+
+
Shares

बैंकहरूको असुलीसँगै उठ्न बाँकी ब्याजमा पनि सुधार, वास्तविक नाफा ६५ अर्ब 

नेपाल राष्ट्र बैंकको खुकुलो कर्जा नीतिका कारण असुलीमा सुधार आउँदा बैंकहरूका वित्तीय सुधारमा सकारात्मक प्रभाव देखिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते २०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको खुकुलो कर्जा नीति र असुलीमा आएको सुधारका कारण वाणिज्य बैंकहरूको खुद नाफा गत आर्थिक वर्षमा २४.५९ प्रतिशतले बढेर ६५ अर्ब ९३ करोड पुगेको छ ।
  • कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने रकम २३ प्रतिशतले घट्दा बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको छ भने कुमारी बैंकले १ अर्ब ४३ करोड रुपैयाँ असुली गरी नाफा बढाएको छ ।
  • गत आर्थिक वर्षमा नबिल बैंक ७ अर्ब ९० करोड नाफासहित पहिलो स्थानमा रहँदा प्रभु बैंकको नाफा भने २ लाख ४ सय २३ रुपैयाँले ऋणात्मक देखिएको छ ।

३१ साउन, काठमाडौं । बैंकिङ क्षेत्रको कर्जा ‘डिफल्ट’ हुने र नउठ्ने समस्यामा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकको खुकुलो कर्जा नीतिका कारण असुलीमा सुधार आउँदा बैंकहरूका वित्तीय सुधारमा सकारात्मक प्रभाव देखिएको हो ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको वास्तविक नाफा ६५ अर्ब ९३ करोड पुगेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २४.५९ प्रतिशतले बढेको हो । त्यसबेला खुद नाफा ५२ अर्ब ९२ करोड रुपैयाँ थियो ।

गत आव बैंकहरूले देखाएको नाफा भने ७० अर्ब १० करोड रुपैयाँ छ । यो नाफामा बैंकहरूले पाकेको तर उठ्न भने बाँकी रहेको ब्याजलाई पनि जोडेका छन् ।

गत आव कुल उठ्न बाँकी ब्याजदर ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकहरुको खुद नाफाको ५.९४ प्रतिशत हो । अघिल्लो आवमा भने उठ्न बाँकी ब्याजबाट १३ अर्ब ३५ करोड उठेको थियो ।

बैंक तथा वित्तीय संस्थाले विवरण तयार गर्दा नेपाल वित्तीय प्रतिवेदन मान अनुसार गर्छन् । यो प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा बैंक तथा वित्तीय संस्थाले उठ्न बाँकी ब्याजलाई पनि आम्दानीमा सामेल गर्न पाउने व्यवस्था छ । तर, यसरी सामेल गरिएको आम्दानीलाई नियामकीय समायोजना मार्फत घटाउने अभ्यास छ ।

त्यसैगरी बैंकहरूको कर्जा नोक्सानी व्यवस्था बापत रकम घटेको छ । असुलीमा सुधार भएका कारण पनि यो घटेको हो । डिफल्टर भएको कर्जामा शतप्रतिशत नाफाबाट नोक्सानी व्यवस्था गर्नुपर्छ । यस्तो कर्जा असुली भएको अवस्थामा नोक्सानी व्यवस्थाको रकम नाफामा फर्कन्छ ।

गत आव केन्द्रीय बैंकको कर्जा नोक्सानी व्यवस्थामा समेत विगतको तुलनामा नोक्सानी बापतको रकम घटेको छ । समस्यामा कर्जा नोक्सानी व्यवस्था गर्न नपर्दा नाफामा समेत सुधार देखिएको छ ।

कर्जा नोक्सानी व्यवस्थामा केन्द्रीय बैंकले सहजीकरण गर्दा विगतमा गरेको अहिले गर्नु नपर्ने र कर्जा असुली हुँदा फिर्ता भएको रकम बढेको बैंकहरूको तथ्यांकले देखाउँछ ।

गत आव बैंकहरूको नाफामा प्रमुख योगदान नै कर्जा नोक्सानी व्यवस्था कम गर्नुपर्ने तथा फिर्ता हुने क्रम बढेको कारण हो । गत आव बैंकहरूको आम्दानीको मुख्य स्रोत ब्याज आम्दानीमा सामान्य सुधारमात्र भएको छ ।

वित्तीय क्षेत्रको ब्याजदर घट्यो भने पनि बैंकहरूको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले मात्र बढेको छ । सोही अवधिमा वित्तीय प्रणालीमा अधिक तरलता र न्यून कर्जाको मागका कारण ब्याज आम्दानीमा सुधार आउन नसकेको एक बैंकरले बताए ।

गत आव बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत कुल ३९ अर्ब ४० करोड रुपैयाँ नाफाबाट छुट्याएका छन् । यो रकम अघिल्लो आवको तुलनामा करिब २३ प्रतिशतले थोरै हो । अघिल्लो आव कर्जा नोक्सानी व्यवस्था बापत ५० अर्ब ६६ करोड रुपैयाँ थियो ।

गत आव कुमारी बैंक र कुमारी बैंकको कर्जा नोक्सानी व्यवस्थाबाट रकम फिर्ता भएको छ । अघिल्लो आवमा सोही शीर्षकबाट रकम फिर्ता गरेका बैंकहरूमा एभरेस्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक थियो ।

गत आव कुमारी बैंक असुलीमा आक्रामक हुँदा १ अर्ब ४३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको छ ।  त्यसले गर्दा पनि गत आवको सबैभन्दा धेरै नाफा गर्ने बैंकमा कुमारी बैंक दोस्रो स्थानमा पुगेको छ ।

गत आव कुमारीले ७ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ । सोही अवधिमा बैंकको उठ्न बाँकी ब्याज भने ३६ करोड छ । तर, पहिलो स्थानमा रहेको नबिल बैंकले भने सोही अवधिमा ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

गत आव प्रभु बैंकको नाफा मात्रै ऋणात्मक छ । सोही अवधिमा बैंकको खुद नाफा २ लाख ४ सय २३ हजारले नकारात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?