News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तानमा तालिबान सत्तामा फर्केको पाँच वर्ष पूरा भएको अवसरमा त्यहाँका महिलाहरूले भोगेको अमानवीय जीवन र दमनबारे बीबीसीले विस्तृत विवरण सार्वजनिक गरेको छ।
- तालिबानी शासनले महिलाहरूलाई शिक्षा, रोजगारी र सार्वजनिक गतिविधिबाट वञ्चित गराउँदा उनीहरूको भविष्य, पहिचान र आत्मनिर्भरता खोसिएको पीडित महिलाहरूले बताएका छन्।
- पेशागत र शैक्षिक सपना बोकेका अफगान महिलाहरू अहिले घरभित्रै सीमित भएर बाँच्न र अमानवीय सजाय भोग्न बाध्य भएको प्रतिनिधि पात्रहरूले खुलाएका छन्।
३१ साउन, काठमाडौं । अफगानिस्तानमा तालिबान पुन: सत्तामा फर्केको पाँचवर्ष पुगेको छ । तालिबानी सत्ता महिलाहरूप्रति अत्यन्त अनुदार छ । न्यूनतम मानवीय जीवन समेत त्यहाँका महिलाले जिउन पाइरहेका छैनन् । तालिबानहरूले ६ कक्षाभन्दा बढी पढ्नका लागि प्रतिबन्ध लगाएको छ । महिलाहरूलाई रोजगारीको सुविधाबाट बञ्चित गरिएको छ । महिलाहरू सार्वजनिक गतिविधि समेत गर्न पाउँदैनन् ।
यही सन्दर्भमा गत शुक्रबार बीबीसीले अफगानिस्तानका महिलाहरूको अवस्थाबारे गरेको विस्तृत प्रत्यक्ष कभरेजमा केही प्रतिनिधि महिलाहरूको भनाई बाहिर ल्याएको थियो । जसमा महिलाहरूले आफूले भोगेको जीवनबारे बीबीसीका पत्रकारहरूले बताएका थिए ।
उनीहरूले भोगेको जीवन उनीहरूकै शब्दमा यस्तो छ :
‘मेरी छोरीको भविष्यमा के होला ?’
मरियम, प्रसूति विशेषज्ञ
प्रसूति विशेषज्ञ (मिडवाइफ) का रूपमा आफ्नो कामसँगै मरियमले प्रसूति अल्ट्रासाउन्डसम्बन्धी छ महिनाको तालिम पूरा गरेकी छिन् र अहिले उनी अल्ट्रासाउन्ड परीक्षण पनि गर्छिन्। मरियम एक त्यस्तो क्षेत्रमा कार्यरत मिडवाइफ हुन्, जहाँ करिब ५०,००० जनसंख्याका लागि एक जना महिला चिकित्सक र एक जना मिडवाइफ मात्र छन्।
मरियम भन्छिन्-
कहिलेकाहीँ म मेरी छोरीको भविष्यबारे सोच्ने गर्छु।
यदि अवस्था यस्तै रहिरह्यो भने, उसको भविष्य के होला ? मैले जस्तै उनले विद्यालयको पढाइ पूरा गर्ने अवसरसमेत पाउने छैन, विश्वविद्यालय जाने कुरा त परै जाओस्।
यदि एक दिन उनको विवाह भयो, उनी गर्भवती भई र बच्चा जन्माउने बेला उनलाई महिला चिकित्सकको आवश्यकता पर्यो भने, त्यहाँ महिला चिकित्सक नै नभए के होला ? यो जीवन र मृत्युको सवाल हो।
म मिडवाइफ हुँ। मैले आमाहरूको मृत्यु देखेकी छु। मलाई थाहा छ, यो केवल मेरो चिन्ताको विषय होइन। मलाई विश्वास छ, यो अफगानिस्तानका हरेक आमाको चिन्ताको विषय हो।
महिलाका लागि विश्वविद्यालयहरू बन्द गरिँदा म विश्वविद्यालयमा मिडवाइफ सम्बन्धी अध्ययन गरिरहेकी थिएँ।
