+
+
Shares

चिनी मूल्यवृद्धि : आरोप-प्रत्यारोपमा उद्योगी र व्यापारी, मारमा उपभोक्ता

१ जेठसम्म उद्योगसँग १ लाख ८ हजार टन स्टक छ भन्ने संघ, अनि अहिले साउन–भदौ लाग्दै गर्दा स्टक सकिन लाग्यो भन्ने उद्योगीको भनाइबीच विरोधाभास देखिन्छ । यति छोटो अवधिमा त्यति धेरै चिनी खपत नहुने उनीहरूको भनाइ छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ साउन ३१ गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा चिनीको चरम अभाव देखिएको छ भने खुद्रा मूल्य बढेर प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको छ।
  • खुद्रा व्यापारी र होलसेलरहरूले उद्योगीले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन् भने उद्योगीहरूले आरोप अस्वीकार गरेका छन्।
  • भारतले नेपाललाई दिएको चिनी आयात कोटाको ठूलो हिस्सा अझै नभित्रिँदा आगामी चाडपर्वमा चिनीको झन् धेरै अभाव हुने देखिएको छ।

३१ साउन, काठमाडौं । छिमेकी भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अब चिनी नपाइने हो कि भन्ने त्रास फैलियो ।

तर, तत्कालै १ जेठमा नेपाल चिनी उद्योग संघले एउटा विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आश्वस्त पार्‍यो- ‘स्वदेशमै पर्याप्त चिनी मौज्दात छ, आत्तलिनु पर्दैन, कारखानाबाट मूल्य बढ्दैन ।’

तर, संघले यस्तो प्रतिबद्धता जनाएको तीन महिना बित्दा नबित्दै अहिले बजारमा पर्याप्त चिनी नपाइएको गुनासो बढ्न थालेको छ । खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चिनीको मूल्य १ सय २० सम्म पुगेको छ ।

काठमाडौं शंखमुलकी गृहिणी चन्द्रकला भण्डारीले पसलेलाई किन चिनीको भाउ बढेको भनेर सोधेकी थिइन् । पछिल्लो समय होलसेलबाट चिनी नै कम मात्रामा आएको र त्यो पनि निकै भाउ बढेर आएको ती पसलेले उनलाई बताए ।

पसलेको भनाइ उद्धृत गर्दै उनले अनलाइनखबरसँग भनिन्, ‘अब चाडपर्व लस्करै आउन लागेको छ, उद्योगी व्यापारीको कालोबजारी र महँगीको खेल सुरु भइसक्यो ।’

बजारमा अभाव र मूल्यवृद्धि किन भयो त ? भन्ने प्रश्नमा उद्योगी र व्यापारीको कुरा बाझिएको छ ।

पछिल्लो समय चिनीको सहज आपूर्ति नभएको व्यापारीहरूले बताएका छन् । बुद्धनगरमा किराना पसल सञ्चालन गर्दै आएका खुद्रा व्यापारी देव श्रेष्ठले होलसेलले नै चिनी नआएको भन्दै टार्ने गरेको सुनाए । उनले १५ दिनमा २ बोरा चिनी मात्रै आएको सुनाए ।

‘हामीले होलसेलमा गएर माग्दा चिनी नै छैन भन्छन्, बल्लतल्ल एक–दुई बोरा दिन्छन्, त्यो पनि अचाक्ली महँगो भाउमा,’ उनले भने, ‘होलसेलमै हामीलाई प्रतिकिलो १ सय ८ देखि १ सय १० रुपैयाँसम्म पर्छ, ढुवानी र भरिया खर्च जोड्दा पसलमा आइपुग्दा १ सय १२ रुपैयाँ नाघ्छ, अनि हामीले अलिकति नाफा राखेर बेच्दा १ सय २० पुगेको हो ।’

खुद्रा व्यापार संघको आरोप- कृत्रिम मूल्यवृद्धि हो

नेपाल खुद्रा व्यापार संघले चिनी अभाव नभई कृत्रिम मूल्यवृद्धिका लागि चलखेल गरिएको बताएको छ । संघ अध्यक्ष पवित्रमान बज्राचार्य बजारमा चिनी अभाव नभएको तर ठूला व्यापारी र उद्योगीले नियोजित रूपमै किलोमा १० रुपैयाँसम्म मूल्य बढाएको दाबी गरे ।

‘भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हल्लाको फाइदा उठाउँदै माथिबाटै मूल्य बढाएर पठाउन थालिएको छ, चाडपर्वमा भाउ बढाएर चिनी पर्याप्त मात्रामा उपलब्ध गराउने खेल भइरहेको छ,’ बज्राचार्यले भने ।

