News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकता कायम गर्ने मुख्य जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् ।
- लेखकले पार्टी मिलाउन नसके जे पनि हुन सक्ने चेतावनी दिँदै आफ्नो समूहबाट पूर्ण प्रयास भएको दाबी गरे ।
- शेरबहादुर देउवाले पार्टी एकताका लागि पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी र निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार सुम्पिएको नेता लेखकले जानकारी दिए ।
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी एकताको जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन् । देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता–कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टी नमिलाए जे पनि हुन सक्ने बताए ।
नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा सोमबार आयोजित छलफलमा नेता लेखकले भने, ‘मिलाउने जिम्मेवारी अब गगनजीको छ । मिलाउन नलागे जे पनि हुन सक्छ ।’
पार्टी मिलाउन देउवा समूहले भरपूर प्रयास गर्दा पनि मिलाउन नसकिएको नेता लेखकको भनाइ थियो । ‘हाम्रो तर्फबाट कुनै कमी भएको छैन,’ उनले भने ।
पार्टीलाई एकढिक्का बनाउन पूर्वसभापति शेरबहादुर देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको र निर्वाचन प्रयोजनका लागि हस्ताक्षर गर्ने जिम्मेवारी पनि खड्कालाई दिएको लेखकको भनाइ थियो ।
‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो । त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईं टिकटमा हस्ताक्षर नगर्नुस् भन्ने कुरा सजिलो थियो ?,’ उनले प्रश्न गर्दै भने, ‘तर, पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौं । उहाँले पूर्णबहादुर दलाईलाई छोडिदिनुभयो ।’
नेता लेखकले गृहजिल्लाका नेता–कार्यकर्ताहरूलाई पार्टीको सदस्यता अद्यावधिक गरेकाहरूसँग सम्पर्क बढाउन र देउवा समूहको मुद्दामा ल्याउन पनि आग्रह गरे ।
‘अद्यावधिक गरेकासँग सम्पर्क बढाउनुस् । हामी उभिएको ठाउँमा ल्याउनुस्,’ उनले भने, ‘आजदेखि अद्यावधिक गरेका र नगरेकाहरू अलग हुने कुरा छैन ।’
उनले कञ्चनपुर सभापति पदम बोगटीलाई दसैं–तिहारको बीचमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजनाको तयारी गर्न पनि आग्रह गरे । ‘सम्भव भए दसैँ-तिहारको बीचमा जिल्लामा कार्यक्रम राख्नुहोला । एनपीजी (एनपी साउद) र मसँगै आउँछौं,’ नेता लेखकले भने, ‘तीनवटै क्षेत्रमा घुमौंला ।’
प्रतिक्रिया 4