News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको अध्यक्षमा भरतजंग पाण्डे १८८ मत ल्याएर विजयी भएका छन् ।
- नाट्टाको ५९औँ वार्षिक साधारणसभामा सम्पन्न निर्वाचनबाट पाण्डे प्यानलले अधिकांश पदाधिकारीमा जित हासिल गरेको छ ।
- नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ र सदस्यहरूमा पाण्डे प्यानलबाट ५ तथा युबिका प्यानलबाट ३ जना विजयी भएका छन् ।
३१ साउन, काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्षमा भरतजंग पाण्डे विजयी भएका छन् ।
नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै पाण्डे विजयी भएका हुन् ।
कुल ४ सय ५३ मत खसेको नाट्टा निर्वाचनमा पाण्डेले १ सय ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी युबिका भण्डारीले १ सय ५८ र अर्की प्रतिस्पर्धी जिस्वाँ तुलाधर श्रेष्ठले १ सय ६ मत पाइन् ।
पाण्डे समूहले पदाधिकारीमा प्यानल नै जितेको छ । कार्यसमिति सदस्यमा भने पाण्डे प्यानलबाट ५ र युबिका प्यानलबाट ३ जना विजयी भएका छन् ।
नाट्टाको वरिष्ठ उपाध्यक्षमा २ सय ५१ मतसहित सुनिल शर्मा विजयी भए । उपाध्यक्षमा १ सय ७७ मतसहित सविता केसी भट्टराई निर्वाचित भइन् । महासचिवमा १ सय ५८ मतसहित राजकुमार देवकोटा र सचिवमा १ सय ९५ मतसहित रमेश पराजुली विजयी भए ।
त्यसैगरी कोषाध्यक्षमा २ सय ८ मतसहित दिकी शेर्पा र सहकोषाध्यक्षमा १ सय ६६ मतसहित जीवन कोइराला निर्वाचित भएका छन् ।
सदस्यमा स्मारिका थापा, प्रकाश लोहनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल विजयी भए । यो कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ ।
नयाँ जिम्मेवारी र अवसर : अध्यक्ष पाण्डे
नाट्टा अध्यक्षमा निर्वाचित पाण्डेले काँधमा अब एउटा पदमात्र नआइ नाट्टालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर आएको बताए ।
‘निर्वाचित हुनु भनेको पुन: नयाँ विद्यालयमा प्रवेश गरे जस्तै भएको छ,’ उनले भने, ‘मेरा लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’
पाण्डेका अनुसार निर्वाचन अभियान यसपालिको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भिडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक । साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवाद मार्फत आफ्ना एजेन्डा मतदातासम्म पुर्याउने प्रयास भएको उनले बताए ।
प्रतिक्रिया 4