खुद्रा व्यापारीले होलसेलरलाई दोष दिए पनि होलसेल व्यापारी भने चिनी उद्योगीतर्फ आरोप सोझ्याउँछन् ।

बालाजुस्थित माछापोखरीमा चिनीको थोक व्यापार गर्दै आएका एक होलसेल व्यापारीले देशमा ३-४ वटा ठूला चिनी मिलले बजारलाई आफ्नो नियन्त्रणमा राखेर कृत्रिम अभाव गराएको आरोप लगाए ।

उनले चिनीको भाउ आफूखुसी बढाएर महँगोमा बजार पठाएको बताए । उद्योगीले चिनीको वास्तविक बिक्री मूल्यको बिल नकाट्ने गरेको उनको आरोप छ ।

‘उद्योगीले आफ्ना निकटका मान्छेलाई मात्र चिनी दिइरहेका छन्, पैसा लिँदा १ सय ३ देखि १ सय ५ रुपैयाँसम्म लिने, तर बिल भने जम्मा १ सय २ रुपैयाँको मात्र काट्ने गरिरहेका छन्,’ ती होलसेलरले भने, ‘यसरी अन्डर बिलिङ गरेर गैरकानुनी काम गर्न हामी तयार नभएपछि हामीलाई चिनी दिइएको छैन ।’

बालाजुस्थित आस्मा एन्ड कम्पनी प्रालि सञ्चालक तथा होलसेल व्यापारी सञ्जयकुमार फुयाँलको भनाइ पनि उस्तै छ । लामो समय चिनी नपाएर विरोधमै उत्रिएपछि एक-दुई दिन अघि केही परिमाणमा चिनी पाएको तर मूल्य भने अचाक्ली बढाइएको उनले बताए ।

‘पहिले काठमाडौंमा चिनीको फ्याक्ट्री मूल्य ९२ देखि ९६ रुपैयाँ थियो, अहिले १० दिनमै यिनीहरूले ६ रुपैयाँ बढाए,’ फुयाँलले भने ।

उनले सरकारी निकाय साल्ट ट्रेडिङ कर्पोरेसनको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । साल्ट ट्रेडिङले नै विनाकारण मूल्य बढाएर निजी उद्योगीलाई भाउ बढाउने बाटो खुला गरिदिएको उनको आरोप छ ।

‘यसबीचमा साल्ट ट्रेडिङले चिनी किनेको पनि छैन, तर गोदाममा भएको चिनीकै मूल्य बढाएर आज १ सय ५ रुपैयाँ किन बनायो ?,’ फुयाँलले प्रश्न गरे, ‘सरकारी संस्था आफैंले हरेक दिन एक–एक रुपैयाँ बढाएर १ सय ५ पुर्‍याउँछ भने प्राइभेटले त पछिपछि त्योभन्दा महँगो गरिहाल्छ नि !’

होलसेलर र खुद्रा व्यापारीहरूले उद्योगीले चिनी नदिएर बजारमा कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाइरहँदा उद्योगीहरू भने त्यसलाई अस्वीकार गर्छन् ।

उद्योगीको खण्डन : हामीले चिनी लुकाएका छैनौं

चिनी उत्पादक संघले भने बजारमा चिनी अभाव नरहेको दाबी गरेको छ । संघ अध्यक्ष शशिकान्त अग्रवाल भने बजारमा चिनी अभाव नरहेको र बरु व्यापारीबाटै बद्मासी भएको हुन सक्ने दाबी गर्छन् । उद्योगीले चिनी नदिएको र बिलविना महँगोमा बेचेको होलसेलरको आरोपलाई उनले सिधै अस्वीकार गरे ।

‘बरु व्यापारीले नै लुकाएको हुन सक्छ नि, अभाव त छँदै छैन,’ उनले भने, ‘हामीले त उत्पादन र मौज्दात भएको चिनी बेच्ने हो, नभएको चिनी कहाँबाट ल्याउने ?’