त्यसपछि आफ्नो पढाइलाई निरन्तरता दिन मैले एउटा चिकित्सा संस्थानमा भर्ना भएँ, तर त्यो पनि बन्द गरियो।
यदि म यहाँ नभएको भए, धेरै महिलाको स्वास्थ्य परीक्षण हुन सक्दैनथ्यो, किनकि परिवारहरूले प्रायः महिला बिरामीको स्वास्थ्य परीक्षण पुरुष स्वास्थ्यकर्मीबाट गराउन अनुमति दिँदैनन्।
यहाँ काम गर्न सुरु गर्नुअघि यस क्षेत्रमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने कुनै पनि महिला स्वास्थ्यकर्मी थिएनन्। महिलाहरूले अल्ट्रासाउन्ड गराउन खराब सडक हुँदै करिब तीन घण्टा यात्रा गरेर अर्को क्लिनिकमा जानुपर्थ्यो।
गर्भवती महिलाहरूका लागि यो यात्रा निकै कठिन हुन्छ।
यो महँगो पनि छ र यहाँका अधिकांश परिवारहरू अत्यन्तै गरिब छन्।

‘मैले मेहनत गरेर देखेका आशा र सपनाहरू अचानक भत्किए’
जुहाल, पूर्वपत्रकार
गणतन्त्रको समयमा मेरो जीवन पूर्ण रूपमा फरक थियो। हरेक बिहान उठ्दा म उत्साहका साथ काममा जान तयार हुन्थें।
म लुगा लगाउँथें, आफूलाई तयार पार्थें र ऊर्जाका साथ घरबाट निस्कन्थें। मेरा लागि टेलिभिजनमा जानु कार्यस्थलमा जानु मात्र थिएन, त्यो मेरो पहिचान र जीवनको एउटा हिस्सा थियो।
जब म टेलिभिजनमा प्रवेश गर्थें, मलाई समाजमा आफ्नो स्थान र मूल्य रहेको महसुस हुन्थ्यो। म समाचार पढ्थें, मानिसहरूसँग जोडिन्थें र मेरो आवाज सुनिएको महसुस गर्थें।
म आफ्नो कामप्रति निकै समर्पित थिएँ र प्रेमका साथ काम गर्थें। हरेक पटक क्यामेराअगाडि बसेर समाचार पढ्दा मलाई गर्व र खुसी लाग्थ्यो।
मेरो भविष्यका लागि योजनाहरू थिए र धेरै सपनाहरू थिए। दिनप्रतिदिन थप अनुभव हासिल गर्ने, अघि बढ्ने र भविष्यमा काम तथा समाजमा अझ राम्रो स्थान पाउन सक्नेछु भन्ने सोच्थें।
मेरो जीवन आशाले भरिएको थियो र आफ्ना लक्ष्यहरू हासिल गर्न म हरेक दिन कडा मेहनत गर्थें।
म ठूलो उत्साह र रुचिका साथ तयारी गर्थे । ऊर्जा तथा आशा लिएर टेलिभिजनमा जान्थें। म समाचार पढ्थें र आफू समाजमा उपस्थित भएर आफूलाई मन पर्ने काम गरिरहेको छु भन्नेमा खुसी हुन्थें।
मेरो भविष्यका लागि धेरै आशा र सपनाहरू थिए। म आफू अघि बढ्न सक्छु र आफ्ना सपनाहरू पूरा गर्न सक्छु भन्ने विश्वास गर्थें।
तर शासन व्यवस्था परिवर्तनसँगै मेरो जीवन पूर्ण रूपमा बदलियो। म काम र सामाजिक गतिविधिबाट टाढा भएँ र घरमै बस्न बाध्य भएँ। वर्षौँसम्म मैले मेहनत गरेर हासिल गर्न खोजेका सबै आशा र सपनाहरू अचानक जमिनमुनि गाडिएजस्तो भयो।
