण्टा काम गर्दा समेत मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको र कार्यस्थलमा न्यूनतम मानवीय सुविधाबाट समेत वञ्चित हुनुपरेको यथार्थ उनले सदनमा प्रस्तुत गरिन् ।

उनले श्रम निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरिन् ।

उनले भनिन्, ‘नेपालको नाम विश्व बजारमा पुर्‍याउने श्रमिकहरू नै राज्यको श्रम निरीक्षणबाट ओझेलमा छन् । कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार र रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने श्रमिकका पक्षमा सरकार मौन रहनु दुःखद् हो ।’

उनले थपिन्, ‘सरकारी गोदाममा मल भएर मात्र हुँदैन, किसानको खेतमा समयमै मल पुग्नुपर्छ । कुन जिल्ला र पालिकामा कति मल पठाइयो, त्यसको तथ्यांक सरकारले सार्वजनिक गर्नुपर्छ ।’

सांसद ओलीले देशभर व्याप्त मलको अभावका विषयमा कृषि मन्त्रालयको आलोचना गरिन् ।

कृषिमन्त्रीले सदनमा मलको अभाव नहुने आश्वासन दिए पनि व्यवहारमा किसानहरू छटपटाइरहेको उनले बताइन् ।

सरकारी तथ्यांकले ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखाए पनि किसानको खेतसम्म पुग्न नसक्नुले वितरण प्रणालीमा ठूलो भ्रष्टाचार वा कमजोरी रहेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?