यद्यपि, उद्योगीसँग अहिले कति चिनी मौज्दात छ भन्ने यकिन तथ्यांक भने संघसँग छैन । सबै उद्योगबाट तथ्यांक मागेको र सबैले दिएपछि तथ्यांक सार्वजनिक गर्ने संघको भनाइ छ ।

बजारमा चिनीको कृत्रिम अभाव खडा गरी मूल्यवृद्धि गरिएको र उद्योगीहरूले नै बजारमा नपठाएको भन्ने होलसेलरहरूको आरोपलाई एभरेस्ट सुगर मिलले अस्वीकार गरेको छ ।

एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले आफूहरूसँग भएको मौज्दात (स्टक) बजारमा पठाइरहेको दाबी गर्दै उद्योगले चिनी नलुकाएको बताए ।

‘हामी किन नपठाउनु ? हामीसँग भएको जति स्टक त पठाइरहेकै हो,’ महाप्रबन्धक ठाकुरले भने ।

बजारमा चिनीको मूल्य बढेर किलोको १ सय २० रुपैयाँसम्म पुगेको सन्दर्भमा ठाकुरले उद्योगमा चिनी मौज्दात नै सकिन लागेको बताए । उनले भने, ‘हामीसँग अब करिब १५ हजार क्विन्टल मात्र चिनी मौज्दात छ ।’

यसअघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा पनि उद्योगीले दसैंतिहारसम्म चिनी अभाव हुँदैन भनेका थिए । तर, ठाकुरले भने १५ हजार क्विन्टल चिनी बिक्री गरेपछि उद्योग रित्तो हुने बताए ।

‘बेच्ने नै त्यही १५ हजार (क्विन्टल) मात्रै हो, त्यसपछि त स्टक नै निल हुन्छ नि !,’ उनले भने, ‘नयाँ सिजन आएपछि मात्रै हो धेरै स्टक रहने ।’

एकाएक कहाँ गायब भयो लाखौं टन चिनी ?

जेठ पहिलो सातासम्म उद्योगी र बजारमा गरी करिब २ लाख टन चिनी उपलब्ध रहेको तथ्यांक देखाएका उद्योगी अहिले आएर आफूसँग चिनीको स्टक नै सकिएको दाबी गर्न थालेका छन् ।

बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन १ जेठमा जारी गरिएको संघको विज्ञप्तिमा तथ्यांक नै प्रस्तुत गर्दै चिनी अभाव नहुने दाबी गरिएको थियो ।

संघका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा क्रसिङ सिजनमा सञ्चालनमा आएका १३ वटा चिनी उद्योगबाट करिब १ लाख ९० हजार ८ सय ७० टन चिनी उत्पादन भएको थियो ।

जसमध्ये २८ वैशाखसम्म उद्योगहरूसँगै अझै १ लाख ८ हजार टन (१० लाख ८० हजार क्विन्टल) चिनी मौज्दात (स्टक) रहेको संघले बताएको थियो ।

यसबाहेक व्यवसायीसँग करिब २० हजार टन र आयात भएको करिब ६० देखि ७० हजार टन चिनी बजारमा उपलब्ध रहेको तथ्यांक संघले दिएको थियो ।

‘स्वदेशमा पर्याप्त मात्रामा चिनी उपलब्ध र मौज्दात रहेको हुँदा तत्काल कारखानाबाट हुने मूल्यमा वृद्धि हुँदैन, सरोकारवालाहरूले अनावश्यक मात्रामा चिनी भण्डारण नगरिदिनुहोला,’ संघले स्पष्ट शब्दमा भनेको थियो ।

१ जेठसम्म उद्योगसँग १ लाख ८ हजार टन स्टक छ भन्ने संघ, अनि अहिले साउन-भदौ लाग्दै गर्दा स्टक सकिन लाग्यो भन्ने उद्योगीको भनाइबीच विरोधाभास देखिन्छ । यति छोटो अवधिमा त्यति धेरै चिनी खपत नहुने उनीहरूको भनाइ छ ।

यस्तोमा सरकारले अनुगमन गरी भण्डारण र कृत्रिम अभाव भएको छ कि छैन पत्ता लगाउनुपर्ने र त्यस्तो भेटिए कारबाही गर्नुपर्ने उपभोक्तावादी बताउँछन् ।

भारतले दिएको आयात कोटाको ठूलो हिस्सा अझै नेपाल भित्रिन नसक्दा आपूर्ति व्यवस्था प्रभावित हुने चिन्ता थपिएको छ । भारत सरकारले १८ सेप्टेम्बर २०२५ मै नेपाललाई २५ हजार टन चिनी दिने निर्णय गरेको थियो ।

तर, त्यसमध्ये नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म जम्मा १ हजार टन मात्रै चिनी ल्याएको छ । अब बाँकी २४ हजार टन चिनी ल्याउन ३० सेप्टेम्बर २०२६ सम्मको म्याद त छ, तर सरोकारवालाका अनुसार चाडपर्व अगाडि नै सबै चिनी आइसक्ने छाँट छैन ।

चाडबाडका बेला चिनीको खपत अत्यधिक हुने भएकाले अहिलेकै थोरै मौज्दातले बजार माग धान्न नसक्ने आकलन गरिएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?