आजकल म आफ्नो अधिकांश समय घरमै बिताउँछु । आफ्नो श्रीमानका लागि रोटी बनाउने, लुगा धुने, घर बढार्ने र दैनिक घरायसी कामहरू गर्ने गर्छु।
घरायसी काम आफैँमा महत्त्वपूर्ण हुन्छ । तर मेरा लागि यो निकै कठिन र बोझिलो छ । किनकि म घरबाहिर काम गर्ने, समाचार पढ्ने, आफ्ना लक्ष्यहरू राख्ने र आफ्नो भविष्यका बारेमा सपना देख्ने महिला थिएँ।
मेरो सबैभन्दा ठूलो पीडा के हो भने मैले आफ्नो जागिर मात्र गुमाइनँ । मेरो पहिचान, आत्मनिर्भरता र भविष्यप्रतिको आशाको एउटा हिस्सा पनि मबाट खोसियो।
ती सपनाहरू अझै पनि मेरो मनमा जीवित छन् । एक दिन आफूलाई मन पर्ने काममा फर्कने तथा मैले आफ्ना लागि देखेको जीवनलाई पुनः निर्माण गर्ने अवसर पाउनेछु भन्ने आशा गर्छु।
‘पढाइलाई निरन्तरता दिन असमर्थ भएँ’
नुरी
म एक युवा अफगान महिला हुँ। परिवारभित्रका विभिन्न चुनौतीहरूका कारण मैले धेरै कठिनाइका साथ आफ्नो विद्यालय शिक्षा पूरा गरेँ।
यी सबै समस्याका बाबजुद मैले कहिल्यै हार मानिनँ। मैले आफ्नो शिक्षा जारी राखेँ र सफलतापूर्वक उच्च माध्यमिक तहको पढाइ पूरा गरेँ।
त्यसपछि म विश्वविद्यालयमा भर्ना भएँ र कानून तथा राजनीतिशास्त्र अध्ययन गर्ने विषय रोजेँ, किनकि पीडित महिलाहरूलाई आवाज प्रदान गर्दै उनीहरूको अधिकारको पक्षमा वकालत गरेर सहयोग गर्न चाहन्थेँ।
हाम्रो परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले मैले धेरै कठिनाइका बीच आफ्नो पढाइलाई निरन्तरता दिएँ। विश्वविद्यालयको खर्च जुटाउन मैले ऋणसमेत लिएकी थिएँ।
विश्वविद्यालय पुग्न मलाई जिल्लाबाट सहरसम्म यात्रा गर्नुपर्थ्यो र विश्वविद्यालय पुग्न मात्रै झन्डै तीन घण्टा लाग्थ्यो।
अहिले मेरो कामलाई अगाडि बढाउन आवश्यक आर्थिक स्रोतको अभाव छ। आफ्नै खुट्टामा उभिन र अन्य महिलाहरूलाई सहयोग गर्न सकूँ भनेर मलाई आवश्यक साधन र स्रोतहरू चाहिन्छ।
दुर्भाग्यवश, केही समयपछि अफगानिस्तानमा आएको परिवर्तन र राजनीतिक परिस्थितिका कारण विश्वविद्यालयहरू बन्द भए र मैले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनँ।

‘मलाई ३९ कोर्रा हान्ने सजाय सुनाइयो र नौ महिनाभन्दा बढी जेलमा बिताएँ’
मनिझा
हामी दुइजना एउटै गाडीमा थियौँ। त्यतिबेला स्थानीय कमान्ड कार्यालयका दुई जना पुरुष हामीकहाँ आए र हामी के गरिरहेका थियौँ, हाम्रो आपसी सम्बन्ध के थियो र हामी कहाँ जाँदै थियौँ भनेर सोधेँ।
उनी एउटा गाउँका थिए र म अर्को गाउँकी थिएँ। हाम्रा गाउँहरू एकअर्काबाट टाढा भएकाले उनीहरूले हामीसँग धेरै प्रश्न गरे। कमान्ड कार्यालयतर्फ लैजाँदै गर्दा उनीहरूले मलाई बारम्बार ‘खराब महिला’ र ‘वेश्या’ भनेर गाली गरिरहे।
