+
+
Shares

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ बनेकी कमला

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ साउन ३० गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको फेदीखोलामा रहेको अमोर बालगृहले सहाराविहीन ४४ बालबालिकालाई आमाको जस्तै माया र सुरक्षित आश्रय प्रदान गर्दै आएको छ।
  • बालगृहकी व्यवस्थापक कमला पराजुलीले पारिवारिक समस्या र गरीबीका कारण पिल्सिएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणमा अहम् भूमिका निर्वाह गरिरहेकी छिन्।
  • विभिन्न जिल्लाबाट आएका बालबालिकालाई एउटै परिवारमा जोडेर सडक बालबालिकामुक्त समाज निर्माणमा यस बालगृहले उदाहरणीय कार्य गरिरहेको छ।

३० साउन, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा बिहानदेखि बेलुकासम्म कमला पराजुलीको दिनचर्या व्यस्त हुन्छ । कसैलाई विद्यालय पठाउने हतारो हुन्छ, कसैको स्वास्थ्यको ख्याल गर्नुपर्छ, कसैको गृहकार्य हेर्नुपर्छ त कसैलाई सम्झाइबुझाइ गर्नुपर्छ । कमला अमोर बालगृहकी व्यवस्थापक हुन् ।

आफ्नै कोखबाट ४४ सन्तान नजन्मिए पनि आज उनी त्यत्तिकै बालबालिकाकी आमा बनेकी छन् । विभिन्न कारणले परिवारबाट टाढिएका, सहाराविहीन बनेका र सडकसम्म पुग्न बाध्य भएका बालबालिकालाई उनले आमाको माया, संरक्षण र भरोसा दिँदै आएकी छन् ।

पश्चिम नेपालको रैथाने देउडा भाका अचेल फेदीखोलामा पनि घन्किन्छ । देशका फरक–फरक भूगोल र संस्कृतिबाट आएका बालबालिका एउटै परिवारजस्तै बनेका छन् । कसैको भाषा फरक छ, कसैको संस्कृति फरक छ, तर अमोर बालगृहले उनीहरूलाई एउटै घर र एउटै परिवारको सम्बन्धमा बाँधेको छ ।

वि.सं. २०६८ सालमा स्थापना भएको अमोर बालगृह २०७२ सालदेखि सञ्चालनमा आएको हो । स्याङ्जामात्र होइन, पर्वत, पाल्पा, कास्की, दाङ, रुकुम र मुगुसम्मका अनाथ तथा असहाय बालबालिकाले यहाँ आश्रय पाउँदै आएका छन् ।

५० जना बालबालिका राख्ने क्षमता रहेको बालगृहमा अहिले ४४ जना बालबालिका छन् । विभिन्न पारिवारिक समस्या, गरिबी र सामाजिक परिस्थितिका कारण सडकमा पुग्न बाध्य भएका बालबालिकाले यहाँ सुरक्षित बसोबास, खानपान र शिक्षाको अवसर पाएका छन् । तर, बालगृहको व्यवस्थापन केवल खाना र बस्ने व्यवस्था मिलाउनुमा सीमित छैन । प्रत्येक बालबालिकाको बानी, स्वभाव, स्वास्थ्य, शिक्षा र भावनासँग परिचित रहेर उनीहरूको हेरचाह गर्नु कमला पराजुलीको दैनिक जिम्मेवारी बनेको छ ।

कुनै बालबालिका बिरामी पर्दा अभिभावक बन्ने, कसैलाई पढाइमा हौसला दिने र कसैलाई पारिवारिक माया र साथको अनुभूति गराउने जिम्मेवारी उनले सम्हाल्दै आएकी छन् । त्यसैले बालगृहका बालबालिकाका लागि उनी व्यवस्थापकभन्दा बढी ‘आमा’ जस्तै बनेकी छन् ।

देशका विभिन्न स्थानमा गरिबी, पारिवारिक विखण्डन र अन्य सामाजिक समस्याका कारण अझै पनि धेरै बालबालिका सहाराविहीन बन्ने गरेका छन् । कतिपय बालबालिका सडकमा पुग्छन् भने कतिपय उचित संरक्षण नपाएर असुरक्षित वातावरणमा हुर्किन बाध्य छन् ।

यस्तो अवस्थामा अमोर बालगृहजस्ता संस्थाले केवल आश्रय मात्र दिएका छैनन्, बालबालिकालाई नयाँ जीवनको बाटो पनि देखाएका छन् । यहाँ आएका बालबालिकाले पढ्ने, खेल्ने, गीत गाउने र आफ्नै परिवारमा हुर्किएजस्तै वातावरण पाएका छन् ।

कमला पराजुलीका लागि पनि यो काम सामान्य जिम्मेवारी मात्र होइन । ४४ जना बालबालिकाको भविष्यसँग जोडिएको दायित्व हो । उनीहरूको मुस्कानमा आफ्नो खुसी र उनीहरूको भविष्यमा आफ्नो सपना देख्ने पराजुलीले बालबालिकालाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ काम गरिरहेकी छन् ।

बालगृहमा रहेका बालबालिकाको जीवनमा परिवर्तन ल्याउनु नै आफ्नो मुख्य उद्देश्य रहेकोअमोर बालगृहकी व्यवस्थापक कमला पराजुलीको भनाइ छ । परिवारबाट टाढिएका र विभिन्न कारणले सहाराविहीन बनेका बालबालिकालाई सुरक्षित वातावरण दिनुका साथै उनीहरूको भविष्य निर्माणमा आफूहरू लागिरहेको उनले बताइन् ।

स्याङ्जालाई सडक बालबालिकामुक्त बनाउने अभियान पनि यस्तै प्रयासबाट सार्थक बन्दै गएको छ । तर, निजी तथा सामाजिक पहलबाट मात्र बालबालिकाको दीर्घकालीन संरक्षण सम्भव नहुने भएकाले यस्ता बालगृहलाई राज्यले स्पष्ट नीति र आवश्यक आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अमोर बालगृहको आँगनमा फरक जिल्लाबाट आएका ४४ बालबालिका अहिले एउटै परिवार बनेका छन् । र, त्यो परिवारको केन्द्रमा छिन्– आफ्नै सन्तानजस्तै उनीहरूको भविष्य सम्हालिरहेकी कमला पराजुली ।

लेखक
रामबहादुर रोकाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?