News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य उपचारका लागि लामो समय सिंगापुरमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् ।
- स्वदेश फर्किएपछि चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्बोधन गर्दै देउवाले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा आक्रोश व्यक्त गरे ।
- देउवाले आफ्नो र पत्नी आरजु राणाविरुद्ध राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउँदै सरकारलाई कडा चेतावनी दिए ।
२८, साउन काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीसँगै काठमाडौंमा देखिएको राजनीतिक दृश्य र त्यसपछि उनले दिएका अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति समीकरणबारे नयाँ बहस जन्माएको छ ।
स्वास्थ्य उपचारका लागि १३ फागुन २०८२ मा सिंगापुर गएका देउवा हङकङबाट थाई एयरको उडानमार्फत बिहीबार मध्यान्ह करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
उनको स्वागतका लागि कांग्रेसका नेता-कार्यकर्तासँगै समर्थकहरूको भीड विमानस्थलमा जम्मा भएको थियो । देउवालाई विमानस्थलबाट चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयतर्फ अगाडि बढाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट उपचारका लागि सिंगापुर गएका थिए । ७ चैत २०८२ मा थप उपचारका लागि उनी सिंगापुरबाट हङकङ पुगेका थिए ।
हङकङबाट सुरुमा २६ साउन राति ९:४५ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको थियो । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले देउवा २६ साउनमा फर्किने जानकारी सञ्चारमाध्यमलाई दिएका थिए ।
तर, उनको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुन सक्ने गरी आगमनको समय परिवर्तन गरिएको थियो ।
स्वदेश फर्किएपछि देउवाको सचिवालयले सार्वजनिक गरेको वक्तव्य भने उनको स्वागतमा देखिएको राजनीतिक उत्साहभन्दा बिल्कुलै फरक शैलीको थियो । लामो समयपछि स्वदेश फर्किएका देउवाले वक्तव्यमा आफूलाई कुनै उत्तेजना वा आक्रामकताको भाषामा प्रस्तुत गरेनन् ।
बरु, उनले आफूलाई शक्ति र पदको आकांक्षी नेताभन्दा राष्ट्रको नागरिकका रूपमा प्रस्तुत गरे । ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु- विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ देउवाले वक्तव्यमार्फत भनेका छन् ।
देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको सन्देश पनि दिए । सरकारलाई जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्न आग्रह गर्दै उनले राजनीतिक आग्रह-पूर्वाग्रहबाट टाढा रहनसमेत सुझाव दिए ।
‘जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ । त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका थिए, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन ।’
परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै देउवाले आफूहरू अन्धाधुन्ध नदौडिने, विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरण अघि बढाउने बताएका थिए ।
वक्तव्यमा देउवा संयमित थिए । शब्दमा नरम थिए । राजनीतिक प्रतिशोध वा टकरावको संकेतभन्दा सहकार्य, राष्ट्रिय एकता र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिएको देखिन्थ्यो ।
तर, यही शालीनता धेरैबेर टिकेन ।
स्वदेश फर्किएपछि चुनदेवीस्थित आफ्नो समूहको सम्पर्क कार्यालयबाट दिएको मन्तव्यमा देउवा आक्रामक सुनिए । विमानस्थलबाट सार्वजनिक गरिएको वक्तव्यमा देखिएको संयम चुनदेवी पुग्दा आक्रोश र चुनौतीपूर्ण अभिव्यक्तिमा बदलियो ।
कांग्रेसको संस्थापन पक्षीय नेताहरूले देउवा सरकारसँग ‘सेटिङ’ मिलाएर स्वदेश फर्किएको आरोप लगाइरहेका बेला उनले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति तीव्र आक्रोश व्यक्त गरे ।
‘मलाई अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो,’ देउवाले भने ।

आफू र पत्नी डा. आरजु राणा देउवामाथि मुद्दा चलाउने र पक्राउ गर्ने प्रयास भएको प्रसंग निकाल्दै देउवाले गम्भीर आरोप लगाए । ‘यहीँ पनि मुद्दा हाल्यो । फटाहा छन् यहाँ,’ उनले भने ।
