+
+
Shares

हिउँदेमा सिँचाइका लागि बर्सादको पानी संकलन

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ साउन ३० गते ९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको छथर गाउँपालिकामा सञ्चालित ‘एक घर–एक प्लास्टिक पोखरी’ कार्यक्रममार्फत वर्षाको पानी सङ्कलन गरी किसानले हिउँदमा सिँचाइ गर्ने अभ्यास सुरु गरेका छन् ।
  • पानीको अभावले बाँझै रहने करेसाबारीमा अहिले व्यावसायिक तरकारी खेती फस्टाएपछि किसानको आर्थिक अवस्थामा उल्लेख्य सुधार आएको छ ।
  • गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार यो प्रविधिले सुख्खाग्रस्त क्षेत्रका किसानलाई तरकारी खरिद गर्ने अवस्थाबाट आत्मनिर्भर बनाएको छ ।

३० साउन, तेह्रथुम । तेह्रथुमको जिल्लाको सुख्खाग्रस्त भेगमा हिउँद सुरु भएसँगै पानीको अभावले किसानलाई हरेक वर्ष सताउने गर्छ ।

जलवायु परिवर्तनका कारण वर्षौंदेखि भरपर्दाे मानिएका धारा, कुवा र प्राकृतिक मुहानहरू सुक्दै जान थालेपछि खानेपानीदेखि कृषि सिँचाइसम्मको समस्या विकराल बन्दै गएको छ ।

स्थानीय सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाले मानिसका लागि खानेपानीको आवश्यकता केही हदसम्म पूरा गरे पनि पशुपालन र कृषि सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउन सकेका छैनन् ।

यस्तै समस्याका बीच छथर गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर–एक प्लास्टिक पोखरी’ कार्यक्रमले किसानका लागि आशाको नयाँ आधार सिर्जना गरेको छ ।

बर्खामा खेर जाने वर्षाको पानीलाई घर नजिकै बनाइएका प्लास्टिक पोखरीमा संकलन गरेर हिउँदमा तरकारी, फलफूल तथा अन्य बालीमा सिँचाइ गर्ने अभ्यासले गाउँको कृषि प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याउन थालेको छ ।

छथर गाउँपालिका–६ सुदापका किसान घनश्याम ढकालको घरमा बनाइएको प्लास्टिक पोखरी अहिले वर्षाको पानी भण्डारण गर्ने भरपर्दो स्रोत बनेको छ ।

घरको छानाबाट पाइपमार्फत पोखरीमा जम्मा गरिएको पानीले उनी हिउँदभरि आफ्नो करेसाबारीमा सिँचाइ गर्छन । ढकालका अनुसार केही वर्षअघिसम्म खानेपानीको समेत अभाव थियो भने तरकारीमा सिँचाइ गर्नु त परको कुरा थियो ।

पानी नहुँदा परिवारले तरकारी किनेर खानुपर्ने अवस्था थियो। अहिले भने गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको प्लास्टिक पोखरीमा वर्षाको पानी संकलन गरेर तरकारी उत्पादन मात्र होइन, बिक्रीसमेत गर्न थालेका छन् । ‘पहिले पानीको अभावले खेती गर्न सकिँदैनथ्यो, अहिले आफ्नै उत्पादन बजारमा बेचेर आम्दानी गर्न थालेका छौं’, उनी भन्छन् ।

घनश्याम ढकाल मात्र होइन, सुदापकी कृष्णकुमारी पौडेलको जीवनमा पनि प्लास्टिक पोखरीले ठूलो परिवर्तन ल्याएको छ । उनले पोखरीमा संकलन गरिएको पानीको प्रयोग गरेर अकबरे खुर्सानी, आलु, प्याज, लसुन लगायतका विभिन्न तरकारी खेती गर्दै आएकी छन् ।

