+
+
Shares

अटो फाइनान्सिङमा बढ्दै कर्जा

हायर पर्चेज कर्जामा सुरुवातमा ५० प्रतिशत रहेको एलटीभी अहिले विद्युतीय सवारीमा ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसी) गाडीमा ६० प्रतिशत कायम गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसरमा आयोजित कार्यक्रममा अटोमोबाइल क्षेत्रको कर्जा प्रवाह, जोखिम व्यवस्थापन र बीमा दाबीको सहज फर्छ्योटमा जोड दिइएको छ ।
  • नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले अटो कर्जामा जोखिम न्यूनीकरणका लागि लोन टु भ्यालु रेसियो (एलटीभी) कायम गर्नु महत्त्वपूर्ण रहेको बताए ।
  • एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले बीमा दाबीका लागि आवश्यक प्रमाण र कागजात स्पष्ट रूपमा पेस गरेमा भुक्तानी प्रक्रिया सहज हुने बताए ।

२८ साउन, काठमाडौं । अटोमोबाइल क्षेत्रमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बीमा दाबीको सहज फर्छ्योट र कर्जा प्रक्रिया थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी : फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा सहभागीले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले अटो कर्जामा जोखिम न्यूनीकरणका लागि ‘लोन टु भ्यालु रेसियो’ (एलटीभी) महत्त्वपूर्ण रहेको बताए ।

उनका अनुसार हायर पर्चेज कर्जामा सुरुवातमा ५० प्रतिशत रहेको एलटीभी अहिले विद्युतीय सवारीमा ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसी) गाडीमा ६० प्रतिशत कायम गरिएको छ ।

ब्याजदर बढ्दा ऋणीलाई समस्या पर्न सक्ने भएकाले जोखिम व्यवस्थापनका लागि एलटीभी आवश्यक रहेको सुवेदीले बताए । कर्जा भुक्तानीमा समस्या बढे आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुने उनको भनाइ छ ।

उनका अनुसार अहिले कुल ६० खर्ब रुपैयाँ कर्जामध्ये हायर पर्चेज कर्जाको हिस्सा १ खर्ब ४२ अर्ब रुपैयाँ छ । यस्तो कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको छ । हायर पर्चेज कर्जामा खराब कर्जा कम रहेकाले बैंकहरू पनि तुलनात्मक रूपमा सहज कर्जा दिन तयार रहेको उनले बताए ।

सुवेदीले अटो कर्जामा तत्कालै ‘क्रेडिट बबल’ आउने अवस्था नदेखिएको पनि बताए । एउटा क्षेत्रमा देखिएको समस्याले अन्य क्षेत्रमा समेत असर पार्न सक्ने भएकाले राष्ट्र बैंक यस विषयमा सचेत रहेको उनको भनाइ छ ।

कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले अटो बीमा दाबीमा समस्या हुने भाष्य बनेको बताए । बीमा दाबी निश्चित सिद्धान्त, प्रमाण र प्रक्रियाका आधारमा हुने भएकाले त्यसबारे स्पष्ट बुझाइ आवश्यक रहेको उनको भनाइ छ ।

पन्तले क्षतिको सही विवरण सहित आवश्यक प्रमाण र कागजात पेस गरे बीमा दाबी फर्छ्योट सहज हुने बताए । बीमा प्राधिकरणले छिटो भुक्तानीका लागि निर्देशन दिइरहेको भन्दै दाबीको अवस्था ड्यासबोर्ड मार्फत देखाउने व्यवस्था आवश्यक रहेको उनले बताए ।

ईभीका हकमा ब्याट्रीमा ५० प्रतिशतसम्म मात्रै डिप्रिसिएसन काटिने व्यवस्था रहेको पनि पन्तले जानकारी दिए ।

हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकसम्म पुग्न नसक्ने ग्राहक लक्षित गरेर हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गरिरहेको बताए ।

उनका अनुसार हायर पर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमा ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा गएको छ ।

ठाकुरका अनुसार हायर पर्चेज कम्पनीबाट केही घण्टामै कर्जा प्रवाह हुन सक्ने अवस्था छ । हायर पर्चेज कर्जा लिने ६० प्रतिशत ग्राहक ४० वर्षभन्दा कम उमेरका रहेको उनले बताए ।

ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले पनि हायर पर्चेज कर्जा लिनेको औसत उमेर घट्दै गएको बताए । उनका अनुसार अहिले कर्जा लिने ६० प्रतिशत ग्राहक ४० वर्षभन्दा कम उमेरका छन् र त्यसमध्ये महिला संख्या पनि उल्लेख्य छ ।

अटो कर्जाको बजार काठमाडौंमा केन्द्रित रहे पनि पछिल्लो समय कर्जा प्रवाह काठमाडौं बाहिरका सहरमा समेत विस्तार हुँदै गएको अर्यालले बताए । बैंकका लागि हायर पर्चेज कम्पनी मार्फत कर्जा प्रवाह गर्दा जोखिम व्यवस्थापनमा समेत सहज हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?