News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डीपी अर्यालले नाट्टाको ५९औं वार्षिक साधारणसभामा व्यावसायिक संस्थाभित्र राजनीतिक गतिविधि नगर्न र व्यावसायिक हितमा केन्द्रित हुन सुझाव दिए ।
- सभामुख अर्यालले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सुरक्षा, सेवामा समानता र काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्नेमा जोड दिए ।
- नेपाल वायुसेवा निगमको संरचनागत सुधार गर्दै युरोपेली संघको एयर सेफ्टी लिस्टबाट नाम हटाउन व्यवसायी र सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
२९ साउन, काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल एसेसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए ।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौं, पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौं,’ उनले भने ।
सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटल लगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए ।
त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटक आकर्षित गर्ने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे ।
अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचना प्रभावकारी प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
पर्यटन सम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचसाथ कानुन निर्माण गर्नुपर्ने बताए । पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताए । ‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने ।
विश्वका विभिन्न एयरलाइन्स नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै व्यक्तिगत लाभको सोचभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसका लागि पर्यटन व्यवसायीहरूको समेत सहयोग र सक्रिय भूमिका आवश्यक रहेको बताए ।
सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि जोड दिए । ‘होटलमा नेपाली पर्यटक आएर बसिदिउन्, धेरै खर्च गरुन् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनले भने । हवाई टिकटको मूल्यदेखि होटल तथा अन्य पर्यटन सेवामा समान व्यवहार हुनुपर्ने उनको भनाइ थियो ।
सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई अझ बलियो, व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताए । नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेका सन्दर्भमा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई थप सुदृढ बनाउनुपर्ने उनको सुझाव थियो ।
यस्तै सभामुख अर्यालले भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको बताए ।
सभामुख अर्यालले पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलो पटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अब सरकार असफल हुने छुट नरहेको बताए । ‘मुलुक समृद्ध हुनैपर्छ, सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4