उनीहरूले हामीलाई कमान्ड कार्यालयमा लगे र त्यसपछि अपिल अदालतमा पठाए । मलाई ३९ कोर्रा हान्ने सजाय सुनाइयो । मैले नौ महिनाभन्दा बढी समय जेलमा बिताएँ।
जेलमा मैले यस्ता कुराहरू भोगेँ, जुन मैले आफ्नी आमालाई समेत कहिल्यै बताएकी छैन। अहिले पनि ती कुराहरू बोल्ने हिम्मत ममा आएको छैन।
मलाई अत्यन्तै अपमानित महसुस भयो।
‘मेरा साना बहिनीहरूले मैले भोगेको अवस्था नभोगून्‘
इला, डेन्टल असिस्टेन्ट
मेरा दाजुभाइ छैनन् र मेरा बुबा अहिले ७० वर्षका हुनुहुन्छ। मैले १६ वर्षको उमेरदेखि काम गर्दै आएकी छु। मेरो कुरा गर्दा, अब मसँग धेरै आशा छैन। तर मेरा साना बहिनीहरूले मैले भोगेको अवस्था भोगून् भन्ने म चाहन्नँ।
उनीहरूलाई अंग्रेजी सिक्न र आफ्नो शिक्षा जारी राख्न इङ्ल्यान्ड पठाउन सक्ने भाषासम्बन्धी छात्रवृत्ति उपलब्ध भएको भए हुन्थ्यो भन्ने मेरो चाहना छ।
‘म अन्धकारमा जीवन बिताइरहेकी छु‘
लिमा
सन् २०२१ मा तालिबानले अफगानिस्तानमा पुनः सत्ता कब्जा गर्दा लिमा कक्षा १० मा पढ्दै थिइन् र डाक्टर बन्ने सपना देख्थिन्। अहिले २० वर्षकी लिमा, ताजिकिस्तानसँग सीमा जोडिएको उत्तरपूर्वी प्रान्तकी हुन्। उनी आफू ‘आशाविहीन’ भएको बताउँछिन्।
म आफ्नो भविष्य देख्न नसक्ने भएकाले अन्धकारमा जीवन बिताइरहेकी छु र मसँग हुन सक्ने सबै कुरा मबाट टाढा जाँदैछ।
अहिले पनि म अरू केही कल्पना गर्न सक्दिनँ। मैले आफ्ना सबै आशा गुमाएकी छु।
म अलि थकित छु। मौसम पनि निकै तातो छ ३३ वा ३४ डिग्री जति। अनि म कतै गइरहेकी छैन। म घरमै छु।

‘अब पाइलट बन्नु मेरा लागि लगभग असम्भव’
सकिबा
जब छोरीहरूका लागि विद्यालयहरू बन्द गरिए, मैले हार मान्न चाहिनँ ।
मैले एउटा अनलाइन विद्यालयमा भर्ना भएर आफ्नो पढाइलाई निरन्तरता दिएँ। सबै कठिनाइका बाबजुद, मैले हालै अनलाइन माध्यमबाट आफ्नो विद्यालय शिक्षा पूरा गरेँ।
केही मानिसका लागि विद्यालय शिक्षा पूरा गर्नु सामान्य उपलब्धि जस्तो लाग्न सक्छ, तर मेरा लागि यो निकै ठूलो विजय हो। किनकि मेरो भविष्य कस्तो हुनेछ भन्ने थाहा नभएको पीडा मनमा बोकेर पनि मैले आफ्नो पढाइलाई निरन्तरता दिनुपरेको थियो।
सानैदेखि मेरो पाइलट बन्ने सपना थियो।
जब-जब म आकाशतिर हेर्थें, म आफूलाई विमान उडाइरहेको र माथिबाट संसारलाई हेरिरहेको कल्पना गर्थें।
म स्वतन्त्र रूपमा उड्न र सीमाविहीन संसारको अनुभव गर्न चाहन्थें।
तर आज पाइलट बन्नु मेरा लागि लगभग असम्भव जस्तो लाग्छ, किनकि म अफगानिस्तानमा बस्ने एउटी केटी हुँ।
प्रतिक्रिया 4