News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका जोड्ने आँधीखोलाको मोटरेबल पुल निर्माण सम्पन्न भए पनि पहुँच सडकको अभावमा सो संरचना प्रयोगविहीन बनेको छ ।
- १४ करोड २६ लाख ३७ हजार रुपैयाँ लागतमा सात वर्ष लगाएर निर्माण गरिएको उक्त पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
- स्थानीयले पुलको दुवैतर्फ सडक पूर्वाधार व्यवस्थित गर्न वालिङ र भीरकोट नगरपालिकालाई तत्काल समन्वय गरी पहल गर्न माग गरेका छन् ।
२९ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–११ र भीरकोट नगरपालिका–४ लाई जोड्ने आँधीखोला माथिको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । तर, पुलको दुवैतर्फ आवश्यक पहुँच सडक नबन्दा करोडौँ रुपैयाँ लगानीमा बनेको संरचना अझै प्रयोगमा आउन सकेको छैन ।
स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण थालिएको पुल सात वर्षपछि तयार भए पनि पुलसम्म पुग्ने र पुलबाट दुवैतर्फ जोडिने सडकको काम नहुँदा स्थानीयले अपेक्षित सुविधा पाउन सकेका छैनन् ।
वालिङ र भीरकोट नगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि २०७५ साल असार २६ गते सम्झौता भएको थियो । विभिन्न प्राविधिक समस्या र ढिलासुस्तीका कारण तोकिएको समयभन्दा लामो समयपछि पुलको निर्माण सम्पन्न भएको हो ।
स्थानीय अनमोल खड्काले पुल बने पनि सडक नबन्दा त्यसको प्रत्यक्ष लाभ लिन नपाएको बताए । पुल सञ्चालनमा आएपछि आवतजावत सहज हुने आशा गरे पनि पहुँच मार्ग नहुँदा अहिले पनि पुरानै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालय पोखराले भ्याटसहित १४ करोड २६ लाख ३७ हजार रुपैयाँको लागतमा १२७ मिटर लामो पुल निर्माण गरेको हो । सुरुमा २०७८ साल वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेट अभाव र पिलर निर्माणका क्रममा जमिनमुनि कडा चट्टान भेटिएपछि काममा ढिलाइ भएको थियो ।
पुल निर्माण पूरा हुन सात वर्ष लाग्यो । तर, पुल तयार हुँदासम्म पनि दुवैतर्फको सडक पूर्वाधार व्यवस्थित गर्न स्थानीय तह र सम्बन्धित निकायले पर्याप्त ध्यान नदिँदा पुल अहिले प्रयोगविहीन बनेको स्थानीयको गुनासो छ ।
स्थानीय चन्द्रधोज खाँणले पुल निर्माण मात्र गरेर विकासको उद्देश्य पूरा नहुने बताए । पुलसँगै जोडिने सडक र पहुँच मार्गको व्यवस्थापन नगर्दा स्थानीयले निरन्तर सास्ती भोग्नुपरेको उनको भनाइ छ ।
उनले वालिङ र भीरकोट नगरपालिकाबीच समन्वय गरेर पुलसम्म पुग्ने सडक तत्काल व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । पुल सञ्चालनमा आएमा दुई नगरपालिकाबीचको आवतजावत मात्र होइन, स्थानीयको दैनिक जीवन पनि सहज हुने उनले बताए ।
पुल निर्माणले स्थानीय कृषि उत्पादन बजारसम्म पुर्याउन, बिरामीलाई अस्पतालसम्म लैजान र विद्यार्थीलाई विद्यालय पुग्न सहज हुने अपेक्षा गरिएको थियो । तर, पहुँच सडक नबन्दा स्थानीयको त्यो आशा अझै पूरा हुन सकेको छैन ।
निर्माण सम्पन्न भएको संरचना उपयोगमा नआउनु योजना निर्माणदेखि कार्यान्वयनसम्मको समन्वय अभावको उदाहरण बनेको स्थानीय बताउँछन् । पुलसँगै पहुँच मार्ग निर्माणको योजना अघि बढाइएको भए करोडौँको लगानी अहिलेबाटै उपयोगमा आउन सक्ने अवस्था रहने उनीहरूको भनाइ छ ।
स्थानीयले पुललाई प्रयोगमा ल्याउन दुवैतर्फ आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि वालिङ र भीरकोट नगरपालिका तथा सम्बन्धित सरकारी निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4