अदालतले आफू र आरजुलाई पक्राउ नगर्न आदेश दिए पनि त्यसको उल्लंघन गर्दै ‘बदमासी’ गरिएको देउवाको आरोप थियो । ‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्यो,’ उनले भने ।
पूर्वप्रधानमन्त्री देउवाले सम्पत्ति शुद्धीकरणको विषय पनि उठाए । पटक–पटक अनुसन्धान भएपनि आफूविरुद्ध केही नदेखिएको दाबी गर्दै उनले छानबिनमा संलग्न अधिकारीमाथि राजनीतिक प्रतिशोध साधिएको संकेत गरे ।
‘एकपल्ट सम्पत्ति शुद्धीकरण आयो, केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो । उसलाई निकालिदियो,’ देउवाले भने, ‘यतिसम्म बदमासी काम गरेको छ ।’
देउवाको आक्रोश यतिमै रोकिएन । सरकारप्रति लक्षित गर्दै उनले आफूहरूले ‘देखाएर छाड्ने’ चेतावनीसमेत दिए ।
‘तर, म बढ्ता कुरा गर्नेवाला छैन । यो देशको जनता छ, यो देशको अदालत छ । सबले जानेको छ । बुझेको छ,’ देउवाले भने, ‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । प्रजातन्त्र कसैले खोस्न सक्दैन ।’
देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको प्रसंग जोड्दै अहिलेका शक्तिहरूले पनि आफूलाई रोक्न नसक्ने दाबी गरे । उनले भने,’ राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
देउवाको स्वदेश फिर्तीका क्रममा सार्वजनिक भएका दुई अभिव्यक्तिमा स्पष्ट अन्तर देखिएको छ । यही अन्तरले देउवाको आगामी राजनीतिक भूमिकाबारे चासो बढाएको छ ।
पूर्वसभापति देउवा झण्डै एक वर्षदेखि पार्टीको सक्रिय नेतृत्वबाट बाहिर छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौ २०८२ मा बूढानीलकण्ठस्थित निवासमा सांघातिक आक्रमणमा परेसँगै उनी सक्रिय नेतृत्वबाट बाहिरिएका हुन् ।

आक्रमणको ३६ औं दिन ३० असोज २०८२ मा उनी सानेपामा सार्वजनिक भएका थिए । जेनजी आन्दोलनपछि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकलाई देउवाले सभापतिको हैसियतमा सम्बोधन गरेका थिए ।
बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएर उनी १० कात्तिक २०८२ को राति उपचारका लागि सिंगापुर उडेका थिए । पत्नी डा. आरजु राणा देउवासहित सिंगापुर गएका उनी २८ कात्तिक २०८२ मा स्वदेश फर्किएका थिए ।
उनी स्वदेश फर्किँदासम्म तत्कालीन संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच पार्टीको १५ औं महाधिवेशनको विषयलाई लिएर रस्साकस्सी चलिरहेको थियो । अन्ततः पुस अन्तिम साता विशेष महाधिवेशन सम्पन्न भयो ।
देउवा पक्षले विशेष महाधिवेशनमा भाग लिएन । विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यसमिति चयन गरेसँगै देउवाको पद गयो ।
अहिले उनी पार्टीको सभापति पदमा उनी छैनन् । पार्टीमा संस्थापन र इतर समूहबीचको विवाद लामो समयदेखि कायमै छ ।
पछिल्लो समय सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादको सुरुवाट सुनुवाइ गर्ने अनुमति दिएपछि दुई समूहको विवाद झनै चर्किएको छ ।
तर, संस्थापन इतर पक्षीय नेताहरू पूर्वसभापति देउवाको स्वदेश फिर्तीले पार्टीभित्रको मतभेद अन्त्य हुने बताउँछन् ।
इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले पार्टी अभिभावकबिहीन हुँदा बढेको मतान्तर अन्त्य हुने बताए ।
‘अभिभावकबिहीन भएर हाम्रो बीचमा मत–मतान्तर थियो । विचलन देखिएको थियो । अभिभावक आउनुभएको छ,’ उनले भने, ‘पार्टीभित्रको मतभेद निवारण गरेर एकता हुन्छ । नेपाली राजनीतिमा समन्वयकारी नेतृत्वको अभाव थियो, उहाँ आउने बित्तिकै अब समन्वयकारी नेतृत्व पनि प्राप्त गर्छ ।’
राजनीतिक विश्लेषक सौगात गौतमले पूर्वसभापति देउवाको स्वदेश फिर्तीसँगै राजनीतिक विरासतको असली परीक्षाको बेला आएको बताए ।
देउवाले वक्तव्यमा उल्लेख गरेको ‘परिवर्तनलाई आत्मसात् गर्ने र युवा अगाडि आउनुपर्ने’ स्वागतयोग्य भएको पनि बताए ।
‘त्यो कुरालाई अब उहाँ (देउवा) ले पार्टीमा देखिएको मनमुटाव हटाउन अभिभावकको भूमिकामार्फत व्यवहारमा देखाउनुपर्छ,’ विश्लेषक गौतमले अनलाइनखबरसँग भने ।
राजनीतिक विवादको समाधान अदालतबाट नभई राजनीतिक नेतृत्व र राजनीतिक संवादबाटै खोजिनुपर्ने गौतमको धारणा छ ।
प्रतिक्रिया 4