+
+
Shares

सुनसरी घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग जोडदार माग गरेको छ ।
  • पार्टी प्रवक्ता देवराज चालिसेले सरकारी संयन्त्रको अनुसन्धानले घटनाको वास्तविकता ढाकछोप गर्ने आशंका व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गरेका छन्।
  • कांग्रेसले १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै आपत्ति जनाएको छ ।

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराउँदै सरकारी संयन्त्र मात्र संलग्न आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने आशंका व्यक्त गरिएको छ ।

कांग्रेसले १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको आरोप लगाएको छ । यादवको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले तत्काल न्यायिक आयोग गठन गर्न माग गरेको हो ।

‘घटनामा निष्पक्ष आयोग गठनको मागसहित सम्झौताको तत्काल कार्यान्वयन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य स्थिति गम्भीर बन्दा समेत सरकारले कुनै चासो नदेखाएकोमा नेपाली कांग्रेस थप गम्भीर र चिन्तित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेस यसै विज्ञप्तिमार्फत तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न जोडदार माग गर्दछ ।’

कांग्रेसले सुनसरीका विभिन्न स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको दाबी गरेको छ । पीडितलाई न्याय दिने प्रतिबद्धतासहित सरकारले सम्झौता गरे पनि चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य विषय कार्यान्वयन नभएको कांग्रेसको आरोप छ ।

सम्झौता कार्यान्वयनमा सरकारको ढिलाइले स्थानीय समुदायमा आक्रोश बढिरहेको भन्दै कांग्रेसले यसबाट पुनः अर्को दुर्घटना निम्तिन सक्ने चेतावनी दिएको छ । कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न पेशा, व्यवसाय र संघ–संस्थासँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?