News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटको नलगाड नगरपालिका–१० मा शुक्रबार ताक्सुगाड खोलाको बाढीले पाँच घर र एक झोलुङ्गे पुल बगाएको छ।
- भेरी करिडोरले निर्माण गरेको अस्थायी कल्भटमा बाढी ओभरलोड हुँदा नहरको पानी बस्तीमा पसेर स्थानीयवासीको क्षति भएको हो।
- निर्माण व्यवसायीले छ वर्षदेखि पुल अलपत्र पारेकाले सडक अवरुद्ध भई रुकुम पश्चिम, डोल्पा र जाजरकोटको यातायात सम्पर्क टुटेको छ।
३० साउन, जाजरकोट । शुक्रबार बिहान जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १० र ११ को बीचमा पर्ने ताक्सुगाड खोलामा बाढी आयो । बाढी वडा नम्वर १० रोलीज्युलामा रहेका धाान खेततर्फ ल्याइएको नहरमा प्रवेश गर्यो अनि झोलुङ्गे पुल र पाँच वटा घर बगायो ।
पुलको ठेक्का लगाएको झण्डै ६ वर्ष सम्म कुनै पनि काम नभएपछि भेरी करिडोरले ताक्सुगाडमा अस्थायी कल्भट निर्माण गरेर मानिस तथा सवारीसाधनहरू वारपार गर्ने संरचना निर्माण गरेको थियो ।
उक्त संरचनामा पानीको बहाब भारी भई ओभर लोड भएपछि रोलीस्थित खेतमा पानी ल्याउनका लागि प्रयोग गरिएको नहरबाट आएको पानीले झोलुङ्गे पुल र पाँच वटा घर बगाउन पुगेको हो ।
भेरी करिडोरले २०७७ माघ २ गते ३६ महिनाभित्र निर्माण कार्य पूरा गर्न भनी पुल निर्माणको ठेक्का लगाएको थियो । उक्त काम पूरा नहुँदा त्यसको चपेटा अहिले मध्य बर्खामा देखिएको हो ।
पुल निर्माणको काम समयमै पुरा हुन्थ्यो भने नहरबाट पानी रोलीज्यूलातर्फ नमोडिने अवस्था रहेको नलगाड– १० का पीडित सुरेन्द्र थापा बताउँछन् ।
‘मेरो पसल पानीले बगाएको छ । कुनै पनि सामग्री बचाउन सकिएन,’ उनले भने ।

हाल झोलुङ्गे पुल बाढीले बगाएपछि भेरी करिडोर हुँदै रुकुम पश्चिम, डोल्पा र जाजरकोट सदरमुकाम हुँदै देशका विभिन्न ठाउँमा जाने सडक पूर्ण रुपमा ठप्प भएको छ ।
स्थानीय शिक्षक धनिराम ठकुरीले भने, ‘अस्थायी रुपमा ताक्सुगाडमा निर्माण भएको कज्वे नै राम्रो लागि ठूलो दुष्मन बन्यो । झोलुङ्गे पुल र पाँच वटा घर बगेका छन् ।’
हाल रोलीज्यूलामा लगाएको धान सम्मा ल्याएको नहर समेत पूर्ण रुपमा भत्किएपछि सिँचाइविहीन बन्न पुगेको छ ।
ताक्सुगाडमा रायमाझी क्याराभान जेभी काठमाडौंका चन्द्र थकालीले मोटरेबल पुल निर्माणको जिम्मा लिएका थिए । सडक अवरुद्ध भएपछि तीन जिल्लाको सम्पर्क सुत्र समेत टुटेको छ ।
स्थानीय गणेश सिंहले सडक निर्माण गर्दा रोलीज्यूलास्थित सयौँ रोपनीमा लगाएको धान बालीको अवस्था के हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘सड निर्माण पछि मानिसहरू गन्तव्यमा पुग्लान तर हाम्रा खेतमा रोपेको धानको भविश्य के हुन्छ ? हामीलाई वर्षभरी खानाका लागि लगाएको अन्नको भविश्य समेत सुरक्षित होस ।’

नलगाड नगरपालिका –१० रोलीका पृथ्वीबहादुर विकको २ तले घर बाढीले बगाएपछि ९ जनाको घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । खैते विकको २ तले घरमा बस्दै आएका १० जनाको परिवार, नर विकको ३ तले घरमा बस्दै आएका १० जना, हस्त विकको २ तले घरमा रहेका ८ जनाको परिवारलाई सुरक्षित ठाउँमा पारिएको छ ।
त्यस्तै बीर बहादुर विकको जग्गामा निर्माण भएको सुन्तली विकको नास्ता पसल समेत बगेको छ ।
शुक्रबार नै नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावत, उपप्रमुख देवका लामीछाने, प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, भेरी करिडोर सडक योजनाको अधिकारीहरु घटना स्थल पुगेर पीडितलाई अस्थायी रुपमा आवश्यक व्यवस्था गरी शनिबार देखि सडक निर्माण गर्न सुरु भएको छ ।
सडक पूर्ण रुपमा सञ्चालन हुनका लागि सात दिन लाग्ने प्रजिअ अधिकारीले जानकारी दिए । ‘तलैबाट ढुङ्गा भरेर सडक सम्मा ल्याउनु पर्नेछ । धानखेतमा ल्याएको नहरलाई समेत सुरक्षित बनाउने उपाय बारे पनि छलफल भएको छ,’ उनले भने ।

त्यस्तै पुल निर्माण अवरुद्धको कारण बारे निर्माण व्यवसायीसँग छलफल समेत भएको प्रजिअ अधिकारीले जानकारी दिए ।
योसहित नलगाड नगरपालिका भित्र क्याराभानले झुम्रेखोला, नलगाड, मेदेखोला, त्रात्रगाडमा समेत सात वर्षदेखि मोटरेबल पुल अलपत्र पार्दै आएको छ ।
खोलामा पानीको बहाब बढेपछि यी सबै ठाउँमा यातायात ठप्प हुने गर्छ । जसका कारण भेरी करिडोर वर्षायाममा जोखिमपूर्ण बन्दै आएको छ ।
प्रतिक्रिया 4