+
+
Shares

आईजीपीसँग रास्वपा सांसदको आक्रोश- मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन हैन

'हिजोका मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिन्नन्'

केहीदिन अघि प्रतिनिधिसभाको लेखा समितिको बैठकमा सांसद सुनारले चर्का कुरा गरेपछि नेपाल प्रहरीका आईजीपी कार्कीले त्यसको प्रतिवाद गरेका थिए । त्यसलाई इंगित गर्दै सुनारले यो अभिव्यक्ति दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते २२:०२

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलक्षित गर्दै फेरि अभिव्यक्ति दिएका छन् । बिहीबार राति फेसबुकमा सांसद सुनारले राखेको स्टाटसमा बर्दी र फुली देखाएर धम्काउँदैमा हिजोका मुद्दा नसकिने टिप्पणी गरिएको छ ।

‘एक हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ । भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति–कति,’ उनले लेखेका छन्, ‘राज्यको आर्थिक हिसाब–किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौं । हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ ।’

आफूले तितो बोल्दा ‘भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन’ आउने भन्दै उनले ‘धेरै तितो बोल्न बाँकी’ रहेको लेखेका छन् ।

‘बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ । त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस् । हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन,’ सांसद सुनारले भनेका छन् ।

उनले आफू राष्ट्र सेवक प्रहरी, सिपाही र दु:खमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको दाबी गरेका छन् । गरिबका छोराछोरी म्यादी, सिपाही, हबलदार भएका भन्दै उनले ‘ती गरिबका जुत्ता–मोजा,  कट्टु–रासन खाएको अर्बौंको गम्भीर र ठूलो मुद्दा परेको’ बताएका छन् ।

‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने होइन । जुत्ता लगाउने हो खाने हैन । सत्य सेवा सुरक्षणम्,’ सांसद सुनारले लेखेका छन् ।

केहीदिन अघि प्रतिनिधिसभाको लेखा समितिको बैठकमा सांसद सुनारले चर्का कुरा गरेपछि नेपाल प्रहरीका आईजीपी कार्कीले त्यसको प्रतिवाद गरेका थिए । त्यसलाई इंगित गर्दै सुनारले यो अभिव्यक्ति दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?