पहिले पानी अभावकै कारण करेसाबारी बाँझै रहने र तरकारी बजारबाट किनेर खानुपर्ने अवस्था थियो । अहिले भने घरमै उत्पादन भएको तरकारीले परिवारको आवश्यकता पूरा हुनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर राम्रो आम्दानीसमेत हुन थालेको छ । उनी भन्छिन्, ‘पानीको व्यवस्था भएपछि खेती गर्ने हिम्मत बढेको छ । अहिले आफ्नै बारीको तरकारी खान्छौं, बाँकी बजारमा बेचेर खर्च पनि चलाउन सकेका छौं ।’

छथरकै होमकुमारी मगर पनि वर्षायाममा संकलन गरिएको पानीले हिउँदभरि तरकारी र फलफूलमा सिँचाइ गर्दै आएकी छन्, ‘पानी परेको बेला पोखरी भरिन्छ, त्यही पानीले सुख्खा मौसममा ढुक्कसँग सिँचाइ गर्न पाएका छौं’, उनी भन्छिन् ।

पहिले पानी नहुँदा उत्पादन नै गर्न नसक्ने जमिन अहिले हरियालीले ढाकिएको छ । गाउँका अधिकांश घरमा यस्ता प्लास्टिक पोखरी निर्माण भएका छन् । घरको छानाबाट झर्ने पानी पाइपमार्फत पोखरीमा जम्मा गरिन्छ र आवश्यक पर्दा सिँचाइका लागि प्रयोग गरिन्छ । किसानहरूले वर्षाको पानीलाई संरक्षण गरेर हिउँदमा उपयोग गर्न सकिने उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।

जलवायु परिवर्तनका कारण वर्षा हुने समय, मात्रा र वितरणमा परिवर्तन आउँदा पानीका प्राकृतिक स्रोतहरू सुक्ने क्रम बढिरहेको छ । एकातिर बर्खामा ठूलो परिमाणमा पानी खेर जाने, अर्कोतिर हिउँदमा खेतीयोग्य जमिन पानी अभावले बाँझै रहने समस्या देखिएको छ ।

यस्तै अवस्थामा वर्षाको पानी संकलन गरी सुक्खायाममा उपयोग गर्ने प्रणाली जलवायु अनुकूल कृषि अभ्यासका रूपमा प्रभावकारी बन्दै गएको छ । यसले भूमिगत पानीमाथिको निर्भरता घटाउनुका साथै पानीको दिगो उपयोग सुनिश्चित गर्दै किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गरेको छ ।

छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार स्थानीय सरकार गठन भएदेखि नै नागरिकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

सुख्खाग्रस्त क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको प्लास्टिक पोखरी कार्यक्रमले अपेक्षाभन्दा राम्रो परिणाम दिएको उनको भनाइ छ । ‘पानी अभावका कारण खेती गर्न नसक्ने अवस्था अन्त्य गर्न यो कार्यक्रम ल्याएका हौं । अहिले किसानले उत्पादन बढाएका छन्, तरकारी किन्ने होइन बेच्ने अवस्थामा पुगेका छन्’, तिगेला भन्छन् ।

गाउँपालिकाले पोखरी निर्माणसँगै तरकारी तथा फलफूल खेती सम्बन्धी तालिम, प्राविधिक परामर्श र कृषि प्रवर्द्धनका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए ।

कृषि शाखाका अनुसार किसानलाई समय-समयमा तरकारी तथा फलफूल खेतीसम्बन्धी तालिम, प्राविधिक सल्लाह र परामर्श दिइँदै आएको छ ।

प्लास्टिक पोखरीको प्रभावकारी प्रयोगसँगै आधुनिक खेती प्रणाली अपनाउने किसानको संख्या पनि बढ्दै गएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रका आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदापलगायतका गाउँमा अहिले प्लास्टिक पोखरी प्रभावकारी रूपमा प्रयोग भइरहेका छन् । यी गाउँका किसानले वर्षाको पानी संकलन गरेर हिउँदमा सिँचाइ गर्दै उत्पादन बढाएका छन् ।

उत्पादन वृद्धि भएसँगै उनीहरूको आयआर्जनमा समेत सुधार आएको छ । कुनै समय बर्खामा खेर जाने वर्षाको पानी आज किसानको जीवन बदल्ने स्रोत बनेको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?