News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले नेपालको खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिइन्।
- उनले भनिन्- खानी परियोजना सञ्चालन गर्दा स्थानीय समुदायको रोजगारी, सिप विकास र पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा परियोजनासँग जोड्न आवश्यक छ।
- खनिज उद्योगको विकास र प्रशोधनमार्फत आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने उनले बताइन्।
२६ साउन, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले नेपालको खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
नेपाल खनिज सम्पदाले सम्पन्न भए पनि हालसम्म प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउन नसकिएको उल्लेख गर्दै अर्यालले प्रस्तुत विधेयकले यो दिशामा मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरिन् ।
खनिज क्षेत्रको विकासका लागि आधुनिक भूवैज्ञानिक अध्ययन र विस्तृत अन्वेषणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
अर्यालले केवल उत्खननमा मात्र सिमित नभई प्रशोधन उद्योग स्थापना गरी कच्चा पदार्थको उत्पादन र मूल्य अभिवृद्धि गरिएका वस्तु बजारमा पुर्याउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘खानी परियोजना सञ्चालन गर्दा स्थानीय समुदायको रोजगारी, सिप विकास र पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा परियोजनासँग जोड्न आवश्यक छ ।’
विगतमा सुरु भएका दैलेखको पेट्रोलियम तथा ग्यास र धौबाधीको फलाम खानीजस्ता परियोजनाहरूलाई सफल बनाउनुपर्नेमा जोड दिँदै उनले चुनढुंगा, तामा र सुन लगायतका खानीहरूले नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने आधार तय गर्ने बताइन् ।
यी परियोजनाहरू सफल भएमा मुलुक औद्योगिकीकरणको दिशामा अघि बढ्ने, रोजगारी सिर्जना हुने र पेट्रोलियम एवं फलामको आयातमा रहेको निर्भरता घटेर निर्याततर्फ जान सकिने उनको दाबी छ ।
प्राकृतिक स्रोतलाई राष्ट्रिय समृद्धिको आधार बनाउने संविधानको लक्ष्यलाई पूरा गर्न यो विधेयक प्रभावकारी हुनुपर्ने अर्यालले बताइन् ।
विधेयक केवल कानुनमा मात्र सिमित नभई नेपालको प्राकृतिक सम्पदालाई राष्ट्रिय विकास, औद्योगिक सुधार र आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार बनाउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।
प्रतिक्रिया 4