News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
- प्रहरीका अनुसार उक्त घटनामा १५ वटा निजी घर, १८ वटा पसल, २८ वटा सवारीसाधनसहित ६४ वटा संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
- सांसद पुरुषोत्तम यादवले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष आवाज उठाउने र सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको छ।
२७ साउन, सिरहा । सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी वासुदेव पाठकका अनुसार पीडितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुचुल्काको विश्लेषण गर्दा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको हो ।
प्रदर्शनका क्रममा गोलबजार क्षेत्रमा १५ वटा निजी घर, १८ वटा पसल तथा व्यवसाय, २८ वटा सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थल गरी ६४ वटा संरचनामा तोडफोड तथा आगजनी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निजी घर तथा व्यापारिक संरचनातर्फ सबैभन्दा बढी ३४ करोड ५ लाख ५९ हजार रुपैयाँ, पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार रुपैयाँ, सवारीसाधनमा एक करोड दुई लाख रुपैयाँ तथा धार्मिक तथा शैक्षिक स्थलमा भएको तोडफोड र आगजनीबाट ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आन्दोलनका कारण करिब एक सातादेखि बन्द रहेका गोलबजारका पसलहरू भने मंगलबार बिहान १० बजेदेखि सञ्चालनमा आएका छन् । यसअघि सोमबार सांसद पुरुषोत्तम यादवले गोलबजार नगरपालिका–११ बल्कावामा मुस्लिम समुदायका व्यवसायीसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए ।
छलफलका क्रममा उनले आन्दोलनका क्रममा पसल, मल तथा निजी घरमा भएको क्षतिका विषयमा संसद् र सरकारसमक्ष आवाज उठाउने तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई गम्भीर बन्न दबाब दिने प्रतिबद्धता जनाएका छन्।
गत साउन १४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गणेशको मृत्यु भएपछि प्रदर्शन चर्किंदा गोलबजार क्षेत्रमा विभिन्न पसल, व्यवसायिक तथा निजी संरचनामा तोडफोड र आगजनी भएको थियो।
घटनापछि प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न तथा जनजीवन सामान्य बनाउन स्थानीय तह, प्रशासन, राजनीतिक दल र विभिन्न समुदायका प्रतिनिधिबीच पहल भइरहेको छ ।
प्रतिक्रिया 4